• ५ जेठ २०८१, शनिबार

रैथाने बालीको न्यूनतम समर्थन मूल्य तोकियो

blog

मकवानपुरको मकवानपुर गढी गाउँपालिका क्षेत्रमा लगाइएको जुनेलो खेती । तस्बिर: गोरखापत्र

राममणि दाहाल

हेटौँडा, पुस १ गते । मकवानपुरको मकवानपुर गढी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । गाउँपालिकाले कोदो र धान कोदो  प्रति केजी ५४, फापरको प्रतिकेजी सय र जुनेलोको प्रतिकेजी ८४ रुपियाँ हुने गरी न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।

गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले चालु आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत कार्यक्रमअनुसार उत्पादनमा आधारित प्रोत्साहन अनुदान (रैथाने बाली) कार्यक्रम कार्यान्वयन गर्ने क्रममा रैथाने बालीको मूल्य निर्धारण गरिएको जानकारी दिनुभयो । मकवानपुर गढी गाउँपालिकामा रैथाने बाली खरिदकर्ताको रूपमा सूचीकृत कृषि सहकारी र कृषक समूहले गाउँपालिकाले तोकेको मूल्यमा उत्पादक कृषकहरूबाट खरिद गर्नुपर्नेछ । 

उत्पादक कृषकले सूचीकृत सहकारी र समूहमा बिक्री गरे बापत उत्पादनमा आधारित थप १० रुपियाँ प्रति केजी गाउँपालिकाले प्रोत्साहन रकम उपलब्ध गराउने शाखा प्रमुख चौधरीले बताउनुभयो । जसमा उत्पादक कृषकले प्रति केजी छ रुपियाँ र खरिदकर्ताले प्रति केजी चार रुपियाँ पाउनेछन् । यसरी कृषकले कोदो र धान कोदो बिक्री गर्दा प्रति केजी ६०, फापरको प्रतिकेजी १०६ र जुनेलोको प्रति केजी ९० रुपियाँ पाउनेछन् । 

गाउँपालिकाले यस वर्ष रैथानेबालीहरु कोदो, धान कोदो, फापर र जुनेलो गरी ५० मेट्रिक टन सङ्कलन गर्ने लक्ष्य राखेको छ । साथै  सङ्कलन भएका रैथाने बालीहरुलाई विविधीकरण गरी समूह, सहकारीमार्फत बिक्री व्यवस्था मिलाइने पालिकाले जनाएको छ ।