राधाकृष्ण डुम्रे
वालिङ, पुस १ गते । स्याङ्जाको चापाकोट नगरपालिका-२ मा रहेको गण्डकी ग्रामीण सामुदायिक अस्पताल अलपत्र परेको छ । विशेषज्ञ चिकित्सक सहित अस्पतालले सेवा प्रवाह गर्ने तयारी गरेपछि खुसी भएका चापाकोटका नागरिक अहिले पनि चिन्तामा छन् ।
"गाउँमा नै सुविधा सम्पन्न अस्पताल सञ्चालनको तयारी हुँदै थियो, सबै खुसी थियौँ तर अलपत्र अवस्थामा पुगेको देख्दा सारै चिन्ता लाग्छ", स्थानीय बाजिन्द्र विश्वकर्माले भन्नुभयो, "अस्पताल सञ्चालन गर्ने भनेपछि खुसी भएर शेयर सदस्य समेत बने तर अहिले यस्तो अवस्थामा पुग्यो ।" राजनीतिक खिचातानीले अस्पताल अलपत्र अवस्थामा पुगेको विश्वकर्माको आरोप छ ।
यो गण्डकी बेसी कै सुविधा सम्पन्न भवन र उपकरण भएको ठुलो अस्पताल हो । अस्पतालमा करोडौँको अत्याधुनिक उपकरणहरू छन् । त्यो सबै बिग्रने अवस्थामा पुगेको स्थानीयको भनाइ छ ।
यस्तै, काभ्रेको धुलिखेल अस्पतालको सहकार्यमा अस्पताल सञ्चालनमा ल्याइएको थियो । गएको २०७९ भदौ ६ गतेबाट सेवा प्रवाह गरेको अस्पताल केही महिना चलेको भएपनि अहिले भने पूर्ण रूपमा बन्द छ । अस्पताल व्यवस्थापनको कमजोरीको कारण अस्पतालको सेवा बन्द भएको स्थानीयको आरोप छ । चापाकोटका नागरिक घर अगाडिको सुविधा सम्पन्न अस्पताल भवन हेरेर उपचारका लागि अन्यत्र जान बाध्य छन् ।
सङ्घीय सरकार र प्रदेश सरकारबाट गरी झण्डै ८ करोड बजेट अस्पतालमा पुगेको छ । पटकपटक गरी आएको बजेट बाट विभिन्न संरचना र अस्पताललाई आवश्यक सामग्री खरिद गरिएको हो। अस्पतालमा ६३२ जनाको एक कित्तादेखि ५१ कित्तासम्म गरी १४८० कित्ता सेयर छ । प्रतिकित्ता ५ हजार ५०० का दरले १४८० कित्ताको ८१ लाख ४० हजार सेयर पुँजी रहेको अस्पतालका अध्यक्ष हरि पङ्गेनीले बताउनुभयो । अस्पताल सञ्चालनका लागि पहल जारी रहेको भन्दै अध्यक्ष पङ्गेनीले भन्नुभयो, “हामी हिसाब सार्वजनिक गरेर अस्पताल सञ्चालनमा ल्याउने छौँ ।”
विभिन्न कारणले अस्पताल नियमित सञ्चालन नभएको भन्दै अध्यक्ष पङ्गेनीले अब छिट्टै भेला राखेर एक निष्कर्षमा पुग्ने जानकारी दिनुभयो । संस्थाका शेयर सदस्यहरूले हिसाब पारदर्शी नभएको आरोप लगाएका छन् । सञ्चालक समितिले हिसाब अस्तव्यस्त पारेकाले सार्वजनिक नभएको आरोप उनीहरूको छ । धेरै सदस्य भएपनि थोरै व्यक्तिको रजाइँका कारण समस्या आएको सदस्यहरू बताउँछन् । सयौँ सङ्ख्यामा रहेको शेयर सदस्यहरू संस्थाको पछिल्लो अवस्थाबारे बेखर छन् । उनीहरूलाई अस्पताल किन बन्द भएको भन्ने सामान्य जानकारी समेत छैन ।
अस्पताल सञ्चालनका लागि पटकपटक पालिकामा छलफल भएको जानकारी दिँदै चापाकोट नगरपालिकाका प्रमुख देवबहादुर खाँण (ईश्वर)ले हिसाबकिताब सबै गरेर पालिका समक्ष आउन भनिएको बताउनुभयो । यस क्षेत्रको गौरवको विषय रहेको ग्रामीण अस्पताल अस्तव्यस्त हुन नहुने भन्दै आफूहरूले सञ्चालक समितिलाई सचेत बनाउँदै आएको खाँणको भनाइ छ । पालिकालाई अस्पताल हस्तान्तरण गरेर सञ्चालनका लागि सहयोग गर्न आफूहरूले सञ्चालक समितिलाई भन्दै आएको खाँणले बताउनुभयो । अस्पताल तत्कालै सञ्चालन गर्नका लागि पालिका गम्भीर रहेको प्रमुख खाँणको भनाइ छ । सञ्चालक समितिले आर्थिक अवस्थाबारे तत्कालै सार्वजनिक गर्न नगरपालिकाको आग्रह छ ।
हिसाब स्पष्ट नभएका कारण पालिकालाई बुझाउन असहज भएको शेयर सदस्यहरू बताउँछन् । यस्तै, डेढ करोड जति ऋण भएको अध्यक्ष पङ्गेनीकोले बताउनुभयो । प्रदेश सरकारबाट पछिल्लो पटक प्राप्त तीन करोड रकममध्ये एक करोड मात्रै भुक्तान भएको अध्यक्ष पङ्गेनीको भनाइ छ । पूर्वाधार कार्यालय स्याङ्जाले बजेट रोकिदिएका कारण समस्या आएको उहाँले बताउनुभयो ।