• २१ पुस २०८१, आइतबार

पोखराको सडक महोत्सव १२ गतेबाट

blog

फडिन्द्र अधिकारी

लेखनाथ, पुस १० गते । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा हुने सडक महोत्सवको तयारी करिब सकिएको छ । पुस १२ गतेबाट १६ गतेसम्म लेकसाइडको तीन किलोमिटरमा महोत्सव हुन लागेको हो । 

२५ औं सडक महोत्सवको तयारी सकिएको आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखराले मङ्गलबार पत्रकार सम्मेलन गरी जनाएको हो । महोत्सवमा अम्मट, गौरीघाट, हल्लनचोक र खहरेमा स्टेज बनाइने भएको छ । सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शनी हुने रेबान अध्यक्ष नरेशबहादुर भट्टराईले जानकारी दिनुभयो ।

“यो महोत्सवले पोखराको प्रवर्द्धन सहित शिथिल अर्थतन्त्रलाई उकास्ने र पोखराको नयाँ ब्रान्ड बन्नेमा हामी विश्वस्त छौँ,’ अध्यक्ष उहाँले भन्नुभयो । महोसत्सवका आर्कषणमा लाइभ ब्यान्ड कन्सर्ट, लाइभ लोक दोहोरी, विभिन्न खेलकुद प्रतियोगिता, विविध जातिका सांस्कृतिक प्रदर्शनी छन् । लोकदोहोरीतर्फ पुस १२ गते प्रजापति पराजुली, १३ गते प्रिती आले, १४ गते पशुपति शर्मा र १५ गते बद्री पंगेनी र पुरुषोत्तम न्यौपानेले मनोरञ्जन दिनुहुनेछ । 

बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो वुथ महोत्सव हुनेछन् । चितवनबाट भेषभूषासहितको थारु स्टिक नाच, सिन्धुलीबाट महिलाको पञ्चेबाजा, रुकुमबाट मयूर नृत्य, नेवारको लाखे नृत्य, राई लिम्बुको धान नाच, कौडा नाँचसमेत देखाइने भएको छ । 

महोत्सवको रजत वर्ष भएकाले यसपालि सडक महोत्सवलाई पृथक र विशेष बनाइने अध्यक्ष भट्टराईले बताउनुभयो । महोत्सवका प्रर्वद्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद् छन् ।