क्षणिकी समयको सूक्ष्मताभित्र जीवन र जगत्लाई समग्रतामा हेर्ने माइक्रोस्कोप हो ।
मेरो प्रथम निबन्ध सङ्ग्रह ‘शब्दशिविर’ मा मैले दुई वटा निबन्धलाई शैलीगत भिन्नताका आधारमा ‘क्षणिकी’ भनेर निबन्धको उपविधागत नाम दिएँ । किन ? कसरी ?
यो नामको जन्म कसरी भयो भन्ने कथा म पहिला सुनाउँछु । छोटकरीमा ।
हिउँदको एउटा घमाइलो मध्याह्नमा घरको कौसीमा बसेर ‘तापिलो’ हुँदै थिएँ । ललितपुर महानगरको धोबीघाट ग्रामको ढुङ्गेधारा भन्ने टोलमा मेरो गुँड छ । छेउमै छ खुल्ला चउर र माझमा छन् निरन्तर झर्ने ढुङ्गेधाराहरू । त्यसैका वरिपरि खुत्रुके व्यापार, खेलकुद, धुने सुकाउने, गफगाफ, भनाभन आदि विविध गतिविधि हुन्छन् यहाँ ।
त्यस दिन, पक्कै पनि बिदा परेको हुनुपर्छ । किनकि म घरमै थिएँ, घामको राप निचोर्दै बसेको । त्यति नै खेर एउटा पराई ठाउँको कुकुर सयर गर्ने रहरले हो वा भोकले रन्थनिएर हो, ढुङ्गेधाराका आसपासमा देखा प-यो । त्यस अपरिचितलाई टोले गुण्डा कुकुरहरूले देख्न रुचाएनन् र हुलबद्ध भई भकुर्न थालिहाले । यो दृश्यलाई मैले कौसीबाट हेरिरहेको थिएँ ।
यही स्थानीय दादागिरी (लोकल बुलिजम) लाई आधार बनाएर त्यहीँ कौसीमै बसेर मोबाइलमा किटिकिटी गर्दै छोटो स्वरूपको निबन्ध लेखेँ, मनको बिगुल । अनि यसरी समय (क्षण) र घटनालाई टिपेर लेखेको हुनाले र एउटै क्षणमा निस्किएका संवेदनाहरूलाई अन्वय गरिएकाले यसको नाम राखेँ– क्षणिकी ।
मेरो मुढेतर्क थियो –समयबाट सामयिकी, वर्षबाट वार्षिकी, मासबाट मासिकी, दिनबाट दैनिकी हुन्छ भने क्षणबाट क्षणिकी भनिदिए कसुर कत्रो होला ? यो कुनै शब्दकोशमा भेटिने कुरै भएन किनकि यो ‘क्वाइन’ गरिएको शब्द थियो । तथापि आफू गणितको अध्यापक, भाषाविज्ञानको जानिफकार नभएकाले अलिकति राय लिनु वाञ्छनीय लाग्यो र फोन बजाएँ नेपाली विषय प्राध्यापन गर्दै आइरहेका खाँटी मित्र कवि डा. विप्लव ढकाललाई । दिनभरिको घटनाको पुराणवाचन गरेर सुनाएँ । उनले भने, “यो शब्द भित्र्याइनुपर्छ र स्थापित गर्नुपर्छ ।”
पहिलो बत्ती हरियो बल्यो । त्यसपछि बहुमानित व्यक्तित्व प्राडा दयाराम श्रेष्ठ सरलाई यही कुरा बेलिबिस्तार लगाएँ । सरले तुरुन्तै स्वीकृत गरिदिनुभयो । कालेबुङ्मा डा. राजेन्द्र भण्डारी दाइलाई फोनबाटै व्यहोरा बताएँ । “यस्तो पनि किन नहुनु भाइ ? भइहाल्छ ।” भन्नुभयो । डा. विष्णुविभु घिमिरे र अशेष मल्ल दुवै दाजुले खुसीपूर्वक हरियो झन्डा उठाएर अगाडिको बाटो देखाइदिनुभयो । विभु दाइले त पुस्तकको मन्तव्यमा नै यसको चर्चा गर्नुभएको छ । डा. जीवलाल बस्यालले एक शब्दमा ‘हुन्छ’ भन्नुभयो । अब म सबल हुँदै गएँ ।
मन्तव्य लेखाउने क्रममा घरमै पुगेका बेला आदरणीय माधवप्रसाद पोखरेल डाक्साबलाई यही वृत्तान्त सुनाएँ । उहाँले त झन् लामै व्याख्यासहित ‘हुन्छ’ भनिदिनुभयो र नेपाली कर्पसमा एउटा नाम थपियो– क्षणिकी ।
अब थोरै यो शब्दको चिरफार गरौँ ।
हामी डढेलो देख्छौँ, डढेलो सल्काउने झिल्को देख्दैनौँ । विचारको फैलावटभन्दा त्यसको झिल्को कसरी निस्क्यो, त्यो महत्वपूर्ण हो । निधारको टिकीजत्रो घामले सुस्तरी सुस्तरी उक्लिएर जसरी सारा जगतलाई प्रकाशमय बनाउँछ । त्यसैले मैले प्रत्येक घटनालाई समयको सूक्ष्म लम्बाइमा हेर्न खोजेको हुँ ।
जीवन भनेको एउटा एउटा क्षणको सँगालो हो, माला हो । हामी क्षणक्षणका संवेग र परिघटनाहरूलाई झेलेर र चिरेर बाँचिरहेका हुन्छौँ । क्षणलाई कम आँकेर समग्र समयमा बाँचेका परिदृश्यलाई मात्रै कसरी जीवन ठान्ने ? सूक्ष्म बेगरको स्थूलको के माने रहन्छ ? अन्यथा जीवन चलचित्र झैँ भइदिन्छ, मिथ्या आनन्द ।
क्षण समयको कणिका हो । लघुतम रूप नै भन्दिनँ । हामी निमेषभरको समयलाई छोटो भन्छौँ । प्राचीन ज्ञान र आधुनिक विज्ञान दुवैले यो निमेषलाई असङ्ख्य टुक्रामा विभक्त गरेका छन् । मिली सेकेन्ड, माइक्राेसेकेन्ड, नानो सेकेन्ड आदि आदि । त्यति सूक्ष्मदर्शी हुने मेरो ध्येय होइन । तर समयको न्यून आयाममा त्यो घटना जसरी घटित भयो या विचार जसरी अङ्कुरित भयो, त्यसैको वरिपरि मात्रै रेसारेसा बनेर भित्रैबाट गन्थनिन मन्थनिन खोजेको हुँ ।
क्षणिकीमा उडान भर्ने र कावा खाने मेरा पखेटाहरू छोटा छन् । परम्परागत निबन्धका जत्रा छैनन् । तर यहाँ पनि विचारले विचरण गर्ने आकाश भने अपरिमेय आकारको छ ।
परम्परागत निबन्ध वा भनौँ ललित निबन्धमा विषयको जगमा उभिएर विचारको स्वतन्त्र उडान हुन्छ परपरसम्म । विषय स्वयं कुनै निश्चित विषय नै हुन सक्छ, घटना पनि हुन सक्छ, बितेका पलहरूको स्मरण हुन सक्छ वा आउने पलहरूको पूर्वाभास पनि हुन सक्छ । एउटा स्वैरकल्पनाबाट पनि निबन्ध बन्न सक्छ ।
यिनैलाई मैले विषय भनेँ । क्षणिकीमा विषयभन्दा अगाडि तत् समयको घटना हुन्छ जुन घटनाले विषय निर्माण गर्छ र विषयबाट विचार उम्रिन्छ । तात्क्षणिकताको गुरुत्वबिन्दु वरिपरि उत्पन्न अनुभूति र संवेदनाहरूको शृङ्खला हो क्षणिकी । संवेदनाको घनत्व एउटा बिन्दुमा केन्द्रित हुन्छ । कुकुरहरूको लडाइँ हुनु, भर्खरै खरानी भएको चिता देख्नु, घरको धुलो सफा गर्न थाल्नु जस्ता सूक्ष्म क्षणका घटनाबाट अङ्कुरित निबन्ध नै क्षणिकी हुन् भनेको हुँ । सामान्यभन्दा पनि सामान्यदेखि कुनै पनि आकारको घटनाबाट उठेको झिल्कोबाट विचार र चेतनाको डढेलो सल्काउनु नै क्षणिकी हो । अझ भन्नुपर्दा क्षणिकी विचारको त्यो ज्वाला हो, जसको पहिलो झिल्को क्षण र घटनाको घर्षणबाट निस्किन्छ । यो दर्शनढुङ्गा ठोकिँदा झिलिक्क निस्किने आगो हो । त्यसैले तताएको थियो मानव सभ्यताको पहिलो अगेनो । यहाँ क्षण र घटना दुवै अचिरस्थायी हुन् । तुरुन्तै विलुप्त हुन्छन् जसरी घाम र पानी मिलेर सबैका आँखामा इन्द्रेणी पारिदिन्छन् र हराउँछन् । क्षणिकीमा क्षण र घटना एकअर्काका परिपूरक हुन् ।
क्षणिकी निबन्धभन्दा लघु आकारकै हुन्छ भन्ने होइन । विचार र संवेगको आयतन नाप्न वा तुलना गर्न कहाँ सकिन्छ ? तर क्षणिकी जुन परिघटनालाई टेकेर उब्जिन्छ, त्यसले गर्दा यसको व्यासार्ध अरू निबन्धहरूको भन्दा छोटो हुन सक्ला । लम्बाइका आधारमा उपन्यास, लघुउपन्यास, लामा कथा, कथा, लघुकथा, लामो कविता, कविता, मुक्तक, स्मार्ट पोएट्री, हाइकु झैँ गरी आयामका आधारमा क्षणिकीलाई वर्गीकरण गरिएको होइन । यद्यपि यसले विचारको सघनता, निजात्मकताको प्रचुरता र आकारमा पनि छरितोपनको अपेक्षा पक्कै राख्दछ । क्षणिकी निबन्धभन्दा पृथक् विषय त हुँदै होइन । यो समयको सूक्ष्मतामा बुनिएको आत्मपरक निबन्ध नै हो । गणितको भाषामा भन्ने हो भने जसरी वर्ग, आयत, समबाहु चतुर्भुज सूक्ष्म गुणहरूमा भिन्न खालका हुने हुनाले बेग्लाबेग्लै नाम दिइए तापनि सबै समानान्तर चतुर्भुज परिवारका सदस्य हुन्, ठिक त्यसै गरी क्षणिकी पनि निबन्धको परिवारभित्रको अकाट्य सदस्य हो । यसको शैलीमा सूक्ष्म विचलनका कारण नै यसको नाम क्षणिकी रहन गयो । निबन्ध सर्वव्यापक समूह (युनिभर्सल सेट) हो भने क्षणिकी त्यसको उपसमूह (सबसेट) हो ।
मित्र विप्लव घरिघरि औँला ठडाएर खबरदारी गरिरहेका हुन्छन् । “जसले जन्म दिन्छ, उसैले लालनपालन गर्छ, हुर्काउँछ, बढाउँछ । गुणात्मक रूपमा मात्रै होइन, सङ्ख्यात्मक रूपमा क्षणिकीहरू लेखेर यसलाई स्थापित गराउने दायित्व तपाईंको हो ।”
हेर्दै जाऔँ, पाइलैपिच्छे भइरहने यस्ता घटनाहरूलाई आँखाले कति टिप्छ र नानी बनाउँछ ? शीतले कति धुन्छ र मोती बनाउँछ ? मेरो प्रयास जारी रहनेछ ।
इति !
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                