• ८ असार २०८१, शनिबार

देवघाटधाम क्षेत्रको सरसफाइ

blog

भरतपुर,  पुस १२ गते । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम क्षेत्रको सरसफाइमा युवा जुटेका छन् । विआर द यूथ  ‘वे’ ग्रुपका युवाले छ हप्तादेखि देवघाट क्षेत्रको नियमित सरसफाइ गरेका हुन् । उनीहरूले आठ वर्षदेखि नियमितरुपमा भरतपुरमा सरसफाइ गर्दै आएका छन् ।

फोहोरका कारण पवित्र धार्मिक तीर्थस्थल प्रदूषित बनाउँदै गएकाले नियमित सरसफाइ गरिएको ‘वे’ ग्रुपका अध्यक्ष भोजनारायण कँडेलले बताउनुभयो । उहाँले देवघाट प्रवेशद्वार आँपटारीदेखि झोलुङ्गे पुलसम्मको क्षेत्रमा सरसफाइ गरिएको बताउनुभयो ।

माघे सङ्क्रान्ति पर्व पनि नजिकिँदै गएकाले देवघाट क्षेत्रलाई सुन्दर र सफा राख्न सफाइ अभियान चलाइएको उहाँले जानकारी दिनुभयो ।

‘हप्ताको एकदिन एकछिन समाजको लागि भन्ने अभियानका साथ चार जनाले सुरु गरेको अभियानमा अहिले सयौँ युवा जोडिएका छन्, उहाँले भन्नुभयो, “सरसफाइ अभियानले टोलटोलमा जागरण ल्याएको छ ।” युवाले फोहर टिप्दै गाउँघरमा हिँडेपछि मानिसमा सचेतना फैलिएको सुनाउनुभयो । पछिल्लो समय सङ्गठित फोहर कम भएको भन्दै हरेक टोलमा सरसफाइ अभियान चलेको बताउनुभयो ।

उहाँका अनुसार २०७३ साल जेठ २४ गतेबाट सरसफाइ वातावरण संरक्षण अभियान थालिएको हो । सार्वजनिक ठाउँमा फोहर फाल्न हुँदैन भन्ने मानसिकता अझै परिवर्तन नभएको भन्दै उहाँले गाडीमा यात्रा गर्दा वा पैदलयात्रा गर्दा जथाभाबी फोहर नफाल्न अनुरोध गर्नुभएको छ । 

सार्वजनिकस्थलमा अझ फोहर व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै उहाँले घरबाटै फोहर व्यवस्थापन गर्न नसक्दा सार्वजनिकस्थलमा जथाभाबी फोहर फालिएको सुनाउनुभयो ।

महानगरपालिका, नगरपालिका र पालिकाले आआफ्नो व्यवस्थित डम्पिङसाइट बनाउने हो भने फोहर उचित व्यवस्थापन हुने अध्यक्ष कँडेलको भनाइ छ । 

ग्रुपका सदस्य भविलाल चापागाईँले व्यक्ति सचेत हुने हो भने फोहर नहुने बताउनुभयो । प्रत्येक घरले आफ्नो घरको फोहरको व्यवस्थापन गरेनन् भने कहीँ पनि सफा नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले जानीजानी पनि फोहर गरिरहेका हुन्छौँ । प्रत्येक घरले आफ्नो घरको फोहर व्यवस्थापन गरेन भने कहीँ पनि फोहर हुँदैन ।” 

सार्वजनिक ठाउँमा महानगरले फोहर व्यवस्थापनसम्बन्धी बोर्ड राखे फोहर व्यवस्थापनमा अझ सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । देवघाट क्षेत्रमा धार्मिक गतिविधिका फोहर बढेको भन्दै सबै नागरिक सचेत बन्नुपर्ने बताउनुभयो । 

देवघाटका स्थानीय बुद्धिसागर न्यौपानेले धार्मिकस्थल आउँदा पनि मानिसले फोहर फाल्न नछाडेको बताउनुभयो । ज्ञानको कमी भएर पनि कतिपय मान्छेले धार्मिकस्थलमा फोहर फाल्छन्, उहाँले भन्नुभयो, “जथाभाबी फोहर फाल्नेलाई कारबाही गर्नुपर्छ ।

उहाँले युवाले जसरी सरसफाइ गरेका छन् हरेक नागरिकले त्यसरी नै आआफ्नो दायित्व सम्झेर घरघरमा फोहर व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।  रासस