• ५ जेठ २०८१, शनिबार

धानको मूल्य बढेपछि किसान खुसी

blog

धान काट्न प्रयोग भएको प्रविधि ।

विष्णुप्रसाद पोखरेल

दमक, पुस १ गते । झापामा विगतका वर्षको तुलनामा यो वर्ष धानको मूल्य बढेपछि किसान खुसी भएका छन् । अघिल्लो वर्षको तुलना यो वर्ष २५ देखि ५० प्रतिशतसम्म धानको मूल्य बढेको हो । 

अघिल्लो वर्ष यो समयमा धानको मूल्य प्रतिमन एक हजारदेखि अधिकतम १२ सय रहेकोमा अहिले १५ सयदेखि १६ सयसम्म पाएका छन् । न्यूनतम समर्थन मूल्यमा समेत धान बिक्री नहुँदा लागत मूल्य उठाउन समस्या हुने गरेकोमा यो वर्ष धानको मूल्य राम्रो पाएको कमल गाउँपालिकाका किसान मदन आचार्यले जानकारी दिनुभयो ।

दमक–१० का किसान केदार मिश्रका अनुसार धानको मूल्य बढ्दो अवस्थामा रहेको छ । ‘‘१६ सय प्रतिमन बिक्री हुन थालेको छ’’, उहाँले भन्नुभयो, ‘‘यसरी धानको मूल्य पाउने हो भने खेती गर्न पनि जाँगर चल्छ ।’’ 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा, बिर्तामोडले तोकेभन्दा बढी मूल्य किसानले बाहिर सहज रूपमा पाएका छन् । गत सोमबारदेखि कम्पनीले सोना मंसुली धान तथा रञ्जित मंसुली धान प्रति क्विन्टल तीन हजार ३६२ मा किन्दै आएको छ । 

धान बिक्री गर्ने किसानले सम्बन्धित वडा कार्यालय, गाउँपालिका वा नगरपालिकाबाट जारी गरिएको कृषक प्रमाणीकरणको सिफारिस अनिवार्य ल्याउनुपर्ने व्यवस्थाले गर्दा पनि किसान यसप्रति आकर्षित छैनन् । त्यो भन्दा बढी मूल्यमा घर आँगनबाट नै किसानले धान बिक्री गर्न पाएका छन् ।

सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । जस अनुसार मोटा धानको प्रतिक्विन्टल तीन हजार एक सय ९८ रुपियाँ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार तीन सय ६२ रुपियाँ मूल्य निर्धारण भएको छ । यसभन्दा अघिल्ला वर्षमा सरकारले तोकेको न्यूनतम समर्थन मूल्य पनि किसानले पाएका थिएनन् ।

कृषि ज्ञान केन्द्र झापाका अनुसार चार लाख ३६ हजार चार सय ६७ मेट्रिक टन धान उत्पादन भएको छ । ढिला गरेर वर्षा भएका कारण धान खेतीको क्षेत्रफल केही घटे पनि उत्पादन भने बढेको हो । अघिल्लो वर्षभन्दा यो वर्ष आठ हजार पाँच सय ९२ मेट्रिक टन धेरै धान फलेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई झापाका प्रमुख रवीन्द्र सुवेदीका अनुसार खेती किसानीमा भएको आधुनिक प्रविधिको प्रयोग, माटोमा सुधारका प्रयास लगायतका कार्यले गर्दा धान उत्पादकत्व बढ्दै गएको छ । लागत मूल्य पनि कम हुने र मूल्य पनि राम्रो पाउँदा किसान दुई बाली लगाउन पनि उत्साहित बन्न थालेका छन् ।