• २ मंसिर २०८१, आइतबार

हुम्लामा कतै आगो तापेर र कतै घाममा बसेर पढ्दै विद्यार्थी

blog

कक्षाकोठामै आगो बालेर बसेका विद्यार्थी। तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, मङ्सिर २९ गते। चिसो बढेसँगै हुम्ला जिल्लाको पढाइ प्रभावित हुन थालेको छ।  जिल्लाका अधिकांश विद्यालयले पठनपाठन कक्षाकोठामै आगो बालेर वा बाहिर घाममा बसेर गर्न थालेका छन्।  

सिमकोट गाउँपालिका–८ को स्याँडाका वडा अध्यक्ष कमल बुढाले विद्यार्थी र शिक्षकलाई चिसोबाट बचाउन कक्षाकोठा बाहिर पठनपाठन गर्नु परेको बताउनुभयो।   उहाँले सबै कक्षा दिउँसो एक बजेपछि घाममा सञ्चालन गरिरहेको जानकारी दिनुभयो।  विद्यार्थीले डेक्स बेन्चहरु बाहिरै ल्याएर अध्ययन गरिरहेका छन्।  कक्षाकोठामा शिक्षकलाई बोर्डमा लेख्न र विद्यार्थीहरुलाई कापीमा सार्न कठिन भएपछि घाममा पठनपाठ गरिरहेको उहाँको भनाइ छ।  

यता बलभद्र माद्यामिक विद्यालयका प्रधानाध्यापक प्रेमकला बुढाले दिउँसो १२ बजेपछि विद्यालयमा घाम अस्ताउने भएकाले आगो बालेर पढाइ सञ्चालन गरिहरको बताउनुभयो।  

खार्पुनाथ गाउँपालिका–५ को वागेश्वरी माविको कक्षा ६ मा अध्ययनरत छात्रा जानकी बुमीले कक्षामा चिसोको कारण पढ्न कठिन हुने भएकोले विद्यालयको हातामा पढ्नु परिरहेको बताउनुभयो।  

हिउदको समयमा उक्त विद्यालयमा बिहान ११ बजे लाग्ने घाम १२ बजे नै अस्ताउने गर्छ।  अभिभावकले विद्यालयमा पठाएको दाउराबाट आगो बालेर अध्ययन गरिरहेको उहाँको भनाइ छ।  

बिहीबार र शुक्रबार हुम्लाको न्युनतम तापक्रम माइनसमा झरेको छ।  चिसो बढेपछि विद्यालयले कतै घाममा त कतै आगो बालेर पढाउने गरेका हुन्।  


बाहिर पठनपाठन गर्दै सैपाल हिमाल माविमा अध्ययनरत छात्रछात्रा।