• ११ मंसिर २०८१, मङ्गलबार

रामसीताको विवाह महोत्सव

blog

मार्ग शुक्ल पञ्चमीमा मनाइने राम–जानकी विवाह महोत्सव आज आइतबार परेको छ । यस दिनलाई विवाहपञ्चमी पनि भनिन्छ । यो उत्सव एक दिनको मात्र होइन, एक हप्ताअघिदेखि नै सुरु हुन्छ । मार्ग महिना हर्ष, उल्लासको समय, धान भित्र्याउने, भकारी भर्ने बेला र खास गरी वैवाहिक गाँठो बलियो पार्ने समय पनि हो । भारतीय क्षेत्र अयोध्या र जनकपुरको सान्निध्य विवाहपञ्चमीले गराएको छ । त्यसो त जनकपुरमा जानकी विवाह हरेक वर्ष भव्यताका साथ मनाइन्छ । 

पूर्वीय चिन्तनमा परमेश्वरको चर्चा सबैतिर छ । परमेश्वर, परमतìव, ब्रह्मभाव सबै जीवात्मामा निराकार रूप लिएर चित् स्वरूपमा रहेको र जगत्मा सगुण, साकार स्वरूप लिएर सर्वत्र, सर्वव्यापी भएको कुरा धर्मशास्त्रहरूले व्याख्या पनि गरेका छन् । हाम्रा श्रुति (वेद) हरूले परमतìव जीवात्मामा आराम तìव लिएर हर प्राणीमा राम रहेको कुरा पुष्टि गरेका छन् भने स्मृति (पुराण) हरूले परमेश्वरका परम लीला प्रसङ्ग, अवतार कथाहरू अत्यन्त रसिलो ढङ्गले प्रस्तुत गरेका छन् । 

भागवतमा भगवान्ले अहं सर्वेषु भूतेषु भन्नुभएको छ । यसको अर्थ हो– सबै प्राणीका हृदयमा ईश्वरको बास हुन्छ । परमेश्वरका अनेक अवतारहरूमध्ये त्रेतायुगीन ज्ञानको युग मानव जीवनको अध्ययनको आरम्भ दिन स्मरणस्वरूप चैत्रशुक्ल मध्याह्न १२ बजे धर्तीमा अवतरित श्रीराम अवतारलाई श्रीहरिको पूर्र्ण र शान्त अवतारका रूपमा मानिएको छ । अयोध्या नरेश दशरथका कुलमा कौशल्याको गर्भबाट प्रकट भएका श्रीराम अघि स्वयम्भूमनु एवं शतरूपा महारानीका तीन वटा वरदान पूरा गर्ने क्रममा प्रथम पुत्रका रूपमा श्रीराम भई धर्तीमा अवतरित भएका प्रसङ्गहरू छन् । उनै रामसँग सीताको विवाह प्रसङ्ग नै विवाहपञ्चमी हो ।

संस्कृत साहित्यका आदिकवि वाल्मीकिले रामायणको विराट् चर्चा गरेका छन् । यद्यपि वाल्मीकि सुरुमा एक ब्याधा थिए । मरा मरा भन्ने नाम जप्दा राम राम भन्ने शब्द उच्चारण हुन पुगी तपस्वी साधकका रूपमा श्रीरामका पावन कथा प्रसङ्गहरूको सविस्तार उल्लेख गर्न पुगेका वाल्मीकिका मुखबाट स्वयं वेद प्रस्तुत भई रामायणको रूप लिएको हो । सबै मानिसका लागि वेद सरल र सहज छैन तर आज वेदको सविस्तार वर्णित रामायणको गाथा विभिन्न भाषामा प्रस्तुत छ । हाम्रा भानुभक्त यसका ज्वलन्त पात्र हुन् । रामको गाथा गाइएको रामायण साहित्यको आधार हो, जसले रामको नाम लिन्छ, रामायण काव्यको अध्ययन गर्छ ऊ स्वयं कवि बनिहाल्छ । 

आज विश्वभरि नै रामायण, महाभारत र गीताशास्त्रहरू चर्चित छन् । सम्पूर्ण भवरोगको औषधी हुन् यी । शोक, भय, चिन्ता, व्याकुलतामा परेकाको सही र शुद्ध औषधी तìव भनेको रामायण पाठ, रामको स्मरण र मन्त्रोच्चारण, श्रीरामको कथा अवतार, उनका लीलाहरूको सङ्कीर्तन हो । व्यवहारपरस्त तुलसीदास सन्त भए रामकै कृपाले, हिन्दी भाषाका कवि मैथिली भाषादेखि नेपाली भाषाका अदिकवि भानुभक्त आचार्यसमेतले रामायणको चर्चा गर्न छाडेनन् । 

अजन्मा भएर पनि स्वर्गलाई भन्दा धर्तीलाई प्यारो ठान्ने, धर्तीका समस्त जीवको उद्धार गर्ने, मानव जीवनका आदर्शको सङ्केत दिने श्रीराम स्वयम् महालक्ष्मी सीतालाई लिएर धर्तीमा प्रस्तुत हुँदा ब्रह्माण्डका सारा विषय वासनाहरूसमेत मोहित बन्न पुगे । धर्तीमा रहेको प्रदूषण हटाई आदर्श घर, परिवार र राज्य स्थापना गर्न बेलाबखत धर्तीमा देखिने दुष्ट राजाहरूको अन्त्य गर्न पूरै धर्तीलाई दुष्परिणामबाट बचाउने क्रममा श्रीनारायणबाट श्रीरामको उदय भएको पावन दिनलाई भने रामनवमीको नामले पुकारिन्छ, चैत्रमास शुक्ल नवमीको दिन । 

हरेक मानवका लागि गृहस्थ जीवन सुन्दर छ । त्यसका लागि विवाह बन्धनमा बाँधिने गरिन्छ । मानव रूप लिई धर्ती अवतरित श्रीरामले हाम्रो वैदेही नगरी धनुषाधाम भनौँ जनकपुरमा सीता अर्थात् धर्ती माता जानकीसँग विवाह गरेको दिन हो आज । त्रेतायुग भनौँ वा आजभन्दा साढे १२ लाख वर्षअघिको कुरो हो र पनि अहिलेसम्म ताजै छ । त्यसैले त यो उत्सवको भव्य तयारी गरी मनाइँदै छ । साताव्यापी कार्यक्रमको पहिलो दिन रामसीताको झाँकीले नगर परिक्रमा गर्छ । दोस्रो दिन रामले सीतालाई पूmलबारीमा दर्शन दिएको स्मरणमा फूलबारी लीला गरिन्छ । 

तेस्रो दिन जनकको सर्त अनुसार धनुष यज्ञको आयोजना गरिन्छ । चौथो दिन राम र सीताका अलग महन्तहरूले गर्ने तिलक महोत्सव हुन्छ । पाँचौँ दिन विवाह मण्डप तयारीमा नदीबाट ल्याइएको माटो राखिने मटखोर पर्व सम्पन्न हुन्छ । छैटौँ दिन बाह्र बिघा क्षेत्रमा रामजानकीको डोलालाई स्वयंवरमा सरिक गराइँ साँझ भव्य विवाह बन्धनमा बाँध्ने परम्परा छ । सातौँ दिन जसलाई राम कलेवा भनिन्छ, जन्तीहरूलाई बिदाइ गरिन्छ, उपहार, कोसेली दिँदै उत्सवको समापन गरिन्छ । 

छोरी बिदाइ गर्दा कुन बाबुआमाको आँखा नरसाउला र ! त्यसैले सत्य युगमा छोरी शकुन्तलालाई भरतसँग बिदाइ गर्दा बाबु कण्वले दिल दुखाएको प्रसङ्ग : ‘हुन् माल छोरी अरूलाई दिने राखी धरौटी सरी जानी लिने, आनन्द छु आज गरी बिदाइ हल्का भए झैँ अऋणी कहाइ’ भनी काव्यकारहरूले प्रस्तुत गरेका छन् । अयोध्याका राम र नेपालकी सीताको बिहे परम्पराले दुवै देशबिचको अकाट्य र बेजोड सम्बन्धको परिचय पनि दिन्छ । 

दशरथले रामबाट पाएको स्नेह, सीताको स्वभाव, भाइ भरतको उदारभाव, शत्रुघ्नको सेवाभाव आज पनि जीवनोपयोगी यथार्थ बनेको छ । आदर्श समाज निर्माणमा यी कुराले थप सन्देश दिएको छ । रामायण मानव जीवनको यथार्थपरक आस्था हो, जसबाट नजिकै आएको राज्य सुखभोग, ऐस–आरामलाई सिधै तिरस्कार गरी सरल र पवित्रोत्तम जीवन सञ्चालन गर्न सबैलाई संस्मरण गराउँछ । राम वनवास जाँदा दुःखी छैनन् र राज्य प्राप्तिमा हर्षित पनि देखिन्नन् । जीवनका लागि योभन्दा ठुलो त्याग के पाइन्छ ? बाबुको वचनलाई एक रत्तिभर उल्लङ्घन नगर्ने मर्यादाका प्रतीक श्रीराम आदर्श पति, आदर्श पुत्र, आदर्श भाइ र आदर्श राजासमेत हुन् । सदाचारको आदर्श र व्यवहार प्रयोगको असल नमुना रामायणले हर मानवलाई सिकाउँछ । गृहस्थ जीवनका लागि रामायण सर्वोत्कृष्ट र सर्वोत्तम शास्त्र हो । यसका मूल लेखक श्रीशिव हुनुहुन्छ, जसको तपस्थली नेपाल नै हो । संस्कृतका आदिकवि वाल्मीकिले यसलाई लिपिबद्ध गराए । लोकभाकामा भानुभक्तले ढाले । 

जानकीको जन्मभूमि, जनकराजको जन्म र कर्म थलो, पूर्वीय चिन्तनको भण्डार जनकपुर क्षेत्रमा सत्सङ्गकै क्रममा राजा जनकले देवर्षि नारदसँग भगवान्को अवतार प्रसङ्गबारे प्रश्न राख्दा भगवान्का अंशांश, अंश, आवेश, कला, पूर्ण एवं परिपूर्णतम गरी मुख्य छ अवतार बताइएको थियो ।

पूर्वीय दर्शनमा बहुदेवता विविधताको चर्चा भएको छ । सृष्टिको उषाकालमा मरिचि आदि ऋषिमुनिहरूलाई अंशांशका अवतारका रूपमा लिएको पाइन्छ भने ब्रह्मा आदिलाई अंश अवतार, कपिलदेव, कच्छप अवतारलाई कला अवतार, परशुरामलाई आवेश अवतार, रामलाई पूर्ण अवतार र श्रीकृष्णलाई परिपूर्णतम अवतार मानिएको छ । युग युगमा परमेश्वरले आवश्यकता अनुसार अवतार लिनेबारे शिवगीतादेखि रामगीता, महाभारतदेखि श्रीमद्भागवत गीतासम्ममा चर्चा भएको पाइन्छ । शिवगीतामा देवी पार्वतीलाई र रामगीतामा भाइ लक्ष्मणलाई यी प्रसङ्गहरू सुनाइएको छ । कसैलाई दिइएको वरदान पूरा गर्नदेखि कसैलाई गरिएको श्राप पूर्णताका लागि पनि देवताले अवतार लिएको देखिन्छ । 

सृष्टि सञ्चालनका लागि, बाधा फुकाउन लौकिक, अलौकिक दुवै कार्यका लागि अवतारको प्रसङ्ग देखा पर्छ । हिरण्यराजले उपद्रव गरिएकी पृथ्वीलाई बचाउन वराह, हिरण्यकशिपुको आवेगबाट प्रह्लादलाई बचाउन नृसिंह, समुद्र मन्थनबाट प्राप्त अमृतको दुरुपयोगबाट रोक्न मोहिनी, समुद्र मन्थनलाई साथ दिन कुर्म, वेदको रक्षा गरी धर्तीलाई त्राण दिन मत्स्य, धर्ममा विकृति रोक्न हंस अवतारदेखि साङ्ख्य योग सिद्ध गर्न कपिल एवं ऋषभ अवतार र रावणादि असुरहरूबाट धर्तीलाई संरक्षण दिन राम अवतार भएको चर्चा पाइन्छ । दुष्ट राजा र नेताहरूको संहार गर्न परशुराम अवतार लिने भगवान् कंस आदिको भयबाट दूर गर्न कृष्णदेखि संसारमा अहिंसा धर्म स्थापनाका लागि बुद्ध अवतार लिने प्रसङ्ग पनि शास्त्रहरूमा वर्णित छ । त्यस्तै महाकलिका अन्त्यमा उनै परमेश्वरले कल्की अवतार लिने पनि भविष्यवाणी गरिएको छ । त्यो समय अभैm चार लाख ३१ हजार ९९४ वर्ष बाँकी नै छ । 

  

Author

अच्युतप्रसाद पौडेल