• २७ वैशाख २०८२, शनिबार

कृषि क्षेत्रको विकास प्रदेश सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ

blog

दोलखाको मेलुङ गाउँपालिका–६ मा रहेको साना किसान सहकारीको १२ औँ साधारण सभालाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका कृषि तथा पशुपन्क्षी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठ । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट, मङ्सिर २८ गते । बागमती प्रदेशका कृषि तथा पशुपन्क्षी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले कृषि क्षेत्रको विकासमा प्रदेश सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभएको छ । दोलखाको मेलुङ गाउँपालिका–६ मा रहेको साना किसान सहकारीको १२ औँ साधारण सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले सो कुरा बताउनुभयो ।

मन्त्री श्रेष्ठले साना किसानलाई कृषि क्षेत्रमा अग्रसर गराउन साना किसान सहकारीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुहुँदै सहकारीको काम प्रशंसनीय रहेको बताउनु भयो ।

देशको आर्थिक विकास गर्न कृषिमा परिवर्तन नगरी सम्भव नहुने कुरामा जोड दिनुभयो । कृषि उत्पादनमा वृद्धि, घरेलु तथा साना उद्योगको विकास तथा स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने कुरामा स्थानीय पालिकाहरूसँगै सबै क्षेत्रको सहभागिता आवश्यक रहने उहाँको भनाइ छ ।

गाउँपालिका अध्यक्ष हिराकुमार तामाङले कृषि तथा पशुपालनको क्षेत्रलाई उत्पादन मूलक र रोजगारी मूलक बनाउने कुरामा पालिकाको पूर्ण सहयोग रहेको बताउनुहुँदै उहाँले किसानहरूलाई पालिकाको तर्फबाट आवश्यक कृषि प्रविधि, प्राविधिक सहयोग र बिउँ– विजनहरू समेत उपलब्ध गराउँदै आएको बताउनुभयो ।

विगत ११ वर्षदेखि दोलखाको मेलुङ, शैलुङ र तामाकोसी गाउँपालिका कार्यक्षेत्र बनाई युवाहरूलाई स्वरोजगार बनाउन, स्थानीय कृषि व्यवस्था परिवर्तन गर्न, उन्नत जानका पशुपालन तथा नस्ल सुधार गर्न तथा ग्रामीण अर्थ व्यवस्था परिवर्तन गर्न गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेडले महत्त्वपूर्ण भूमिका खेल्दै आएको अध्यक्ष श्रीराज पोखरेलले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा साना उद्योग, व्यवसाय र कृषि उत्पादनमा वृद्धि जस्ता कुरालाई प्राथमिकता दिँदै संस्थाले १४ प्रतिशत ब्याजदरमा १२ लाखसम्म व्यावसायिक तथा लघुउद्यम कर्जा, नौ प्रतिशत ब्याजदरमा पाँच लाखसम्म पशु कर्जा, पाँच प्रतिशत ब्याजदरमा ५० हजारसम्म जीविकोपार्जन कर्जा, नौ प्रतिशत ब्याजदरमा दुई लाखसम्म तरकारी खेती कर्जा, तीन प्रतिशत ब्याजदरमा पाँच लाखसम्म बागमती प्रदेश सहुलियत कर्जा, आठ प्रतिशत ब्याजदरमा दुईलाखसम्म युवा स्वरोजगार कर्जा, १० प्रतिशत ब्याजदरमा ५० लाखसम्म ग्रामीण स्वावलम्बन कर्जा र निर्ब्याजी ५० हजारसम्म उपचार खर्च कर्जा उपलब्ध गराउँदै आएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

सहकारीले गत वर्ष १८ जना सदस्यलाई इजरायलमा कृषि सम्बन्धी तालिमका लागि पठाएको अध्यक्ष पोखरेलले बताउनु भयो । इजरायल–गाजा युद्धका कारण यो वर्ष भने तालिमका लागि पठाउन नसकिएको सहकारीले जनाएको छ । कृषकहरूसँग प्रत्यक्ष सरोकार राख्दै बचत, ऋण प्रवाहको अलवा स्वरोजगारमूलक तालिम, बिउँ–विजन वितरण, कृषि प्रविधि सहयोग लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको सहकारीले जनाएको छ ।