• २० वैशाख २०८१, बिहिबार

प्रधानमन्त्री कप छनोट प्रतियोगिताको उपाधि दाङलाई

blog

बिजेता जिल्ला दाङले उपाधि ग्रहण गर्दै । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, मङ्सिर २९ गते । प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला टि–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधि दाङले जितेको छ । दाङको घोराही उपमहानगरपालिका –१७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भएको फाइनल खेलमा रुपन्देहीलाई ७ विकेटले पराजित गर्दै दाङले उपाधि जितेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले १९ ओभारको समाप्तिमा सवै विकेट गुमाउदै ७८ रनमा समेटिएको थियो । सुरुवाती दवाबमा परेको रुपन्देहीका लागि आश्मा पुल्मी मगर र आँचल रेश्मी मगरबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । 

उक्त खेलमा आश्मा पुल्मी मगरले सर्वाधिक  १६ रन, आँचल रेश्मी मगरले १४ रन, सुस्मिता भुषाल र सरु तिवारीले समान ७–७ रन, श्रुति बुढाथोकीले ६, कृति अधिकारीले ४ रन, कृतिका मरासिनी र सन्ध्या चपागाईले समान ३–३ रन, एन्जी पाठकले २ रन र रेश्मी गैरेले १ रन जोड्न सफल हुनुभएको थियो । 

रुपन्देहीलाई सस्तैमा समेट्न दाङकी सर्मिला रोकाले सर्वाधिक ३ विकेट, अनिता चौधरी र मधु डिसीले २–२ विकेट र सरस्वती जिएम र कमला जिएमले समान १–१ विकेट लिनुभएको थियो । ७९ रनको बिजयी लक्ष्यका साथ जबाफी ब्याटिङ गरेको दाङले ११ दशमलव २ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाउन सफल भएको छ । दाङलाई उपाधि दिलाउनका लागि लक्ष्मी चौधरीले सर्वाधिक २८ रनको योगदान दिनुभयो । त्यसैगरी कमला जिएमले ९ रन, सरस्वती जिएमले ८ रन, मधु डिसीले ३ रन र अनिता चौधरीले २ रनको योगदान दिनुभएको थियो । 

खेलमा उत्कृष्ट प्रदर्शन गर्ने दाङकी शर्मिला रोकामगर म्यान अफ द म्याच हुनुभएको थियो । प्रतियोगिताका विजेता र उपविजेता टिमलाई शिल्ड, प्रमाणपत्र प्रदान गर्दै घोराही उपमहानगरपालिका नगर उपप्रमुख हुमा डिसीले खेलक्षेत्रमा महिलाको सहभागीता उत्साहजनक रहेको भन्दै महिला सहभागीता बढाउन खेल पूर्वाधारसँगै क्षमता विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । 

छनौट प्रतियोगितामा सहभागी खेलाडीमध्ये उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीबाट प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय महिला टिम छनोट गरिने क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव तथा छनोट समितिका संयोजक कैलाश रोकामगरले जानकारी दिनुभयो । मंसिरको २५ गतेदेखि सुरु भएको छनोट प्रतियोगितामा बर्दिया, बाँके, दाङ, पाल्पा, रुपन्देही र पश्चिम नवलपरासी जिल्लाको टिमको सहभागीता रहेको थियो ।