• १८ असार २०८१, मङ्गलबार

निर्माण सुरु भएको तीन दशक बित्दा पनि बनेन सडक

blog

निर्माणको क्रममा अलपत्र परेको दमक चिसापानी सडक ।

विष्णुप्रसाद पोखरेल

दमक, पुस १ गते । झापाको दमकदेखि पहाडी जिल्ला इलामको चिसापानी पञ्चमी हुँदै पाँचथरको रवि जोड्ने फाल्गुनन्द मार्ग निर्माण सुरु भएको तीन दशक बितिसक्दा पनि सडक निर्माण पुरा हुन सकेको छैन । यो तीन दशकमा दमकदेखि घर्ती दोभानसम्म रतुवा खोला नै खोला कुदाउनु पर्ने सवारी साधन भने सडकको ट्रयाक खुलेपछि सोही ट्रयाकबाट कुदाउन थालिएको हो ।

दमक-चिसापानी सडक (फाल्गुनन्द मार्ग) कालोपत्रेका लागि ठेक्का लागेको पनि वर्षौँ भइसकेको छ । दमकदेखि चिसापानीसम्मको ३३ किलोमिटर कालोपत्रेका लागि लागेको ठेक्काको समय बारम्बार थपिँदा समेत काम भएको छैन । ट्रयाक चौडा गर्दै कालोपत्रे गर्ने काम आधा पनि नभएको हो ।

तीन वटा खण्डमा विभाजन गरेर पाँच वर्षअघि ३ वर्षमा काम पुरा गर्ने गरी ठेक्का लागेको थियो । सडक निर्माण भएको २५ वर्षपछि बहुवर्षे योजना सहित निर्माणको काम पुरा गर्ने गरी बजेट सहित ठेक्का लाग्दा स्थानीयहरू खुसी भएका थिए । दमकलाई पूर्वी पहाडी जिल्लालाई जोड्ने यो सबैभन्दा छोटो दुरीको सडक हो ।

दमकको प्रथम बिन्दुबाट सात किलोमिटर पहिलो प्याकेजका लागि चारपटक म्याद थप भएको छ तर काम पुरा भएको छैन । पहिलो खण्डअन्तर्गत सडक कालोपत्रे गर्ने ठेक्का महालक्ष्मी–किराँतेश्वर जेभीले ३० महिनाभित्र सक्ने गरी २०७५ साल साउन अन्तिममा सम्झौता गरेको थियो । 

निर्माण कम्पनीले २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का लिएर अहिले काम अलपत्र छाडेको छ । बारम्बार गरेर चारपटक म्याद थप भएको र अन्तिम पटक थपिएको म्याद पनि असार मसान्तमा सकिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । ६२ प्रतिशत पनि मुस्किलले काम भएको छ । यो दमकबाट नजिक र भौगोलिक रूपमा काम गर्न सहज ठाउँ हो ।

दोस्रो खण्ड १५ किलोमिटर र तेस्रो खण्डको ११ किलोमिटर सडक निर्माणको ठेक्का लुम्बिनी-गणपति जेभीले पाएको थियो । दोस्रो खण्ड ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो खण्ड ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको भएपनि काम भने अत्यन्तै सुस्त भएको सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी एवम् इन्जिनियर गौतमकुमार देवले बताउनुभयो । 

यसको पनि म्याद केही महिनाअघि नै सकिएको छ, देवले भन्नुभयो । दोस्रो खण्डमा करिब ६२ प्रतिशत काम भएको र तेस्रो खण्डमा २८ प्रतिशत काम भएको पनि उहाँले जानकारी दिनुभएको छ । "निर्माण व्यवसायीलाई बारम्बार रूपमा कामअघि बढाउनका लागि निर्देशन दिएका छौँ", उहाँले भन्नुभयो । निर्माण व्यवसायीले काम गर्न अटेर गरेको देवले बताउनुभयो । समग्रमा ३३ किलोमिटर सडकमा ५० प्रतिशतमात्र काम भएको उहाँले जनाउनुभयो ।

झण्डै ३३ वर्षअघिदेखि यो सडक दमक सहित यस सडक आसपासको क्षेत्रको चुनावी एजेण्डा तथा प्राथमिक मुद्धा बन्दै आएको छ । वि.सं २०४८-०४९ देखि सडकको विषयमा चर्चा हुँदै आएको हो । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर पार्टीका शिर्षस्थ नेताहरूले समेत यस सडक निर्माण आफूहरूको प्राथमिकता रहेको बताउनुभएको छ ।

पछिल्लो समयमा धार्मिक र राजनीतिक रूपमा शक्ति केन्द्र मानिएको माङ्सेबुङको लारुम्बा पनि यही सडकले भेट्छ । किरात धर्मगुरु आत्मनन्द लिङ्देन यो सडक निर्माणका लागि बारम्बार रूपमा यहाँ आउने गरेका राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर सरकारका मन्त्रीहरूलाई आग्रह गर्दै आउनुभएको छ ।

नेपाली कांग्रेसका तत्कालीन नेता डा. गोपाल कोइराला नेतृत्वको वि.सं.२०४८-०४९ मा सडक निर्माणका लागि दबाब दिनका लागि उपभोक्ता समिति बनेर निर्माणका लागि आवश्यक पहल गरेको तत्कालीन समितिका सदस्य तथा दमक चिसापानी रबी सडक उपभोक्ता समितिका पूर्व अध्यक्ष सुरेश सुब्बाले बताउनुभयो । "यो सडकको कुरा उठेको त साढे ३ दशक नै पुगिसकेको छ", उहाँले भन्नुभयो ।