• ११ मंसिर २०८१, मङ्गलबार

वास्तु बिर्संदा के हुन्छ ?

blog

वास्तुको विषयमा हामी कमै चासो दिन्छौँ । करोडौँ खर्चेर बनाउने घरलाई वास्तुसम्मत मिलाउने कुरामा प्रायः थोरैको मात्र ध्यान पुगेको पाइन्छ । सहरको साँघुरो स्थानमा थोरै जग्गा चर्चेर बनाइने घरलाई वास्तुसम्मत बनाउन सम्भव नहुने तर्क पनि सुनिन्छ । वास्तु मिलाउन धेरै नै जग्गा चाहिन्छ भन्ने भ्रमले लगभग सबैलाई छोएको छ । केहीको तर्क छ– वास्तु भनेको अनावश्यक विषय हो । वास्तुका लागि धेरै नै जग्गा चाहिने हो या जति छ त्यतिमा पनि वास्तुसम्मत निर्माण गर्न सकिन्छ ? वास्तुशास्त्र तर्क गरिए जस्तो अनावश्यक हो या यसको शास्त्रीय मान्यता मात्र नभएर तर्कसङ्गत छ ? वास्तु वास्तवमा के हो त ? वास्तु हाम्रो घरको महत्वपूर्ण पक्ष किन हो त भन्ने विषयमा सामान्य चर्चा यहाँ गरिएको छ । 

पहिलो कुरा वास्तु के हो भनेर बुझ्नु पर्छ । वास्तवमा वास्तु भनेको वस्तु हो । वस्तु कहीँ न कहीँ बसेको हुन्छ । संस्कृतको ‘वस’ धातुबाट वास्तु शब्द तयार भएको हो, जसको अर्थ बस्नु हो या निवास गर्नु हो । सामान्य हिसाबले बुझ्दा प्रकृतिमा भएका वस्तुहरू प्रकृति अनुकूल नै रहोस् भन्ने हो । प्रकृतिका आफ्नै रूप, रङ, आकार र तत्वहरू छन् । निर्माण गर्दा प्रकृतिविरुद्ध नहोस् भन्ने तथ्यगत तर्कसहितको योजना नै वास्तु हो । आधुनिक विज्ञानले तयार गरेको प्राविधिक विधि जस्तै वास्तु प्राकृतिक विधि हो भन्न सकिन्छ । 

आधुनिक विज्ञान अनुसार प्राविधिकले जमिनको नापजाँच गरी क्षमता अनुसारको नक्सा तयार गरी निर्माण गरिन्छ भने वास्तुले प्राकृतिक स्रोत र ऊर्जाको सकारात्मक उपयोग हुने गरी निर्माण गर्नु पर्छ भन्छ । यसरी बुझ्दा प्रकृति आफैँमा स्थायी छ । त्यसले प्रदान गरेका ऊर्जाले समस्त प्राणी जीवित छ । प्राणीका पनि प्रकृतिसँग आआफ्नै सम्बन्ध छन् । माछा, कछुवा, जङ्गली जनावर, पन्छी र मानिसको प्रकृतिसँगको सम्बन्ध र उपयोगिता फरक फरक छ । चर्चा वास्तुको भएकाले हामीले निर्माण गर्ने घरमा प्रकृतिसँगको तारतम्य मिलाउन सक्नु पर्छ भन्ने हो । पञ्चतत्वले बनेको प्रकृतिमा आधुनिक या कृत्रिम निर्माण गर्दा ती तत्वको सहज समागम हुनु पर्छ या हुन सकेमा त्यहाँ बस्ने मानिसको जीवनमा सहजता आउँछ भन्ने वास्तुशास्त्रको तर्क छ । 

सनातन परम्परामा पाञ्चायन देवताको पूजा गर्ने चलन छ । जीवन पञ्चतìवले बनेको छ । ती हुन्– आकाश, वायु, अग्नि, जल र पृथ्वी । आकाश जहाँ वायुको निरन्तर बहाव छ । वायुको घर्षणबाट उत्पन्न अग्नि र चिस्यानबाट निर्मित जलसमेतले पृथ्वी तयार भएको छ । पृथ्वीमा हामी मानवको जीवन चक्र चलिरहेको छ । शरीरमा अधिकांश जल तत्व छ भने वायु, अग्नि र आकाशले सिङ्गो शरीर क्रियाशील छ । त्यसैले शरीरमा प्राण वायुका रूपमा अक्सिजन लिने गरिन्छ । तिर्खा मेटाउन जल ग्रहण गरिन्छ भने तापको सही व्यवस्थापन अग्नि तत्वले गरिरहेको हुन्छ तर यी सबै कुरा वास्तुको सम्बन्धमा कहाँ छ त ? घर निर्माण गर्दा वास्तु मिलाउनैपर्ने आवश्यकता किन भन्ने तर्क आउन सक्छ । 

हामीलाई थाहा नै छ, हाम्रा सम्पूर्ण आवश्यकता यही प्रकृतिले पूरा गरेको छ । प्रकृतिमा भएका स्रोत र साधनको उपयोगबाट हाम्रो जीवन सहज भएको छ । ग्रहण गरिने प्राण वायु यही प्रकृतिले दिएको छ । शरीरको तापको व्यवस्थापन सूर्यको प्रकाश र तापबाट भइरहेको छ । जल यही पृथ्वीमा निःशुल्क उपलब्ध छ । अनि धर्ती छँदै छ । धर्तीमा हामीले आफ्नो घर बनाउँदा त्यो घर बास्नयोग्य छ÷छैन भन्ने जान्नु पर्छ । यो वास्तुशास्त्रको पहिलो तर्क हो । यदि जमिन नै मानव बस्तीका लागि उपयुक्त छैन भने त्यस्तो स्थानमा बस्दा जीवन कठिन हुन्छ । घर निर्माणका लागि पहिलो जमिनका छनोट हो । घर बनाउन योग्य जमिनको छनोटपछि बल्ल त्यहाँ निर्माण गरिने संरचनाको वास्तुसम्मत योजना बन्छ । प्रकृतिको तत्व र स्रोतका आधारमा त्यहाँ निर्माण गरिने घरको वस्तु विनियोजन हुनु पर्छ । प्रकृतिमा सूर्योदय पूर्वबाट हुन्छ । सूर्योदयअघिको समयमा प्रकृतिले शीतको सिर्जना गरेको हुन्छ । जल तत्वका लागि उत्तर र उत्तर–पूर्वको उचित व्यवस्थापन वास्तुसम्मत मानिन्छ । 

सूर्यको सकारात्मक प्रकाश र तेज मध्य दिनमा हुन्छ । त्यसैले पूर्व–दक्षिण क्षेत्रलाई अग्नि तत्वको व्यवस्थापन ऊर्जादायी मानिन्छ । पृथ्वी तत्वको सही व्यवस्थापनका लागि दक्षिण–पश्चिम र वायुको सकारात्मक बहाव तथा स्वच्छताका लागि उत्तर–पश्चिमको क्षेत्रलाई लिइन्छ, जसले घरमा पाँचै तत्वको उचित पहुँच तथा सहजता सिर्जना गर्छ । यसरी पाँच तत्व (आकाश, वायु, अग्नि, जल र पृथ्वी) को उपलब्धता सहज छ भने त्यहाँ बस्दा मानव जीवनमा पनि सहजता आउँछ । वास्तुशास्त्रको मूल मर्म यही हो । यदि गलत दिशामा गलत तìवका वस्तुहरू स्थापित हुन गयो भने त्यसले नकारात्मकता सिर्जना गर्छ । जहाँ नकारात्मक ऊर्जा छ, त्यसको प्रभाव पनि त्यहाँ बस्नेले सहनु पर्छ ।

अब वास्तुको बेवास्ता गर्दा के हुन्छ ? भन्ने तर्कको सामान्य अर्थ हो– हाम्रो शरीरको तत्व र प्रकृतिको तत्वबिचमा तनाव सिर्जना हुन्छ । तनाव धनको हुनसक्छ । तनको हुनसक्छ । सामाजिक जीवनको हुनसक्छ । पारिवारिक जीवनको हुनसक्छ । दाम्पत्य जीवनको हुनसक्छ । शिक्षाको हुनसक्छ । रोजगारीको हुनसक्छ । चोरीको हुनसक्छ । आगलागीको हुनसक्छ । बाढी पहिरोको हुनसक्छ । तनाव त्यहाँ स्थित तत्व र विपरीत तत्वको सङ्घर्षबाट सिर्जना हुने हो । त्यसका लागि घरमा कुन क्षेत्रमा के तत्वले समस्या भोगिरहेको छ, त्यही अनुरूप शरीरका अङ्ग या भौतिक जीवनका अन्य अवयवहरू प्रभावित हुन्छन् । 

स्थान, अवस्था र निर्माण शैलीका आधारमा विभिन्न तìवहरूको अवस्थाले ऊर्जा उत्पन्न गरिरहेको हुन्छ । त्यसको व्यवस्थापन नै वास्तु व्यवस्थापन हो । यदि वास्तुलाई वास्ता नगरी घर निर्माण गरियो भने त्यसले नकारात्मक पक्षको सामना गर्नुपर्ने अवस्था सिर्जना गर्छ । तसर्थ मानव जीवनमा अभाव भइरहेको छ । जस्तो कि धन छ, तन बिग्रिएको छ । सन्तान छन्, ममता छैन । धन, तन र सन्तान ठिक छ तर मन बिग्रिएको छ । यी केही न केही कमी सबैमा हुन्छ तर वास्तुको सही व्यवस्थापनमा ध्यान दिने हो भने ठुलो क्षति हुनबाट जोगिन सकिन्छ भनेर विश्वकर्मा प्रकाश, मयमत, मानसागर, शिल्पशास्त्र जस्ता ग्रन्थले मार्ग निर्देश गरेका छन् । 

  

Author

भरतमणि ज्ञवाली