• २३ असार २०८२, सोमबार

पुल निर्माणमा ढिलाइ हुँदा छ जिल्लाका बासिन्दालाई सास्ती

blog

एक दशक बित्दा पनि नसकिएको सोखुखोलामा निर्माणाधीन पक्की पुल । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा
सिन्धुलीमाढी, पुस ११ गते ।
 मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–६ स्थित सोखुखोलामा निर्माण सुरु गरेको पक्की पुल एक दशक बित्दा पनि नबनेपछि छ जिल्लाको बासिन्दाले सास्ती खेप्नु परेको छ ।

उक्त पुल निर्माणमा ढिलासुस्ती हुँदा सिन्धुली जिल्लाको पूर्वी पहाडी क्षेत्रका बासिन्दासहित ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, खोटाङ र उदयपुर जिल्लाबाट मध्यपहाडी राजमार्ग भएर राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु तथा सवारी साधनलाई समस्या पर्ने गरेको स्थानीयको गुनासो छ ।

सोखुखोलामा एक दशक अघिदेखि निर्माण सुरु गरेको पक्की पुल समयमा नै निर्माण नहुँदा वर्षादको मौसममा यात्रु तथा सवारी साधनलाई बढी समस्या हुने गरेको फिक्कल गाउँपालिका–६ का वडा अध्यक्ष कुलेन्द्रबहादुर मगर बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘‘वर्षादको मौसममा सोखुखोलामा बाढी आउँदा दैनिकजसो सवारी साधन र यात्रु घण्टौँ जाममा पर्ने गरेका छन् । ज्यान नै माया मारेर जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता छ । ठेकेदारको लापरबाहीले नै पुल निर्माणमा ढिला सुस्ती भएको हो । समयमा नै उक्त पुल निर्माण गर्न ठेकेदारलाई जनप्रतिनिधि र स्थानीय बासिन्दाले दबाब दिई रहेका छन् ।’’

‘ठेकेदारलाई दबाब दिन दैनिक चक्का जाम, जिल्ला प्रशासन कार्यालय, सडकको कार्यालय, जिल्ला प्रहरी कार्यालयमा उजुरीसम्म गर्ने काम समेत भएको छ,’’ उहाँले भन्नुभयो, ‘‘पुलका सबै पाँच वटै पिल्लर उठाउने काम सकिएको छ । अब एक ठाउँ मात्रै ढलान गर्न बाँकी छ, धेरै काम पनि छैन । ठेकेदारले त्यो काम पनि गरी रहेको छैन ।’’

ठेकेदार सम्पर्कमा नै नआउने र फोन गर्दा नउठाउने गरेको वडा अध्यक्ष मगरको गुनासो छ । उहाँका अनुसार उक्त पुल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत निर्माण गरिएको हो । सुरुमा पुल निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सने लिएको थियो । पप्पुले अलपत्र पारेर छाडेपछि ठेक्का तोडेर आयोजनाले लोहनी–आत्रेय जेभीलाई दिएको छ ।

लोहनी–आत्रेय जेभीले पनि पुल निर्माणमा ढिला सुस्ती गरी रहेको स्थानीय बत्ताउँछन् । लोहनी–आत्रेय जेभीका प्रोप्राइटर (ठेकेदार) रवीन्द्र कुँवर अब आउने असारसम्म उक्त पुल  निर्माण सम्पन्न गर्ने बताउनु हुन्छ ।

‘‘पप्पुले काम नगरेपछि उसगको ठेक्का लिलाम गरेर छ करोड रुपियाँ लागतमा दुई वर्षमा सक्ने गरी मलाई दिइएको हो,’’ उहाँले भन्नुभयो, ‘‘आयोजनासँग मैल ४२ लाख रुपियाँ लिन बाँकी छ । त्यही भएर पुल निर्माणमा ढिलो, ढिलो भएको हो ।’’

ठेकेदार कुँवरका अनुसार उक्त पुल निर्माण पप्पुले १० वर्षसम्म पनि अलपत्र पारेपछि आयोजनाले ऊसँगको ठेक्का तोडेर लोहनी–आत्रेय जेभिलाई दिएको हो । ‘‘पुल निर्माणको समयसिमा दुई वर्ष कटेको तीन महिना जति भयो,’’ उहाँले थप्नुभयो, ‘‘पहिलो पटक २०८१ असारसम्मका लागि म्याद थपिएको छ, त्यो बेलासम्म सबै काम सक्छु । अब एक महिनाभित्र ढलान सुरु गर्छु ।’’