• ११ मंसिर २०८१, मङ्गलबार

मुद्रास्फीति घट्दाको प्रभाव

blog

अर्थतन्त्रमा नकारात्मक विषयवस्तुले बजार पाइरहेका बेला खुसी दिने परिसूचक प्राप्त हुन थालेका छन् । विगत दुई वर्षदेखि नेपाली उपभोक्तालाई महँगीले सताएको थियो । महँगी घट्दो तहमा आइपुगेको केन्द्रीय बैङ्कको अध्ययन निष्कर्षले देखाएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिना अर्थात् कात्तिक महिनामा आइपुग्दा मुद्रास्फीति ५.३८ प्रतिशतमा आइपुगेको छ । असोज महिनामा मात्र पनि मुद्रास्फीति ७.५ प्रतिशतमा थियो । मुद्रास्फीति घट्दो क्रममा जाँदा त्यसले अर्थतन्त्रका बहुआयामिक क्षेत्रमा प्रभाव पार्छ । मुद्रास्फीति न्यून हुँदा उपभोक्तालाई महँगीको मारबाट जोगाउँछ । साथसाथै अर्थतन्त्रमा ब्याजदरलाई न्यून बिन्दुतिर धकेल्छ । न्यून ब्याजदरले लगानी प्रोत्साहन गर्दै अर्थतन्त्रमा आय, उत्पादन र रोजगारी बढाउन सहयोग पुग्छ । आर्थिक मन्दीतिर अग्रसर भनिएको अर्थतन्त्रलाई चलायमान गतिमा लैजान पनि बल मिल्ने छ तर यो मुद्रास्फीतिमा अहिले नै धेरै खुसी हुने अवस्था भने छैन । खास उपभोग्य वस्तुको अझै मूल्य वृद्धि उच्च नै छ ।

नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको चार महिनाको अर्थतन्त्रको समग्र चित्र तीन दिनअघि (मङ्सिर २८ गते) मात्र सार्वजनिक गरेको हो । त्यसमा अर्थतन्त्रमा आशाको सञ्चार जगाउने धेरै परिसूचकमध्ये मुद्रास्फीतिको घट्दो स्वरूप नै महìवपूर्ण परिसूचक हो । केन्द्रीय बैङ्कका अनुसार कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत छ । कतिपयले पत्याउनै कठिन भनिरहेका छन् भने कतिपयले आलोचना गरिरहेका छन् । असोज महिनाभन्दा झन्डै दुई बिन्दुले कात्तिकमा मुद्रास्फीति घटेको छ भने अघिल्लो वर्षको सोही महिनासँग तुलना गर्दा उपभोक्तालाई धेरै राहत मिल्ने देखिन्छ । गत आर्थिक वर्षको कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत थियो । वर्षभर नै उच्चै थियो ।

मुद्रास्फीति भन्नु पैसाको क्रय शक्तिसँग प्रत्यक्ष सम्बन्ध परिसूचक हो । मुद्रास्फीति बढ्दै जाँदा वस्तु र सेवाको मूल्य बढ्दै जान्छ । उपभोक्तासँग भएको मुद्राको वस्तु तथा सेवा किन्ने शक्ति घट्दै जान्छ । उपभोक्तालाई सकस पर्न थाल्छ । मुद्रास्फीति तल आउँदा उपभोक्ताको क्रय शक्ति बढ्दो क्रममा हुन्छ । उपभोक्ताले वस्तु तथा सेवा सरल मोलमा किन्न पाउँछन् । कम मूल्यमा वस्तु तथा सेवा प्राप्त हुँदा उपभोक्ताको साबिक आयबाटै पनि बचत हुन जान्छ । यो आमप्रकृति हो तर केन्द्रीय बैङ्कले हालै जारी गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको मुद्रास्फीतिलाई गहन रूपले विश्लेषण गर्ने हो भने उपभोक्तालाई मिश्रित असर पर्ने नै देखाउँछ । त्यति मात्र होइन, यो मुद्रास्फीतिको प्रवृत्ति आगामी दिनमा कायम रहन सक्ने हो वा होइन भन्नेतिर समेत थप प्रश्नको जवाफ खोज्छ । हौसिनु पर्ने बेला भने छैन ।

 केन्द्रीय बैङ्कका अनुसार चालु आर्थिक वर्षको कात्तिक महिना आइपुग्दा समग्र मुद्रास्फीतिमा देखाएको ५.३८ प्रतिशतको मुद्रास्फीति समग्र औसत मुद्रास्फीति हो । त्यसमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत पनि धेरै उपसमूह छन् । कतिपय उपभोक्तालाई प्रत्यक्ष प्रभाव पार्ने वस्तुको बजार भाउ अकासिएको देखिन्छ । मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३६.४६ प्रतिशत छ । दसैँ, तिहार र छठ जस्ता चाडपर्वकै बेला मरमसलामा उच्च मूल्य वृद्धि उपभोक्ताले भोगेकै हो । एक किलो जिरा केही महिनाअघि चार पाँच सय प्रतिकिलो थियो भने पछिल्लो महिना त प्रतिकिलो एक हजार दुई सय हाराहारीसमेत पुगेको थियो । मरमसलामा उच्च मूल्य वृद्धि केन्द्रीय बैङ्कको अध्ययनले पनि देखाएको छ र बजारले समेत यो अनुभव गराएको छ ।

यताका दिनमा सबैभन्दा सताएको वस्तु भनेको चिनी नै हो । आम नेपालीसँग प्रत्यक्ष सरोकार राख्ने चिनी एक त बजारमै पाइएन । पाए पनि असाध्य महँगो । काला बजारियाले लुकाएर हैरानै पारे । केन्द्रीय बैङ्कको तथ्याङ्कले पनि यो कुरा स्वीकार गरेको छ । चिनी तथा चिनीजन्य वस्तुको मूल्यवृद्धि कात्तिक महिनामा १४.५९ प्रतिशतले बढेको छ । त्यसै गरी चाडपर्वको बेला चाहिले उपभोग्य वस्तुमै पर्छ फलफूल । फलफूलको मूल्यसमेत कात्तिक महिनामा १४.०१ प्रतिशतले बढेको छ । खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य वृद्धिसमेत १२.०२ प्रतिशतले बढेको छ । त्यसै गरी दुग्ध पदार्थ तथा अन्डाको मूल्य वृद्धिसमेत ११ प्रतिशतले बढेको छ । यसरी हेर्दा उपभोक्तालाई दैनिक जीवनमा अति आवश्यक भएका खाद्यान्न, मरमसला, चिनी, फलफूल सबै वस्तुको मूल्य दोहोरो अङ्कले मूल्य वृद्धि भएको देखिएकाले हौसिनु पर्ने बेला भने आइसकेको छैन ।

आमसर्वसाधारणले महँगी अनुभव गरिरहँदा केन्द्रीय बैङ्कको तथ्याङ्कमा भने किन मुद्रास्फीतिको चाप न्यून रह्यो भन्ने गम्भीर प्रश्नसमेत उठ्नु स्वाभाविक हो । हो, आमउपभोक्तालाई राहत दिने गरी उपयोग्य वस्तुको मूल्य घटेको छैन तर कतिपय वस्तुको मूल्य साविकको तुलनामा सामान्य बढेको त छैन नै, बरु घटेको देखिएको छ । कात्तिक महिनामा घिउ तथा तेलको मूल्यमा १४.२३ प्रतिशतले कमी आएको छ । सबैभन्दा राहतको विषय त सहरी क्षेत्रका उपभोक्ताले दसैँ र तिहारको बेला तरकारीको मूल्यमा राहत मिलेको छ ।

 चाडपर्वको बेला महँगो हुने तरकारी यो कात्तिक महिनामा ५.३५ ले कमी आएको छ । तरकारीको भाउमा कमी आउँदा उपभोक्तालाई राहत मिलेको छ तर उत्पादकलाई भने प्रत्यक्ष मार परेको छ । घिउ तथा तरकारीमा आएको मूल्यको कमीले उत्पादक किसानका निम्ति प्रत्यक्ष असर परेको छ । उनीहरूले उत्पादनको लागत समेत नपाएको गुनासो छ । तिहारताका काउलीको मूल्य उपभोक्ता तहमै प्रतिकिलो २०/२५ रुपियाँमा आइपुग्यो भने किसानले त प्रतिकिलो पाँचदेखि १० रुपियाँमा बेच्नु परेको छ । यति मूल्यले उत्पादनको लागतसमेत थेग्दैन । विगतका चाडपर्वमा काउलीको उपभोक्ता मूल्य प्रतिकिलो एक सय रुपियाँभन्दा माथि नै हुने गरेको थियो । त्यसैले कतिपय मुद्रास्फीति उपभोक्ताका निम्ति लाभकारी भए पनि उत्पादकका निम्ति पीडादायी हुन्छ । नेपाली किसान यो भोग्दै छन् ।

उपभोक्ताको प्रत्यक्ष सरोकार राख्ने खाद्य तथा पेय पदार्थका अधिकांश जस्तै वस्तुमा झन्डै दोहोरो अङ्कको मूल्य वृद्धि भए पनि गैरखाद्य तथा सेवा समूहको बजार भाउ भने मिश्रित देखिएको छ । कतिपय सेवा समूहमा मूल्य घट्न आउँदा समग्र मुद्रास्फीतिमा सकारात्मक प्रभाव परेको छ । गैर खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.८४ प्रतिशतले बढेको छ । त्यस्तै विविध वस्तु तथा सेवाको १०.७६ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.२७ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको केन्द्रीय बैङ्कको अध्ययनले देखाएको छ । कात्तिक महिनामा यातायात उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क भने १.८६ प्रतिशतले घटेको छ । आयातित इन्धनको मूल्यमा आएका उतारचढावले यातायात उपसमूहमा आएको फेरबदल समग्र मूल्य चापमा सकारात्मक प्रभाव पारेको स्पष्ट देखिएको छ । 

 कात्तिक महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति छ प्रतिशत मात्र रहेको छ । यसै गरी तराईको ४.४२ प्रतिशत मात्र मूल्य वृद्धिले आपूर्ति व्यवस्थासमेतमा सकारात्मक प्रभाव देखिन्छ भने पहाडको ६.०७ प्रतिशत अनि हिमालको ८.७९ प्रतिशतको मूल्य वृद्धिले आपूर्ति व्यवस्थामा ढुवानी महँगिनु मूल कारण देखिन्छ । गत आर्थिक वर्षको कात्तिक महिनामा काठमाडौँमा ७.५६ प्रतिशतको मूल्य वृद्धि थियो भने तराईमा अझ बढी ८.५२ प्रतिशत, पहाडको ८.०३ प्रतिशत मूल्य वृद्धि रहेको थियो ।

मुद्रास्फीतिलाई बाह्य बजारले प्रत्यक्ष असर पारिरहेको हुन्छ । २१ महिनाअघि रुसले युक्रेन अतिक्रमण गरेपछि उत्पन्न युद्धले संसारभर आपूर्ति शृङ्खलामा असर पार्न थाल्यो । इन्धनको भाउ ह्वात्तै बढ्यो । त्यसैको असरले गत आर्थिक वर्षदेखि नै महँगीको मार विश्वले खेप्न थाल्यो र नेपालले पनि खेप्न बाध्य भयो । इन्धनको भाउमा केही राहत मिल्ने क्रमसँगै आपूर्ति शृङ्खलामा सकारात्मक प्रभाव देखिन थाल्यो र त्यसले अहिले बजारमा केही राहत दिएको छ । मुद्रास्फीति घट्दै जानु भनेको रुस र युक्रेन युद्धको प्रभाव अर्थतन्त्रमा न्यून हुँदै जानुसमेत हो । कोभिडले थलिएको अर्थतन्त्रमा युद्धले नुनचुक नै छरे जस्तो भएको थियो । अब बिस्तारै अवस्था सहज हुँदै छ ।

मुद्रास्फीति कम हुँदा अर्थतन्त्रका अरू आयामलाई प्रत्यक्ष र परोक्ष दुवै तवरले सहयोग पुग्छ । मुद्रास्फीतिको दबाबमा परेर ब्याजदर बढाउनु पर्ने बाध्यताबाट केन्द्रीय बैङ्क मुक्त हुुन्छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको मौद्रिक समीक्षामा केन्द्रीय बैङ्कले बैङ्क दर र नीतिगत दर घटाउँदै त्यो सुधारको दिशा समातेको छ । त्यसको देखिने असर सेयर बजारमा पर्न थालेको छ । नेप्से परिसूचक तथा कारोबारमा आएको बढोत्तरीले अब अर्थतन्त्र थप चलायमान हुँदै जाने देखिन्छ । यी परिसूचकको वास्तविक अर्थतन्त्रका क्षेत्रमा भने एकै पटक प्रतिफल उन्मुख प्रभाव देखिँदैन । त्यसका निम्ति लगानीको वातावरण सुधार गर्न नीतिगत, संस्थागत र संरचनागत सुधारसमेत जरुरी पर्छ । अर्थतन्त्रमा लगानी बढ्ने अवस्था आउन सके त्यसले रोजगारी र उत्पादन बढाउन सहयोग पुग्ने छ । समग्र अर्थतन्त्र चलायमान हुने छ ।

  

Author

जुनारबाबु बस्नेत