चरीकोट, पुस ७ गते। पुस १३ गतेदेखि २२ गतेसम्म दोलखा सदरमुकाम चरीकोटमा हुन लागेको बृहत् दोलखा महोत्सवको तयारी तीव्र पारिएको छ। दोलखा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको महोत्सवको पूर्व तयारी स्वरूप चरीकोट बजार रङ्गीचङ्गी बनाइएको हो।
चरीकोट बजारमा तुल, ब्यानर, स्वागतद्वार तथा ध्वजापतकाले रङ्गिन थालेको हो। उद्योग वाणिज्य सङ्घ र स्थानीयले बजारलाई सजाउने काम गरिरहेका छन्।
बिहीबारबाट सुरु हुने महोत्सवका लागि बजार क्षेत्रका अधिकांश भागलाई सजाउने काम सकिएको छ ।
महोत्सव मूल समारोह समितिका प्रबिन श्रेष्ठलेले महोत्सवलाई सफल बनाउनका लागि स्वतःस्फूर्त रूपमा लाग्न सबैलाई आग्रह गर्नुभयो। महोत्सव स्थल भीमेश्वर नगरपालिका –३ टुँडिखेलमा स्टल तथा कार्यक्रमका लागि मञ्च निर्माण कार्य भइरहेको श्रेष्ठले बताउनुभयो । महोत्सवका लागि सबै तयारी अन्तिम चरणमा पुगेको श्रेष्ठको भनाइ छ।
महोत्सवको उद्घाटन सत्रमा जातीय तथा पेसागत भेषभुषा सहित र्याली सातदोबाटो चोकदेखि महोत्सवको स्थलसम्म नौमती, लामा बाजा दोलखे भजन ब्यानर लगायत विभिन्न कार्यक्रम रहेको आयोजकले जनाएको छ। महोत्सवको उद्घाटन प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने आयोजकले जनाएको छ।
साङ्गीतिक मनोरञ्जनका लागि कलाकार मिलन नेवार, राजनराज सिवाकोटी , एलिना चौहाल, हरिबहादुर राउत, प्रीति आले, ज्योति मगर, नवराज घोरासैनी, रमेश प्रसाईँ , प्रताप दास, रमेशराज भट्टराई, हरिबहादुर राउत लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ।
महोत्सवमा स्थानीय हस्तकलाका सामग्री प्रदर्शन, विभिन्न जातजातिको भेषभूषा प्रदर्शन, जडीबुटी प्रदर्शन, व्यावसायिक वस्तु प्रदर्शन, बाल उद्यान, पर्यटकीय स्थलको तस्बिर समेत अवलोकन गर्न पाउने आयोजकले जनाएको छ। दोलखामा विगतमा भएका महोत्सव भन्दा यो महोत्सव फरक हुने भन्दै आयोजकले सम्पूर्णलाई महोत्सव अवलोकन गर्न अनुरोधसमेत गरेको छ।