शशिधर पराजुली
विराटनगर, पुस १० गते । भारतबाट औद्योगिक कच्चा पदार्थ बोकेको रेल २ जुन २०२३ मा विराटनगर भन्सारमा आउँदा नेपाली पक्षले भव्य स्वागत गरेको ६ महिना बितिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले महत्त्वका साथ उद्घाटन गरेपछि कार्गो रेल नियमित हुने अपेक्षा थियो । आरती स्ट्रिप्स प्रालिको औद्योगिक कच्चा पदार्थ झारेर फर्केको उक्त कार्गो रेल फेरि फर्केर भने आएको छैन । रेल फर्केर नआउनुको कारण बारे उद्योगी र भन्सार कार्यालयको बुझाइ फरकफरक छ ।
सरकारले भारतसँग गरेको रेल रुट सम्बन्धी सम्झौतामा नेपाल पक्षबाट भएका कमजोरीका कारण उक्त रुटबाट औद्योगिक कच्चा पदार्थ र अन्य तयारी वस्तु आयात गर्न नसकेको यहाँका उद्योगी व्यवसायीले बताएका छन् । तर उद्योगी व्यवसायीको यो भनाइमा विराटनगर भन्सार कार्यालय भने सहमत छैन । उद्योगी व्यवसायीहरू रेलबाट वस्तु आयात गर्न इच्छुक नै नदेखिएको भन्सारको बुझाइ छ ।
भारतको बथनाह हुँदै विराटनगर भन्सारसम्मको रुटमा कार्गो रेल उद्घाटन गर्नु अघिल्लो दिन १ जुन २०२३ मा दुई देशका उद्योग तथा वाणिज्यमन्त्रीले वाणिज्य सन्धिमा हस्ताक्षर गर्नुभएको थियो । सन्धिमा कोलकाता बन्दरगाहबाट जोगबनी भन्सारमा सीमित वस्तुहरू मात्र ल्याउन पाइने गरी रुट निर्धारण गरिएको थियो । कोलकाता जोगबनी रुटबाट रासायनिक मल, पत्थर कोइला, क्लिङ्कर र सिमेन्टमा मात्र ल्याउन पाइने गरी कार्गो रुट तय गरिएको थियो । “यो रुटलाई बल्क कार्गो स्पेसिफाइड गरिएको छ, त्यसैले गर्दा उद्योगी व्यवसायीहरूले यो रुटबाट वस्तु आयात गर्न सकिरहेका छैनन्,” उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले भन्नुभयो । सीमित वस्तु मात्र ल्याउन पाइने भएपछि औद्योगिक कच्चा पदार्थहरू तेस्रो मुलुकबाट आयात गरिएका अन्य वस्तु ल्याउन नसक्दा कार्गो रेलको उपयोग गर्न नसकिएको उद्योगी व्यापारीको भनाइ छ ।
भारतले पछिल्लो समय बिशाखापटनम् बन्दरगाहलाई महìव दिएर सञ्चालन गरिरहेको छ । नेपालले बिशाखापटनम् बन्दरगाह नै प्रयोग गरोस् भन्ने भारतको चाहना छ । सोही कारण भारतले पछिल्लो सन्धिमा बिशाखापटनम् बन्दरगाहबाट जोगबनी र रक्सौल रुटमा जुनसुकै वस्तु आयात गर्न सक्ने गरी सहमति गरेको छ । कोलकाताबाट रक्सौलबाहेकका बाँकी रुटमा सीमित वस्तु मात्र ल्याउने व्यवस्था गर्नुले बिशाखापटनम् बन्दरगाहलाई थप व्यस्त बनाउन खोजेको स्पष्ट हुन्छ ।
कार्गो रेलबाट सामान आयात हुन नसक्नुको कारण पछिल्लो सन्धिले बाधा पुगेको भन्ने विषयमा विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकाल सहमत देखिनु हुन्न । उद्योगी व्यवसायीले सामान बुक नगरेकै कारण कार्गो रेल नचलेको उहाँको भनाइ छ । भन्सार प्रमुख ढकालले भन्नुभयो, “विराटनगरको आइसिपीसम्म कार्गो रेल ल्याउन कुनै पनि बाधा छैन । पूर्वाधारहरू सबै ठिक छन् । आएको सामान क्लियर गर्न हामी तत्पर भएर बसेका छौँ । जोगबनी कस्टममा पनि सामान आएमा क्लियरेन्स गर्न कुनै समस्या छैन भनेर भनिरहेका छौँ ।”
उहाँका अनुसार जोगबनी कस्टमका अधिकारीले पनि सामान आयो भने क्लियरेन्स गरिदिन कुनै समस्या नभएको बताएका छन् । यहाँका व्यापारीहरूले कार्गो बुक नगरेकै कारण रेल नआएको प्रमुख ढकालले भनाइ छ ।
ढकालका अनुसार यस क्षेत्रका उद्योगी व्यवसायीले लामो समयदेखि कोलकाता बन्दरगाह प्रयोग गरेर वस्तु आयात गरिरहेका छन् । उनीहरूले बिशाखापटनम् बन्दरगाह प्रयोग गर्न रुचि देखाइरहेका छैनन् । उद्योग सङ्गठन मोरङका अध्यक्ष सुरानाले भन्नुभयो, “यहाँका व्यापारीले कोलकाता बन्दरगाहबाटै ९० प्रतिशत भन्दा बढी सामान आयात गरिरहेका छन् । ९० प्रतिशत सामान आयात हुने बन्दरगाहलाई बल्क कार्गो स्पेसिफाइट गरिदिए पछि कसरी कार्गो रेल बुक गर्न सकिन्छ ? यो समस्या हो र यस्तो सन्धिमा हाम्रो सरकारले नबुझी कसरी हस्ताक्षर ग-यो ?”
अध्यक्ष सुरानाको भनाइसँग विराटनगर भन्सारका प्रमुख ढकाल भने सहमत हुनुहुन्न । उहाँ भन्नुहुन्छ, “कोलकाताबाट ९० प्रतिशत वस्तु आयात हुन्छ भन्ने तथ्य नै गलत छ, अहिले बिशाखापटनम्तर्फ धेरै सिफ्ट भइसकेको छ । त्यहाँबाट ठुलो परिमाणमा आयात गर्न सहज पनि छ ।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संयुक्त उद्घाटन गरेपछि विराटनगर भन्सारमा आएको कार्गो रेलले आरती स्ट्रिप्सको कच्चा पदार्थ ल्याएको थियो । सन्धिमा उल्लेख भएको रासायनिक मल, कोइला, क्लिङ्कर र सिमेन्टबाहेकको औद्योगिक कच्चा पदार्थ पहिलो खेपमै ढुवानी भएकाले पनि उद्योगी व्यवसायीको दाबी भने पुष्टि हुने देखिँदैन । विराटनगर भन्सार कार्यालयका प्रमुख ढकालले भारतीय वस्तु र कच्चा पदार्थ कोलकाता बन्दरगाहबाट कार्गो रेलबाट ल्याउन कुनै समस्या नरहेको बताउनुभयो । सन्धिमा भएको व्यवस्था तेस्रो मुलुकबाट आयात हुने वस्तुका लागि मात्र भएको उहाँको भनाइ छ ।
कोलकाता बन्दरगाहबाट कार्गो रेलमार्फत सबै प्रकारका वस्तु जोगबनी रुटमा ल्याउन पाउनु पर्ने व्यवसायीको मागप्रति विराटनगर भन्सार कार्यालय पनि सकारात्मक देखिएको छ । भन्सार प्रमुख ढकालले भन्नुभयो, “उहाँहरूको सरोकार सुनेर पुनरवलोकनका लागि तीन महिनाअघि नै हामीले लेखेर पठाइसकेका छौँ, त्यस विषयमा कुरा पनि भएको छ, तर कार्गो रेल प्रयोग गर्न अहिले भएको व्यवस्थाले खास ठुलो बाधा गरेको भने होइन ।”