बाबुराम देवकोटा
सिन्धुलीमाढी, पुस २ गते । सिन्धुली जिल्लाका विभिन्न सामुदायिक माध्यमिक विद्यालयमा बागमती प्रदेश सरकारले सञ्चालन गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ।
बागमती प्रदेश सरकारले विद्यालमै नर्स पठाएर स्वास्थ्य सेवा दिएसँगै विद्यार्थीहरु सामान्य स्वास्थ्य जाँच र औषधिका लागि अन्यत्र जानु पर्ने बाध्यताबाट मुक्त भएका छन् । विद्यालयमै सामान्य स्वास्थ्य सेवासहित पढन पाउदा विद्यार्थीहरु पनि खुशी देखिन्छन् ।
'एक विद्यालय, एक नर्स' कार्यक्रम सञ्चालन भएको कमलामाई नगरपालिका-५ स्थित सिद्धबाबा मावि पानी ट्याङ्किमा कार्यरत स्टाफ नर्स सामना शर्मा विद्यार्थीहरुलाई रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नबाट कसरी बँच्न सकिन्छ भन्ने बारे जानकारी दिँदै आएको बताउनुहुन्छ । उहाँका अनुसार उक्त कार्यक्रम सञ्चालनसँगै छात्राहरु खुलेर आफ्ना समस्या बताउन सक्ने भएका छन्। महिनावारीका बेला पढ्न नआउने छात्राहरु पनि विद्यालयमा नर्सको व्यवस्था भएसँगै नियमिति पढ्न आउन थालेका छन् । "विद्यालयमा दैनिक विभिन्न समस्या भएका नौ-दश जना विद्यार्थीहरुको स्वास्थ्य जाँच हुने गरेको छ," उहाँले भन्नुभयो, "कहिलेकाहीँ त २०-२५ जना नै विद्यार्थीको स्वास्थ्य जाँच हुने गर्दछ ।"
विद्यालयमा स्वास्थ्यसँग सम्बन्धित महिनावारी, मानसिक समस्या, किशोर अवस्थाको बारेमा, प्रजनन स्वास्थ्य, आँखा लगायतका विषयमा पनि कक्षा सञ्चालन गर्ने गरिएको उहाँले जानकारी दिनुभयो। उक्त कार्यक्रम जिल्लामा २०७५ सालमा कमलामाई नगरपालिका–५ स्थित जनज्योती मावि फोस्रेटारमा नमुना परीक्षणका लागि सञ्चालन गरी सुरु गरिएको थियो ।
'एक विद्यालय, एक नर्स' कार्यक्रम प्रभावकारी बनेपछि वर्षेनी विस्तार गरी यो वर्षसम्म ३९ वटा सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन भएको शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले जनाएको छ । कार्यालय प्रमुख निर्मल घिमिरेले उक्त कार्यक्रम बढी मात्रामा छात्राहरुको लागि प्रभावकारी देखिएको बताउनुहुन्छ ।
"यो कार्यक्रम विशेषगरी महिनावारी हुने बेला भएका छात्राहरुलार्य राम्रो छ," उहाँले भन्नुभयो, "स्टाफ नर्स भएपछि उनीहरुले आफ्ना समस्या खुलेर राख्न पाएका छन् । स्यानेटरी प्याड विद्यालयमै पाउँछन् । महिनावारी हुने बेलामा त्यस्ता छात्राहरु विद्यालय नआउने समस्या थियो । स्टाफ नर्स भएको विद्यालयमा एउटा छुट्टै आराम गर्ने कोठा पनि हुन्छ । त्यसले गर्दा छोरीहरुको विद्यालय आउने क्रम बढेको छ ।"
दुधौली नगरपालिका–११ स्थित कमला मावि मैनीका अप्रधानाध्यापक राजेश्वर यादव पनि विद्यालयमा नर्सको व्यवस्था भएसँगै विद्यार्थीहरुलाई धेरै सजिलो भएको बताउनुहुन्छ । उहाँका अनुसार नर्सको व्यवस्था भएपछि छात्रा महिनावारी भएको बेला तीन-चार दिन विद्यालय नआउने क्रम रोकिएको छ । नर्सले प्रत्येक दिन विहान १० बजेदेखि ४ बजेसम्म र आवश्यक परेको बेलामा अन्य समयमा पनि विद्यार्थीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम हुँदै आएको छ । उक्त कार्यक्रम सञ्चालन भएको विद्यालयमा विद्यार्थीले स्वास्थ्य जाँचको सुविधा विद्यालयमा पाउन थालेपछि अभिभावकसमेत उक्त कार्यक्रमप्रति आकर्षित देखिएको उहाँले जानकारी दिनुभयो ।
जनज्योति मावि फोस्रेटारमा कार्यरत स्टाफ नर्स सन्ध्या ढकालका अनुसार उक्त विद्यालयमा प्रत्येक तीन महिनामा बालबालिकाको स्वास्थ्य जाँच गरिन्छ । वर्षमा तीन पटकसम्म आँखा, मुख र कानको परीक्षण र सिकाइमा विशेष समस्या भएका विद्यार्थीहरुको शारीरिक, मानसिक र संवेगात्मक अवस्थाको परीक्षण गर्ने गरिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, "विद्यालयमा सात सयभन्दा बढी त छात्रा भएकाले महिनावारीको समस्या धेरै देखापरेको छ । छात्राहरु महिनावारी गडबडी, तल्लो पेट दुख्ने, रगत धेरै बग्ने लगायतका समस्या लिएर आउने गरेका छन् । विद्यार्थीहरु पनि अहिले आफैँ सचेत भएका छन् ।"
नर्सको व्यवस्थासँगै प्याड वितरण, सरसफाइ, मासहिस्टेरिया जस्ता समस्या समाधान भएको उक्त विद्यालयले जनाएको छ ।