• ११ मंसिर २०८१, मङ्गलबार

आदर्शका प्रतिमूर्ति

blog

थातवास गोरखा भए पनि १९८१ मा भारतको बनारसमा जन्मिनुभएका कृष्णप्रसाद भट्टराई (किसुनजी) को आज सयौँ जन्मजयन्ती हो । नेपाली राजनीतिमा निष्ठावान्, निःस्वार्थ र मूल्यमान्यताको राजनीति गर्ने एक मात्र उच्चकोटिका नेताको नाम हो– किसुनजी । छाता, सुराही र बाकस मात्र बोकेर बालुवाटार पस्ने र त्यही लिएर ससम्मान बाहिरिने प्रधानमन्त्री अहिलेको युगमा भेट्टाउन कठिन छ । जस्तोसुकै कष्टकर जीवनयापन गर्नु परे पनि उहाँ आफ्नो सिद्धान्तनिष्ठ राजनीतिबाट कहिल्यै विचलित हुनुभएन ।

नेपाली कांग्रेसका संस्थापक नेतामध्येका किसुनजी कांग्रेसले प्रकाशन गर्ने नेपाल पुकार पत्रिकाको सम्पादक पनि हुनुहुन्थ्यो । नेपाल पत्रकार महासङ्घको संस्थापक सभापति रहनुभएका किसुनजीले कम्युनिस्ट पार्टी अफ सोभियत युनियनका पहिलो महासचिव निकिता ख्रुस्चेवको अन्तर्वार्तासमेत लिनुभएको थियो । जहानियाँ राणा शासनबाट मुक्ति पाई नेपाली जनताले प्रजातन्त्र प्राप्त गरेको आठ वर्षपछि २०१५ सालमा भएको आमनिर्वाचनमा गोरखाबाट चुनाव लड्नुभएका किसुनजीको पक्षमा जनमत प्राप्त नभए पनि उहाँको पार्टी नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्याएको थियो । किसुनजीका पक्षमा जनमत नआए पनि उहाँको प्रजातन्त्रप्रतिको अठोटले गर्दा ३४ वर्षकै उमेरमा पहिलो निर्वाचित संसद्को सभामुख बन्नुभयो ।

२०१७ सालको कुपछि पञ्चायतसमक्ष समर्पण वा सम्झौता नगरी उहाँले १० वर्षभन्दा बढी समय कारावास जीवन बिताउनु भयो । यद्यपि तत्कालीन समयमा थुप्रै समकालीन सम्झौताको कागज गर्दै रिहा हुनुका साथै भारत प्रवासमा गए । आफ्नै देशभित्र बसेर अधिनायकवादी शासनविरुद्ध सङ्घर्ष गर्ने किसुनजीको राष्ट्रियताप्रतिको अठोट अविस्मरणीय छ । त्यही अठोटको जगमा २०४६ सालको जनआन्दोलन सफल भएको थियो । 

नेपाली कांग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको स्वास्थ्यमा समस्या आएपछि २०३४ सालमा नै कांग्रेसको कार्यवाहक सभापति बन्नुभएका किसुनजीले २०४८ देखि २०५३ सम्म निर्वाचित सभापति गरी करिब १९ वर्षसम्म नेपाली कांग्रेसको बागडोर सम्हाल्नुभएको थियो । उहाँ नै सभापति रहेको समयमा कांग्रेसका अर्का संस्थापक नेता गणेशमान सिंहको नेतृत्वमा २०४६ सालको जनआन्दोलन सफल भयो र २०४७ सालमा किसुनजी पहिलो पटक देशको प्रधानमन्त्री बन्नु भयो ।

प्रधानमन्त्री बन्नुभएको सात महिनामा नै अनेक दबाब हुँदाहुँदै पनि नेपाल अधिराज्यको संविधान जारी गर्नु भयो र संविधानकै मर्मबमोजिम संविधान जारी भएको छ महिनाभित्र आमनिर्वाचन पनि सम्पन्न गराउनु भयो । तथापि विविध कारणले उक्त निर्वाचनमा बहालवाला प्रधानमन्त्रीले समेत चुनावको नतिजा आफ्नो पक्षमा पार्न सक्नु भएन । आफ्नै पार्टी सरकारमा भएको बेला उपनिर्वाचनमा पनि उहाँ पराजित हुनु पर्‍यो । 

२०५१ सालको मध्यावधि निर्वाचनमा आफूविरुद्ध पार्टीबाटै अन्तरघात हुँदा वा त्यसपश्चात् गणेशमान र गिरिजाप्रसादबिच चर्को मतभेद हुँदाहुँदै पनि किसुनजीकै त्याग र कार्यकुशलताले पार्टी फुटबाट जोगिएको थियो । ओशो सन्न्यासी स्वामी आनन्द अरुण बेलाबेला भन्नुहुन्छ, “२०४८ साल र पछिको निर्वाचनमा किसुनजीको पराजय नेपाली राजनीतिमा निष्ठा, आदर्श सिद्धान्तको पराजय हो र त्यही समयबाट नेपाली राजनीतिले सही मोड लिन नसकेको हो ।” 

२०५६ सालमा दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएपछि उहाँले शेरबहादुर देउवाको नेतृत्वमा आयोग गठन गरी त्यसैमार्फत सशस्त्र द्वन्द्व गरिरहेका माओवादीसँग शान्ति वार्ताको प्रयास थाल्नु भयो । जसका कारण २०५८ सालमा पहिलो पटक युद्धविराम र शान्तिवार्ता सम्भव भएको थियो । किसुनजीले नौ महिनामा नै राजीनामा दिनुपर्ने अवस्था आयो । किसुनजीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर नेपाली कांग्रेस २०५६ सालको चुनावमा होमिएको थियो । किसुनजीकै नाममा कांग्रेसले बहुमत प्राप्त मात्र गरेन, उहाँ दोस्रो पटक प्रधानमन्त्री हुनु भयो । दुःखद पक्ष किसुनजी दोस्रो पटक प्रधानमन्त्री भएका बेला सुविधाजनक बहुमत प्राप्त गरेको आफ्नै पार्टी कांग्रेसका ६९ जना सांसदले अविश्वासको प्रस्ताव राखेका थिए । 

अविश्वास प्रस्ताव दर्ता भएपछि प्रतिनिधि सभामा सम्बोधन गर्दै किसुनजीले खुसीसाथ पद छोड्नुभएको थियो । २०५६ चैत ३ गते प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर प्रधानमन्त्री किसुनजीले सम्बोधन गर्दै भन्नुभएको थियो, “मेरा लागि नेपाल प्रिय छ, धेरै प्रिय छ । यसका साथै प्रजातन्त्र प्रिय छ, मेरो आँखामा समुन्नत नेपालको सपना छ । त्यो सपना नयाँ पुस्ताले पूरा गर्न सक्छ भन्ने मलाई पूरा विश्वास छ । सम्भवतः यो सदनमा प्रधानमन्त्रीका हैसियतले मेरो अन्तिम सम्बोधन हुने छ ।” राजीनामा दिनुपर्ने यस्तो परिबन्द सिर्जना गरिएपछि भट्टराई सक्रिय राजनीतिको उच्च ओहोदामा कहिल्यै रहनु भएन र रहन पनि चाहनु भएन । 

कांग्रेस गणतन्त्रमा जाने निधो गरेसँगै महासमितिका सदस्यलाई सम्बोधन गरी दिनुभएको पत्रमार्फत किसुनजीले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो । त्यससँगै कांग्रेसको मूलधार र उहाँका बिचमा पनि दुरी बढ्दै गयो । जीवनको उत्तरार्धमा उहाँले ललितपुरको बाँडेगाउँ आश्रममा नै गीता पाठ गर्दै आध्यात्मिक जीवन बिताउनुभएको थियो । आश्रममा भेट्न आउने अनुयायीलाई उहाँ “कर्म गर फलको आशा नगर” भनेर गीताको सन्देश सुनाउने गर्नु हुन्थ्यो । 

नेपालको राष्ट्रियताका मामलामा किसुनजीले कहिल्यै राजनीतिक वा कूटनीतिक सौदाबाजीको विषय बनाउनु भएन । नेपाल सार्वभौमसत्तासम्पन्न राष्ट्र हो र यसको आन्तरिक मामलामा कसैको हस्तक्षेप नेपालका लागि स्विकार्य छैन भन्ने सन्देश भाषणले होइन व्यवहारमा देखाउनु हुन्थ्यो । २०४७ सालमा उहाँले प्रधानमन्त्रीको हैसियतले गर्नुभएको भारत भ्रमणपछिको भारतीय प्रधानमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा सरकारी हातहतियार खरिद र नेपाली सेनामा समावेशितासहित मधेशी समुदायको उपस्थितिको विषयमा किसुनजीले दिनुभएको जवाफ आज पनि गौरवको विषय बनिरहेको छ । निष्ठा, आदर्श र सिद्धान्तमा अविचलित किसुनजीबारे पछिल्लो समय उहाँले नै स्थापना गरेका संस्था नेपाली कांग्रेस, पत्रकार महासङ्घ भनौँ वा उहाँकै अगुवाइमा स्थापना भएको नेपाल विद्यार्थी सङ्घ उहाँबारे बेखबर बन्दै गएका छन् । उहाँको जन्मदिन वा स्मृति दिवससमेत बाँडेगाउँ र बानेश्वरस्थित छक्कुबक्कु पार्कमा रहेको किसुनजीको सालिकमा सीमित हुन पुगेको छ । किसुनजीको नाममा हालसम्म न कुनै राष्ट्रियस्तरका योजना वा परियोजना नै बन्न सकेका छन् । कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने विषयमा बेला बेला गाइँगुइ हुन्छ तर हालसम्म स्थापना हुने कुनै छनक देखिएको छैन । 

असल र निष्ठावान् राजनीतिज्ञको चरित्र र भोगाइबारे अध्ययन गर्न राजनीतिशास्त्रको विद्यार्थीका लागि किसुनजीको जीवनी विश्वविद्यालयको पाठ्यक्रममा समावेश हुनुपर्ने हो तर यसबारे न सरकारले नै चासो लिएको देखिन्छ न त नेपाली कांग्रेसले नै । नेपाली कांग्रेस पटक पटक सरकारमा गएको छ, अझ भनाैँ उहाँकै छत्रछायामा राजनीति गरेका शेरबहादुर देउवा र पूर्णबहादुर खड्का पार्टीको सभापति र उपसभापति हुनुहुन्छ । खड्का अहिले सरकारको उपप्रधानमन्त्रीसमेत हुनुहुन्छ । बेला बेला खड्का बाँडेगाउँ जानु हुन्छ । 

सामाजिक सञ्जाल र मिडियातिर किसुनजीबारे निकै चर्चा हुने गर्छ । उहाँहरूले चाहेको खण्डमा किसुनजीको नाममा भावी पुस्ताले थाहा पाउने गरी राष्ट्रिय महìवका आयोजना बनाउन सक्ने पदीय जिम्मेवारीमा उहाँहरू हुनुहुन्छ । किसुनजी सक्रिय राजनीतिमा कहिले पनि नामको पछाडि लाग्नु भएन न त यसको भोक नै थियो उहाँमा । अर्को पुस्ताले किसुनजी जस्ता राजनीतिज्ञ नेपालमा हुनुहुन्थ्यो भनेर सम्झिनका लागि पनि उहाँका नाममा केही न केही हुन आवश्यक छ । 

नेपालको पहिलो सभामुख र सबै दलका लागि सर्वस्वीकार्य नेता भएकाले सिहंदरबारमा बन्दै गरेको संसद् भवनको नाम नै किसुनजी संसद् भवन भनेर राख्दा राष्ट्रिय सन्देश जाने छ । यसबाट किसुनजीबारे कांग्रेस सम्मिलित सरकारले न्याय गरेकोसमेत ठहरिने छ । यस अर्थमा पनि शताब्दीयौँ जन्मजयन्ती विशेष भएको 

मानिने छ । नेपाली कांग्रेसको असोज पहिलो साता बसेको केन्द्रीय समितिको बैठकको निर्णय नम्बर १० मा “नेपाली कांग्रेसका संस्थापकनेता, पूर्वसभापति, पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मजयन्तीको उपलक्ष्यमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले विशेष कार्यक्रम गर्ने निर्णय गर्दछ” भने पनि केन्द्रीय समितिले नै निर्णय गरे जस्तो कार्यक्रम हुने आजसम्म कुनै छाँटकाँट देखिएको छैन ।

तथापि शताब्दी जन्मजयन्तीलाई वर्षभरि नै पनि मनाउन सकिने भएकाले आगामी दिनहरूमा विशेष कार्यक्रम हुनेमा आशावादी बन्न सकिन्छ । चुनाव सकिएको वर्ष दिन नबित्दै फेरि चुनावकै लागि मिसन बनाइरहने राजनीतिक मौसममा अहिलेको राजनीतिक नेतृत्वले किसुनजी जस्तै सादगीपन अपनाउन नसके पनि उहाँको निष्ठा, आदर्श र सिद्धान्तलाई पछ्याउन सकेमा मात्र पनि नेपाली जनताले असल नेतृत्वको अनुभूति गर्न पाउने छन् । 

  

Author

लोकराज भट्ट