• १४ मंसिर २०८१, शुक्रबार

बढ्दै मानव–हात्ती द्वन्द्व

blog

विष्णुप्रसाद पोखरेल

दमक, पुस १ गते । झापाका विभिन्न पालिकामा केही समययता हात्ती र मानवबिचको द्वन्द्व चर्कंदै गएको छ । यसले मानव र हात्ती दुवैतर्फ क्षति हुन थालेको छ । पहिला हुलमा रहने हात्ती अहिले छरपस्ट रूपमा झापाका अधिकांश पालिकामा देखिन थालेका छन् । यसले दिनप्रतिदिन जोखिम बढाएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । मानव र हात्तीबिचको द्वन्द्वले क्षति बढाएपछि यसको न्यूनीकरणका लागि लाग्नुपर्ने अवस्था आएको सरोकारवालाले बताउन थालेका छन् ।

बिहीबार बिहान बाह्रदशी गाउँपालिका–१, खयरबारीमा भाले हात्ती मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय झापाका अधिकृत जीवन पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय नगेन्द्र राईको बारीको सुठुनी खाएको हात्ती त्यहीँ नजिकै तोरीबारीमा मृत अवस्थामा भेटिएको हो । बाहिरी चोटपटक कुनै नदेखिको र हात्तीको मृत्युको कारण नखुलेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । मृत हात्तीको मुचुल्का उठाएर तथा आवश्यक प्रक्रिया पु¥याएर पोस्टमार्टमपछि मात्र मरेको कारण खुल्ने डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउनुभयो । उहाँले भन्नुभयो, “करेन्ट लागेर वा अन्य के कारणले हात्ती मरेको हो, पोस्टमार्टम रिपोर्टले खुल्छ ।” 

विगत वर्षको तुलनामा झापामा हात्तीको सङ्ख्या चार गुणाभन्दा धेरै बढेकाले अझै क्षति हुने अवस्था देखिएको राईको भनाइ छ । चालु आवको साउन १ देखि अहिलेसम्म पाँच महिनाको अवधिमा जिल्लामा तीन व्यक्ति र दुई हात्तीको ज्यान गइसकेको उहाँले जानकारी दिनुभयो । झापाको दमक, हल्दीबारी र शिवसताक्षीमा हात्तीको आक्रमण बढेको छ । 

भद्रपुर नगरपालिका–२ स्थित रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा असोज अन्तिम साता मृत अवस्थामा हात्ती फेला परेको थियो । राईका अनुसार एक वर्षअघिसम्म १० देखि १२ वटा हात्ती नियमित रूपमा झापाका विभिन्न जङ्गलमा बस्ने गरेका थिए । अहिले ४० भन्दा बढी हात्ती यहाँका जङ्गल तथा आसपासमा बसेका छन् ।  भारतको आसामबाट आएका हात्तीले यहाँ आहारा पाउने भएकाले यहीँ बस्न थालेको पनि उहाँको भनाइ छ ।