• १२ मंसिर २०८१, बुधबार

लागुऔषध सेवनकर्तासँग गर्नुपर्ने व्यवहार बुझाउँदै प्रहरी

blog

टीकापुरका सरोकारवालालई लागुऔषध सेवनकर्तालाई गर्नुपर्ने व्यवहार बुझाइदै । तस्बिर : एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना

टीकापुर, मङ्सिर ३० गते । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो लागुऔषध सेवनकर्तासँग गर्नुपर्ने व्यवहार बुझाउन स्थानीय तहसम्म पुगेको छ । 

प्रयोगकर्ताको जीवनको लक्ष्य अझ बढी परिमाणको अर्को डोज कसरी प्राप्त गर्ने भन्नेमा मात्र सीमित भएको हुन्छ, यस्तोबेला जति हेलाँ ग¥यो त्यत्ति बढी उपभोग मात्रा बढाउदै जाने भएकाले लागुऔषध सेवनकर्ता पनि मान्छे हो भन्ने ध्यानमा राखेर मान्छेजस्तै गर्नुपर्छ, नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘रोगीलाई कारवाही मात्र होइन, उपचार गरौं भन्ने सन्देश दिन मानवीय व्यवहारसम्वन्धी कार्यक्रम गर्नु परेको हो ।’ प्रवक्ता जोशीले दूव्र्यसन र कारोवारका हिसावले देशमै दोस्रो अवस्थामा पुगेको कैलाली जिल्लामा लागुऔषध घटाउन प्रहरीको एक्लो प्रयासले मात्रै सम्भव नभएकाले शिक्षक, अभिभावक, औषधि व्यवसायी, नागरिक समाजको सहयोगको अपेक्षा गर्नुभयो । 

पाँच वर्षअघि नेपालमा भएको अध्ययनले नेपालमा एक्ला ३० हजारभन्दा बढी युवाहरु लागुऔषध सेवनमा लागेको पाइएको र अब त्यो संख्या धेरै भएको हुनसक्ने प्रहरीको अनुमान छ । अध्ययनले ८० प्रतिशत युवाले कुलतको सुरूवात गाँजाबाट गर्नेगरेको र पछि बिस्तारै कडा प्रयोग गर्दैजाने गरेको पाइएको छ । यस्ता ९६ प्रतिशत युवाले लागु पदार्थको सेवन साथीबाट सिक्नेगरेका छन्, अधिकांश लागुऔषध औषधिजन्य मिश्रणबाट तयार हुनेगरेको पाइएको छ ।

सरोकारवालाले लागुऔषध प्रयोगकर्तालाई पनि माया गर्ने, उपचार गर्ने, निगरानी र पुनस्र्थापन गर्न जरूरी रहेको सुझाव दिएका छन् । ‘लागुऔषधको शिकार जोपनि हुन सक्छ, म कूलतमा लागेका बेला धेरै हेलाँ गरेका पाएँ, म त सुध्रेर पनि ११ वर्ष यता सामान्य जीवन बिताइरहेको छु, मलाई हेलाँ गर्नेका सन्तान पनि कूलतमा लागेका छन’ लागुऔषधका पूर्व प्रयोगकर्ता कल्पेश कँुवरले भन्नुभयो । 

नागरिक अगुवा भीमराम चपाई लागुऔषधलाई राज्यको कमजोरीका कारण लागेको रोग भएकाले यसमालाई नियन्त्रण गर्न राज्यले दायित्व बढाउनु पर्ने, कूलतमा लागेका युवालाई श्रमसँग जोडेर पुनस्र्थापना गर्नुपर्ने र  सुधार गृहको संख्या घटाउदै जानुपर्ने सुझाव दिनुभयो । टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटाले युवालाई लागुऔषधबाट जोगाउन व्यवसायीले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । 

पछिल्ला वर्षमा प्रहरीले लागुऔषध नियन्त्रण गर्ने लक्ष्य राखेका कारण कैलालीमा दुव्र्यसनी र कारोवारीहरु पक्राउ पर्ने र मुद्दा चलाउनेक्रम बढेको छ । यही संख्याका आधारमा कैलाली काठमाडौंपछि बढी लागुऔषध प्रभावित जिल्ला मानिएको छ ।

कार्यक्रममा नेपाल प्रहरीका अधिकृतहरु, लागुऔषध प्रयोगकर्तालाई राख्ने सुधारगृहका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका पदाधिकारीको सहभागिता थियो । नेपालमा सबै लागुओषध आउने स्रोत खुला सिमाना भएको देश भारत भएकाले सेवनकर्ता नै नेपालका विक्रेता छन भने लागुऔषध खरिदमा ठूलो पैसा भारत गैरहेको छ ।