• १३ असोज २०८१, आइतबार

पालिकाले मिल सञ्चालन गरेपछि सहज

blog

खोटाङ समाचारदाता  

खोटाङ, पुस ८ गते । खोटाङको रावा बेँसी गाउँपालिकाले तोरी पेल्ने मिल सञ्चालनमा ल्याएपछि किसानलाई सहज भएको छ । गाउँपालिकाले मिल खरिद गरेर सुपथ मूल्यमा सञ्चालन गरेपछि किसानलाई सहज भएको हो ।

रावा बेँसी गाउँपालिकाका अधिकांश क्षेत्र तेलहन बालीको व्यावसायिक खेती गर्नका लागि उर्वर भूमि मानिन्छ । पालिकाभित्रका प्रायः किसानले अहिले तोरी, सूर्यमुखीलगायतका तेलहन बाली लगाउँदै आएका छन् । उत्पादन गरेका तेलहन बाली पेल्नका लागि नजिकै मिल नहुँदा किसानलाई समस्या हुँदै आएको थियो । अहिले पालिकाले मिल सञ्चालन गरेपछि सहज भएको स्थानीय किसान तारामान मग्रातीले बताउनुभयो । यसअघि एक दिनको समय माया मारेर ऐँसेलुखर्क, दिक्तेल पुगेर तेल पेल्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

खाने तेलमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ अघिल्लो वर्षदेखि गाउँपालिकाले तोरी खेती प्रवर्धन कार्यक्रम सुरु गरेको छ । जस अनुसार जिल्लाबाहिरबाट उन्नत जातको तोरीको बिउ ल्याएर किसानलाई निःशुल्क वितरण गरिएको थियो । केही किसानले यस अगाडिदेखि नै स्वस्फूर्त पनि तोरी खेती लगाउँदै आएको अवस्थामा गाउँपालिकाले चक्लाबन्दी तोरी खेती कार्यक्रम लागू गरेपछि अधिकांश किसानले तोरी उत्पादन गरेका छन् । पालिकाले प्रदान गरेको बिउबाट तोरी उत्पादन गरेर पालिकाले नै सञ्चालन गरेको मिलमा पेल्न पाउँदा खुसी लागेको किसान चिना नेपाली बताउनुहुन्छ ।

केही समयअघिदेखि सञ्चालनमा ल्याइएको मिल बिचमा केही समय बिग्रिएको थियो । अहिले मिल पुनः सञ्चालन भएको छ । बेलाबेलामा मिल बिग्रिँदा समस्या हुने गरेको किसान ज्ञानुप्रसाद पाण्डेको भनाइ छ । त्यसैले मिल नियमित सञ्चालन हुने व्यवस्था गर्न पालिकालाई उहाँको अनुरोध छ । 

गाउँपालिकाले ढुवानीसहित चार लाख ९२ हजार रुपियाँ लगानीमा मिल सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले बताउनुभयो । अन्य ठाउँमा तेल पेल्दा प्रतिकेजी २५ रुपियाँ लाग्ने गरेको छ । पालिकाले सञ्चालन गरेको मिलमा भने प्रतिकेजी २० रुपियाँ लिने व्यवस्था गरिएको अधिकृत रेग्मीले बताउनुभयो । तेल पेल्दा उठेको रकम सञ्चालन गर्ने व्यक्तिलाई तलब र मिल मर्मत कोषमा जम्मा गर्ने गरेको उहाँको भनाइ छ ।   तोरी खेती प्रवर्धन कार्यक्रम लागु गरेर अघिल्लो वर्ष गाउँपालिकाले निःशुल्क तोरी र सूर्यमुखी फूलको बिउ वितरण गरेको थियो । बाहिरबाट ल्याएको बिउ सबै राम्रो नभएकाले यस वर्ष पालिका आफैँले उन्नत जातको बिउ सङ्कलन गरेको जनाएको छ । पालिकाभित्र उत्पादन भएको राम्रो तोरीलाई बिउका रूपमा खरिद गरिएको पालिका अध्यक्ष फटिक र श्रेष्ठले बताउनुभयो । सोही बिउ अहिले किसानलाई माग र आवश्यकताको आधारमा ५० प्रतिशत अनुदानमा वितरण भइरहेको उहाँको भनाइ छ । केही वर्षभित्रमा खाने तेलमा गाउँपालिका आत्मनिर्भर बन्ने योजनासहित काम भइरहेको अध्यक्ष श्रेष्ठको दाबी छ ।