• १४ मंसिर २०८१, शुक्रबार

मन्दिरको आम्दानीबाट अस्पताल सञ्चालन

blog

फडिन्द्र अधिकारी

लेखनाथ, पुस ८ गते । धार्मिकस्थलको भेटी व्यवस्थापन निर्देशिका २०७३ लागू भएको पोखराको विन्ध्यवासिनी मन्दिरको आम्दानीबाट प्राकृतिक अस्पतालसहित अरू सामाजिक काम भइरहेका छन् । निर्देशिका अनुसार मन्दिरको जग्गा, भेटीलगायतका आम्दानीबाट विद्यालय, अस्पताल, ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गर्न सक्ने प्रावधान छ । 

विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय विन्ध्यवासिनी गुठीको पोखरा–१, गुठीबारीको २१ रोपनी १२ आनामा छ । आयुर्वेद विभागबाट १५ बेडको स्वीकृति लिएर गत असारबाट यसले अनौपचारिक रूपमा सेवा सुरु गरेको हो । पूरै संरचना निर्माण भएपछि दुई सय बेड क्षमतामा यसलाई चलाउने तयारी छ । अहिले दैनिक ५० जनाभन्दा बढी बिरामी उपचारका लागि पुग्ने गरेका छन् । 

यहाँको उपचारमा औषधी प्रयोग हुँदैन । शरीरमा पञ्चतत्वको असन्तुलनका कारण उत्पन्न हुने रोगहरू पञ्चतत्वकै माध्यमबाट निको पार्ने विधि प्राकृतिक चिकित्सा हो । अस्पतालका डा. समीर क्षेत्री पञ्चतत्वको समुचित प्रयोग गरी उपचार गरिने बताउनुहुन्छ । 

प्राकृतिक उपचारसँग योगको नङमासु जस्तै सम्बन्ध रहेको डा. क्षेत्रीको भनाइ छ । यहाँ महिला र पुरुषका लागि अलग अलग डिमार्टमेन्ट र फरक कर्मचारी छन् । यो अस्पतालमा पायल्स, पिनास, दम, डिप्रेसन, मोटोपन, मधुमेह, एलर्जी, अल्सर, पत्थरी, जन्डिस, कब्जियत, रुघाखोकी, ज्वरो, पखाला, महिलाका विभिन्न समस्या समस्याको उपचार हुन्छ ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति सचिव तीर्थ श्रेष्ठले अहिले अस्पतालमा ३३ कर्मचारी रहेको र अहिले मासिक सातदेखि आठ लाख अनुदान दिने गरेको बताउनुभयो । हालसम्म अस्पतालमा चार करोड लगानी भइसकेको छ । गुरुयोजना अनुसार थप चार करोड रुपियाँ चाहिन्छ । पूर्ण रूपमा सञ्चालनमा आएको छ महिनाभित्रै अस्पतालले खर्च धान्ने अनुमान छ । 

चार भिल्ला, योग भवन, प्राकृतिक उपचारगृह र मूल भवनको पहिलो तला तयार भइसकेका छन् । माथिल्लो तल्ला तयार भएपछि आवासीय उपचार सुरु गर्ने तयारी छ । अस्पतालमा ५० हजार लिटरको ट्याङ्की, आफ्नै बोरिङ र लन्ड्रीसमेत छन् । सूर्योदयदेखि सूर्यास्तसम्मै घाम पर्ने अस्पताल परिसरमा जडीबुटीसहितका बिरुवा लगाइएको छ । 

सेवाग्राहीबाट प्राप्त शुल्क, अस्पताल समितिको सदस्यता र दाताको सहयोगबाट अस्पताल चलाउने योजना छ । विन्ध्यवासिनी मन्दिरको आम्दानीबाट गुरुकुल, एम्बुलेन्स र ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रसमेत सञ्चालित छन् ।