काठमाडौं, मङ्सिर २८ गते । सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । बिहीबार सङ्घीय संसद् सचिवालयद्वारा १७ औँ सङ्घीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो ।
सभामुखले संसद्को गरिमा कायम राख्दै संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले संसद्को सन्दर्भमा विगतमा भएका विडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभूतिहरूलाई आफूले गम्भीरताका साथ लिएको बताउनुभयो ।
उहाँले संसद्को गरिमालाई उच्च राख्नका सङ्घीय संसद् सचिवालयले संविधानले व्यवस्था गरे अनुरूपको काम गर्नुपर्ने बताउनु भयो । उहाँले संसद्लाई प्रभावकारी बनाउन सबैले आ–आफ्नो ठाउँबाट दायित्व र जिम्मेवारीहरू पूरा गर्नुपर्ने भनाइ व्यक्त गर्नुभयो । उहाँले आर्थिक अवस्था कमजोर हुँदा सङ्घीय संसद् सचिवालयले चाहेजस्तो काम गर्न नसकेकोतर्फ इंकित गर्दै मुख्य समस्या आर्थिक समस्या मात्रै नभएको उल्लेख गर्नुभयो ।
सभामुख घिमिरेले सङ्घीय संसद् सचिवालयका कर्मचारीहरूले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई सहयोग पुर्याउनुपर्ने पनि बताउनुभयो ।