• ३१ वैशाख २०८२, बुधबार

भूकम्पपीडितलाई गोरखापत्र संस्थानको ६ लाख ८७ हजार सहयोग

blog

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई गोरखापत्र संस्थानको तर्फबाट सहयोग रकम हस्तान्तरण गर्नुहुँदै संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २७ गते।  जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित परिवारका लागि गोरखापत्र संस्थानले छ लाख ८७ हजार ११३ रुपियाँ आर्थिक सहयोग गरेको छ।  

संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो।  आर्थिक सहयोग ग्रहण गर्नुहुँदै मन्त्री शर्माले सहयोग रकम भूकम्प प्रभावित क्षेत्रमा व्यवस्थित वस्ती विकासका लागि खर्च गरिने बताउनुभयो।  

उहाँले भन्नुभयो, “मङ्सिर महिनाभित्र सबैलाई अस्थायी टहराभित्र ल्याउने गरी काम भइरहेको छ।  व्यवस्थित वस्ती विकासका लागि सरकारले १० अर्ब रुपियाँको कोष निर्माण गरेको छ।  एक वर्षमा व्यवस्थित वस्ती विकास गर्ने सरकारको योजना छ। ”

भूकम्पबाट ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै मन्त्री शर्माले भन्नुभयो, “हामी व्यवस्थित वस्ती विकास गर्छौं, यसलाई अवसरमा बदल्न जरुरी छ।  आर्थिकभन्दा पनि भावनात्मक सहयोग ठूलो हो।  तपाईंहरुले जुन सहयोग गर्नुभएको छ, त्यसका लागि धन्यवाद। ”

मन्त्री शर्माले व्यवस्थित वस्ती विकासका लागि गठन भएको कोषमा सहयोग जुटाउन सबैलाई अपिल गर्नुभयो।  साथै, गोरखापत्रको निरन्तरता र जनताको पक्षमा सही सूचना प्रवाहका लागि निर्देशनसमेत दिनुभयो।  

जाजरकोटमा भूकम्प गएलगत्तै १२ घण्टाभित्रै उद्धारको काम गरिएको र दुई दिनभित्र सबैलाई अस्पतालमा पुर्‍याएर उपचार गरेको उहाँले बताउनुभयो।  मन्त्री शर्माले वर्तमान सरकारले तदारुकताका साथ राहत र वस्ती निर्माणका लागि काम गरिरहेको बताउनुभयो।  

आर्थिक सहयोग हस्तान्तरणको अवसरमा संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले भूकम्प प्रभावित नागरिकका लागि सहयोग गर्ने सरकारको निर्णयअनुसार संस्थानले सहयोग गरेको बताउनुभयो।  गोरखापत्रको निरन्तरता र विकासका लागि सरकारले देखाएको सद्भावप्रति अध्यक्ष सुवेदीले आभार व्यक्त गर्नुभयो। 

आर्थिक सहयोग हस्तान्तरणमा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, सल्लाहकार सम्पादक उपेश महर्जन, गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, राइजिङ नेपालका प्रधान सम्पादक भिमसेन थपलिया, प्रशासन विभाग प्रमुख भगिरथ बस्नेत, लेखा विभाग प्रमुख राजु महत, कर्मचारी प्रशासन शाखाका प्रमुख विमला घिमिरेलगायतको उपस्थिति थियो।  

भूकम्प पीडित परिवारका लागि गोरखापत्रलगायतका सरकारी सञ्चार माध्यमले आर्थिक सहयोग गरेको सञ्चारविज्ञ नरेन्द्र केसीले गोरखापत्रलाई जानकारी दिनुभयो।  उहाँका अनुसार रेडियो नेपालले नौ लाख ७१ हजार रुपियाँ, नेपाल टेलिभिजनले ६ लाख ७६ हजार, राष्ट्रिय समाचार समितिले दुई लाख पचास हजार रुपियाँ आर्थिक सहयोग गरेका छन्।