• १५ मंसिर २०८१, शनिबार

राडारगनको प्रयोगले दुर्घटनामा कमी

blog

बाँकेको कोहलपुरमा राडार गनबाट सवारीको गन मापन गरिँदै । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा
बाँके, मङ्सिर २८ गते । 
बाँकेको मुख्य दुई सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधनको गति मापनका लागि राडारगनको प्रयोग गर्न थालिएपछि सवारी दुर्घटनामा कमी आएको छ । तर लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयसँग एउटा मात्रै राडारगन भएकाले जिल्लाहरूमा पालैपालो मात्र यसको प्रयोग हुने गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले राडारगनको प्रयोग हुन थालेपछि दुर्घटनामा कमी भएको पाइएको बताउनुभयो ।

प्रहरी निरीक्षक सुवेदीले भन्नुभयो, ‘‘राडारगनको प्रयोगसँगै तीव्र गतिमा सवारी चलाउनेलाई जरिबानासँगै सचेत समेत गर्ने गरेका छौँ ।’’

कोहलपुर नेपालगन्ज सडकखण्डको कोहलपुर र पूर्वपश्चिम राजमार्गको शम्शेरगञ्जमा ट्राफिक प्रहरीले राडारगनको प्रयोग गरी सवारी साधनको गति मापन गर्ने गरेको छ । नेपालगन्ज कोहलपुर सडकखण्डमा प्रति घण्टा ४० किलो मिटर र राजमार्गमा निकुञ्जबाहेकको क्षेत्रमा ६० प्रति घण्टा गति निर्धारण गरिएको छ । प्रारम्भिक चरणमा भएकाले कोहलपुरमा समेत प्रति घण्टा ६० किलोमिटरको दूरीसम्मलाई मानिएको छ । तीव्रगतिमा चलाउनेहरूले जानकारी नभएको लगायतका गुनासा गर्ने गरेको भन्दै प्रहरीले एक स्थानमा निर्धारण गरिएको गति अर्को सङ्केत नआउँदासम्म कायम रहने भएकाले ख्याल गर्न अनुरोध समेत गरेको छ । तीव्र गतिमा सवारी चलाउनेलाई पाँच सयदेखि एक हजार पाँच सय रुपियाँसम्म जरिवाना गर्ने गरिएको छ ।

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि बाटो प्रयोग कर्ता, चालक तथा सह–चालक, विद्यार्थी, सर्वसाधारणहरूलाई ट्राफिक नियम, सवारी दुर्घटना, सवारी दुर्घटना न्यूनीकरण उपायहरूका विषयमा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।