• २७ वैशाख २०८२, शनिबार

वैतेश्वरमा एक वडा एक कालोपत्रे र ढलान सडक निर्माण अभियान

blog

निर्माण गरिएको पक्की पैदलमार्ग । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा
दोलखा, पुस ८ गते ।
दोलखाको वैतेश्वर गाउँपालिकाले ११ करोड रुपियाँ लगानीमा एक वडा एक कालोपत्रे र ढलान सडक निर्माण अभियान थालेको छ । 

वैतेश्वर गाउँपालिका अघिल्लो दुई वर्षदेखि पालिका भित्र दैनिक सवारी आवतजावत गर्ने आठ वटा वडाकै मुख्य ग्रामीण सडकको कालोपत्रे तथा ढलान धमाधम हुन लागेको पालिका अध्यक्ष छवि लामाले जानकारी दिनु भयो ।

उहाँका अनुसार सुरुको वर्ष २०७६/०७७ करिब चार किलोमीटर सडक कालोपत्रे गरेको पालिकाले गत वर्ष २०७८/०७९ मा पनि साढे दुई किलोमीटर सडक ढलान तथा कालोपत्रे र यस आर्थिक वर्ष पनि गाउँपालिकाले थप साढे चार किलोमीटर सडकको कालोपत्रे तथा ढलान धमाधम ठेक्का तथा उपभोक्ता समितिमार्फत काम भइरहेको छ ।

पाँच वर्ष भित्र गाउँपालिका भित्रका मुख्य सडकहरु वडा नम्बर –१ को गोपी–जोरमाने सडक, वडा नम्बर २ र ३ जोड्ने मुख्य सडक बुस्ती पुतलीकाठ सडक, वडा ३र ४ जोड्ने मैनापोखरी बगर सडक, वडा नम्बर ५ र ८ जोड्ने देउराली क्षेत्रपा सडक, मैनापोखरी–अस्पताल जोड्ने सडक, नाम्दु पाडुडाँडा तथा पाडु लप्से निम्को सडकको कालोपत्रे गरिसक्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।

चालु वर्ष गाउँपालिकाले गोपि–जोरमाने सडकमा थप नौ सय मिटर ढलान गरिरहेको छ । सात सय मिटर ठेक्कामार्फत काम हुँदै छ भने दुई सय मिटरको ढलान उपभोक्ता समितिमार्फत गरिएको छ । बुस्ती– पुतलीकाठ सडक ९५० मिटर सडक ठेक्कामार्फत कालोपत्रे हुने छ । नाम्दु–पाडु सडकमा ठेक्कामार्फत छ सय मिटर कालोपत्रे हुने छ भने २८० मिटर सडक उपभोक्ता समितिमार्फत ढलान सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्षमै देउराली–क्षेत्रपा सडक एक किलोमिटर कालोपत्रे गर्ने तयारी भइरहेको छ ।

त्यस्तै, मैनापोखरी अस्पताल सडकमा बागमती प्रदेश सरकारको अनुदान सहयोगमा २१३ मिटर सडक ढलान पनि सम्पन्न भइसकेको छ । चालु वर्ष असार मसान्तसम्म चार हजार २२३ मिटर सडक कालोपत्रे तथा ढलान गरिसक्ने गाउँपालिकाले जनाएको छ ।

योजना बनाएर बाँकी काम पूरा गरिने पालिकाको योजना रहेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष यी सडक कालोपत्रे तथा ढलान गर्न ११ करोड लाख ६७ हजार रुपियाँ विनियोजन भएको अध्यक्ष लामाले जनकारी दिनु भयो ।

पालिकालाई हिलो मुक्त बनाउने योजना अनुसार हालसम्म ८ वडामा करिब ६५ वटा गोरेटो बाटो पक्की निर्माण भइसकेका पनि उहाँले जानकारी दिनु भयो ।