• ८ असार २०८१, शनिबार

ल्याण्डफिल्ड साइट क्वान्द्रे खोल्सी व्यवस्थित गरिँदै

blog

जिल्ला सदरमुकाम सिन्धुलीमाढी क्षेत्रमा फोहोर सङ्कलन गरिँदै ।

बाबुराम देवकोटा

सिन्धुलीमाढी, पुस ११ गते । सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाले फोहोर विसर्जन गर्ने स्थल ल्याण्डफिल्ड साइट क्वान्द्रे खोल्सीलाई व्यवस्थित गर्न सुरु गरेको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा दैनिक उत्पादन हुने फोहोर जथाभाबी विसर्जन गर्दा कमलामाई नगरपालिका–५ स्थित क्वान्द्रे खोल्सी कुरूप बन्दै गएपछि त्यसलाई व्यवस्थित गर्न लागिएको नगरपालिकाले जनाएको हो ।

क्वान्द्रे ल्यान्डफिल्ड साइटमा फ्याँक्न ल्याइएको फोहोर उचित व्यवस्थापन नभएको भन्दै बस्तीमा दुर्गन्ध फैलियो भनेर यसअघि स्थानीय बेलाबेलामा आन्दोलित हुने गरेका थिए । अहिले क्वान्द्रे खोल्सीलाई व्यवस्थित गर्न सुरु गरेपछि स्थानीय बासिन्दा सकारात्मक रहेको पाइएको छ ।

नगरपालिकाले दैनिक रूपमा भान्साबाट निस्किने फोहोर, प्लाष्टिकका बोतल, सिसाका बोतल र प्लाष्टिक जन्य फोहोर दैनिक रूपमा सङ्कलन गरी विसर्जन गर्दै आएको कमलामाई नगरपालिका–४ ढुंग्रेबास निवासी सन्तोष दाहाल बताउनुहुन्छ ।

जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा दैनिक उत्पादन हुने फोहोर सङ्कलन गरी विगत २१ वर्षदेखि क्वान्द्रे खोल्सीमा विसर्जन गदै आएको नगरपालिकाले जनाएको छ । "नगर क्षेत्रमा दैनिक सात मेट्रिक्टनभन्दा बढी फोहोर सङ्कलन गरी उक्त खोल्सीमा पुर्‍याइ विसर्जन हुँदै आएको छ," नगरपालिकाका वातावरण शाखाका प्रमुख प्रकाश कार्की भन्नुहुन्छ, "अब उक्त फोहोरलाई व्यवस्थित रूपमा विसर्जन गर्न तिर लागेका छौँ ।"

यस्तै, क्वान्द्रे खोलीको प्राकृतिक सौन्दर्ययतालाई संरक्षण गरेर आकर्षित बनाउन लागेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार क्वान्द्रे खोल्सी फोहोर व्यवस्थापनका लागि तल सिसा राखेरमाथि सोलिङ गरेर प्लाष्टिकको पोखरी बनाउने कार्य भइरहेको छ । ल्यान्डफिल्ड साइट क्षेत्रमा झार–बुट्याङ र प्लाष्टिकजन्य फोहोरले पुरिन लागेको पोखरी सरसफाइ गरिएको छ । 

ल्याण्डफिल्ड साइट क्षेत्रमा अहिले पनि थरिथरिका रङ्गले सजिएका फूलहरू, एभोकाडो, धुपी, लालुपातेका बिरुवा रोपिएको छ र त्यहाँसम्म पुग्ने सडकलाई व्यवस्थित गरिएको छ। उचित व्यवस्थापन गर्न सके फोहोर फाल्ने ठाउँपनि मनमोहक बनाउन सकिन्छ भन्ने सन्देश दिन खोजिएको कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोख्रेल बताउनुहुन्छ ।

नगरपालिकाका अनुसार २०५९ सालदेखि त्यस क्षेत्रमा फोहोर विसर्जन तथा व्यवस्थापन हुँदै आएको छ । सङ्कलित फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याईन्छ । कुहिने फोहोरबाट अर्ग्यानिक कम्पोस्ट मल बनाइन्छ । नकुहिने फोहोरलाई पुन प्रयोगका लागि भण्डारण र बिक्री वितरणको प्रबन्ध मिलाइएको छ । नकुहिने सङ्कलित फोहोर बिक्री गरी वार्षिक रूपमा १३ लाख ५५ हजार रुपियाँसम्म नगरपालिकाले आम्दानी गर्ने गरेको छ ।

ल्यान्डफिल्ड साइटमा सङ्कलन हुने गरेको प्लाष्टिकका बोतलहरू बिक्री गरेर उक्त आम्दानी हुने गरेको वातावरण शाखा प्रमुख कार्कीले जानकारी दिनुभयो ।