काठमाडौँ, मङ्सिर २८ गते । मानव सेवा आश्रमले हेटौँडा-९ लामसुरेधापमा आफ्नै भवन निर्माण गरेको छ । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर सहयोगापेक्षीको आश्रय र सेवाका क्षेत्रमा काम गर्दै आएको संस्थाले करिब १४ करोड लागतमा भवन निर्माण गरेको छ ।
सो भवनको यही मङ्सिर ३० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने कार्यक्रम छ । संस्थाका अनुसार भवन निर्माणका लागि गत आर्थिक वर्ष २०७९÷८० सम्म १३ करोड ८१ लाख ६६ हजार पाँच सय ८० खर्च भएको छ । भवन निर्माणका लागि हालसम्म विभिन्न सरकारी निकायबाट एक करोड १७ लाख ७३ हजार पाँच सय ७० र चन्दा सङ्कलनबाट ११ करोड ९१ लाख २६ हजार ९६० प्राप्त भएको संस्थाको भनाइ छ ।
भवनको पूर्णताका लागि महजात्रा, श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञलगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । महिला, पुरुष, बालबालिका, अशक्त र वृद्धवृद्धालाई छुट्टाछुट्टै राखेर सहयोगापेक्षी मैत्री सेवा प्रवाह गर्दै आइरहेको मानव सेवा आश्रमले दिगो सञ्चालनका लागि गाईपालन, अर्ग्यानिक तरकारी र फलफूल खेती गर्दै आएको छ ।
फलफूल र दूधमा आत्मनिर्भर बन्दै गइरहेको मानवसेवा आश्रम मुख्य सेवा केन्द्र हेटौँडाले दुई सय ५० जना मान्छे र एक दर्जनभन्दा बढी गाइवस्तुको मलमूत्रलाई खाना पकाउने इन्धनमा रुपान्तरण गरेको छ । संस्थाका विभिन्न १९ जिल्लामा आफ्नै भवन निर्माण सुरु गरिसकेको छ । संस्थाले चितवन, पोखरा, गोरखा र बागलुङमा चालु आवभित्रै भवन निर्माण सकिने जनाएको छ । रासस