• २६ वैशाख २०८१, बुधबार

साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता धेरै

blog

काठमाडौँ, पुस ३ गते  । मुलुकमा सबैभन्दा धेरै साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता (एफडिआई) आउने गरेको छ  । 

उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा १८९ साना उद्योगमा १४ अर्ब १६ करोड ९५ लाख १५ हजार रुपियाँ प्रतिबद्धता आएको छ । तीन ठुला उद्योगमा तीन अर्ब ६६ करोड ५२ लाख ३३ हजार रुपियाँ प्रतिबद्धता आएको छ । यस्तै सात मझौला उद्योगमा दुई अर्ब ७७ करोड ५८ लाख ३० हजार रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ । 

सरकारले विदेशी लगानीको सीमा पाँच करोडबाट घटाएर दुई करोडमा झारेपछि साना उद्योगमा लगानी प्रतिबद्धता बढी आउने गरेको हो । 

उद्योग विभागको तथ्याङ्क अनुसार साउनदेखि मङ्सिरसम्म १९९ परियोजनामार्फत कुल २४ अर्ब ३५ करोड ७२ करोड ३७ हजार रुपियाँ प्रतिबद्धता आएको हो । गत वर्षको तुलनामा लगानी प्रतिबद्धतामा दोब्बरले वृद्धि भएको छ । 

गत वर्ष सो अवधिमा १११ परियोजनामार्फत १२ अर्ब ४४ करोड ९२ लाख ८८ हजार ७०४ रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको थियो । विभागमा पाँच महिनामा विदेशी लगानी २० अर्ब ६१ करोड ५७ लाख र सेयर पर्चेज एग्रिमेन्ट (एसपिए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) मा तीन अर्ब ७४ करोड ६६ लाख ५९ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । 

पाँच महिनामा सबैभन्दा धेरै विदेशी लगानी पर्यटनमा ९५ र सेवा क्षेत्रमा ७४ मा आएको छ । यस्तै उत्पादनमूलक क्षेत्रमा १९, पूर्वाधारमा चार, सूचना तथा प्रविधिमा पाँच वटामा लगानी प्रतिबद्धता आएको छ । 

विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्करसिंह धामीले गत वर्षको तुलनामा विदेशी लगानी प्रतिबद्धतामा वृद्धि भएको जानकारी दिनुभयो । गत वर्ष आर्थिक सङ्कटका कारण विदेशी लगानीमा कमी आएको थियो । चालु आवको साउन महिनामा ६० परियोजनामार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानी प्रतिबद्धता थियो । त्यसपछि अन्य महिनामा भने सो अनुपातमा विदेशी लगानी प्रतिबद्धतामा कमी आएको विभागको तथ्याङ्कले देखाएको छ । चालु आवको मङ्सिरमा मात्र २१ परियोजनामा दुई अर्ब २५ करोड ६२ करोड ७५ हजार रुपियाँ प्रतिबद्धता आएको छ । अघिल्लो महिना कात्तिकमा मात्र २७ परियोजनामार्फत एक अर्ब ७५ करोड रुपियाँ विदेशी लगानी प्रतिबद्धता भित्रिएको हो । कात्तिकको तुलनामा मङ्सिरमा विदेशी लगानी प्रतिबद्धतामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । 

विभागका अनुसार आव २०७९/८० मा ३८ अर्ब ४० करोड रुपियाँ प्रतिबद्धता आएकामा पाँच अर्ब ९६ करोड रुपियाँ भित्रिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । 

आव २०७८/७९ मा ५४ अर्ब १५ करोड आठ लाख रुपियाँ प्रतिबद्धता आएकामा १८ अर्ब ५६ करोड रुपियाँ भित्रिएको थियो । आव २०७७/७८ मा ३२ अर्ब १७ करोड २८ लाख रुपियाँ प्रतिबद्धता आएकामा १९ अर्ब ५१ करोड २७ लाख रुपियाँ लगानी भित्रिएको विभागको तथ्याङ्क छ । यस्तै आव २०७६/७७ मा ३७ अर्ब ८० करोड ५८ लाख रुपियाँ लगानी प्रतिबद्धता भएकामा १९ अर्ब ४७ करोड ८७ लाख रुपियाँ भित्रिएको छ । आव २०७५/७६ मा २५ अर्ब ४८ करोड ४४ लाख रुपियाँ लगानी प्रतिबद्धता रहेकामा १३ अर्ब ६५ करोड रकम भित्रिएको छ ।

सुरुदेखि हालसम्म चार खर्ब ७० अर्ब ५७ करोड ९४ लाख ९९ हजार रुपियाँ प्रतिबद्धता आएको छ । लगानी प्रतिबद्धता धेरै आए पनि सो अनुपातमा लगानी न्यून आउने गरेको बताइएको छ ।