• १५ मंसिर २०८१, शनिबार

अग्रजको भूमिका सम्मानयोग्य

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा मध्यपश्चिमाञ्चल साहित्य परिषद्द्वारा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा साहित्यकार गिरिराज शर्मालाई ‘नेत्रलाल अभागी स्मृति सम्मान २०८०’ बाट सम्मानित गर्नुहुँदै । तस्बिर : कविता थापा

काठमाडौँ, पुस १ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति, साहित्यलगायत सबै क्षेत्रमा निष्ठाको खडेरी देखिएको बताउनुभयो । मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले आयोजना गरेको ‘सातौँ साधारण सभा उद्घाटन, पुरस्कार तथा सम्मान अर्पण एवं खसानी गोष्ठीपत्र विशेषाङ्क लोकार्पण समारोह’ मा उहाँले समाजमा योगदान गरेका व्यक्तिहरूको सम्मान हुनुपर्नेमा जोड दिनुभयो । 

“अहिले समाजमा निष्ठाको खडेरी छ । राजनीतिक क्षेत्र होस् वा साहित्यक क्षेत्र । सबै क्षेत्रमा पहुँच र पावर हुनेले रजगज गरिराखेका छन् । अग्रज व्यक्तित्वले जुन भूमिका निर्वाह गर्नुभयो । जुन चेतना दिनुभयो र यो अभियानमा लामबद्ध गराउनुभयो । त्यसको सम्मान गरिनु पर्छ,” उहाँले भन्नुभयो । 

पछिल्लो समय निष्ठावान् व्यक्ति किनारामा पर्दै गरेको धारणा व्यक्त गर्दै मन्त्री शर्माले सबै मिलेर देशको अवस्था बदल्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । मन्त्री शर्माले देशमा व्यवस्था परिवर्तन भए पनि संस्कार परिवर्तन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । हरेक दिन सयौँको सङ्ख्यामा युवा देशमा भविष्य नदेखेर विदेश जानु चिन्ताजनक भएको भन्दै उहाँले युवालाई देशमै भविष्य छ भन्ने कुरा कला, साहित्यमार्फत चेतना दिर्नुपर्ने अवस्था आएको बताउनुभयो । 

पूर्वमन्त्री एवं साहित्यकार बलदेव शर्मा मजगैयाले मध्यपश्चिम खस भाषाको उद्गम थलो भए पनि अझै खोज अनुसन्धान गर्न नसकिएको बताउनुभयो । मध्यपश्चिम साहित्य परिषद्का वरिष्ठ उपाध्यक्ष समीर शाहले कला साहित्य क्षेत्रका व्यक्तिहरूलाई सङ्गठित गर्दै प्रतिभालाई उजागर गरिने बताउनुभयो । मध्यपश्चिम स्रष्टा सम्मानबाट वरिष्ठ साहित्यकार बलदेव शर्मा मजगैया, प्राडा मीनबहादुर विष्ट, हरिहर अधिकारी श्यामल’ रहनुभएको छ । यस्तै नेत्रलाल अभागी स्मृति सम्मानबाट साहित्यकार गिरिराज शर्मा, ‘कृष्णसेन इच्छुक स्मृति सम्मानबाट समालोचक प्राडा गोपीचन्द्र पौडेल, काशीदास जोशी स्मृति सम्मानबाट सहित्यकार मनोहर लामिछाने, ‘लोकेन्द्र शाह स्मृति सम्मानबाट कवि डा. अमर शाह र इन्द्रमणि मानव स्मृति सम्मानबाट कवि मोतीराज बम पुरस्कृति हुनुभएको छ ।

यसैगरी भाषा आयोग सदस्यहरू उषा हमाल र डा. अमर गिरी, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरी, साहित्यकार प्राडा सुधनकुमार पौडेल र थाइल्यान्डका लागि प्रस्तावित राजदूत धनबहादुर ओली रहनुभएको छ । मध्यपश्चिम साहित्य परिषद्का संस्थापक प्राध्यापक केशव सुवेदी लगायतलाई सम्मान गरिएको छ ।