• २२ असार २०८२, आइतबार

तालको प्रचारप्रसार गर्न सांस्कृतिक महोत्सव सुरु

blog

८२ बिघामा फैलिएको जिल्लाकै ठूलो गैडहवा ताल । तस्बिरः छविलाल पाण्डे

छविलाल पाण्डे
बुटवल, मङ्सिर २८ गते ।
लुम्बिनीको नजिक भएर पनि ओझेलमा परेको रुपन्देही जिल्लाकै ठूलो गैडहवा तालको प्रचारप्रसार गर्ने उद्देश्यले सांस्कृतिक महोत्सव सुरु भएको छ ।

गैडहवा गाउँपालिकाले प्रचारप्रसारको अभावमा जिल्लाकै ठूलो ताल ओझेलमा परेको बताउँदै तालको प्रचारप्रसारमा सहयोग पुर्‍याउने उद्देश्यले सांस्कृतिक महोत्सव गरिएको जनाएको छ ।

पालिकाले लुम्बिनीको नजिकै रहेको तालमा लुम्बिनी आउने पर्यटक ल्याउन सके तालको विकासमा सहयोग पुग्ने भन्दै सांस्कृतिक महोत्सव गरिएको जनाएको छ ।

८२ बिघा क्षेत्रफलमा फैलिएको गैडहवा ताल जिल्लाकै सबैभन्दा ठूलो ताल हो भने तालमा चिसो मौसममा हिमाली भेगबाट हजारौं चरा आउने गर्दछन् ।

तालको प्रचारप्रसार गर्ने उद्देश्यले सांस्कृतिक महोत्सवसँगै ताल परिसरमै बुधबारदेखि दोस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप ‘बी’ लेभल खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ ।

स्थानीय शान्ति युवा क्लबले गाउँपालिकासँगको सहकार्यमा सांस्कृतिक महोत्सव र  प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिता तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडलले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग जोडिएको गैडहवा तालको विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रतियोगिता तथा सांस्कृतिक महोत्सव आयोजना गरिएको बताउनुभयो ।

उहाँले जिल्लाकै ठूलो ताल गैडहवामा हजारौं प्रजातिका चराहरु आउने गरेको बताउँदै तालको विकास गर्नेगरी गाउँपालिकाले विभिन्न कार्यक्रम अघि बढाएको बताउनु भयो ।

अध्यक्ष पौडेलले लुम्बिनीसँग गैडहवालाई जोड्न यहाँका पर्यटकीय क्षेत्रमा भौतिक संरचनाको विकास, नागरिकमा सीप विकास गरी होमस्टे सञ्चालनको तयारी तथा सम्भाव्यताको अध्ययन गरी पर्यटकीय स्थलहरु थप गर्ने गरी पालिकाले काम अघि बढाएको बताउनुभयो ।

यसैगरी कार्यक्रममा गैडहवा गाउँपालिकाका निवर्तमान अध्यक्ष बच्चुलाल केवटले गाउँपालिकाको प्रोत्साहनमा क्लवले आयोजना गरेको प्रतियोगिता र सांस्कृतिक महोत्सवले समग्र गैडहवाको विकास र प्रचार प्रसारमा योगदान पुग्ने बताउनुभयो ।

कञ्चन गाउँपालिका वडा नंं ४ का वडा अध्यक्ष सुरेन्द्रसिंह कुर्मीले गैडहवा तालको विकासमात्र नभै समग्र गैडहवा क्षेत्रकै पर्यटन विकासमा प्रतियोगिता र महोत्सवले उत्साह थपेको बताउनुभयो ।     

भलिबल प्रतियोगिताको विजेताले प्रथम पुरस्कार ७५ हजार नगद राशीसहित ट्रफी, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक यमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी उपविजेताले ५० हजार, तेस्रो हुने समूहले ३० हजार तथा सान्त्वता हुने समूहले २० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिता सम्पन्न गर्न आठ लाख खर्च गरिने अनुमान गरिएको छ ।