काठमाडौं, मङ्सिर २७ गते। नेपाली कांग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकालाई उम्मेदवार बनाउनुपर्ने बताउनुभएको छ।
बुधबार काठमाडौंमा नेता डा. शेखर कोइराला-महामन्त्री गगनकुमार थापा समूहको बैठकमा सहभागी भइ बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले राष्ट्रिय सभाको विषय पनि एजेण्डाको रुपमा आएको र न्यायोचित व्यवस्थापन हुनुपर्ने आवाज उठेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय सभाको विषय पनि एजेण्डाको रुपमा आएको छ। त्यसमा न्यायोचित हुनुपर्छ, घरिघरि अवसर पाउनेले नै अवसर पाउनु हुन्न भन्ने आवाज उठिरहेको छ। सारभूत रुपमा पार्टी एक छ। महासमिति बैठक आधिकारिक रुपमा सार्ने भन्नेकुरा आएको छैन। महासमितिमा केके एजेण्डामा छलफल गर्न सकिन्छ भनेर बैठक बसेका हौँ ।’’
उपसभापति गुरुङले महासमिति बैठक आधिकारिक रुपमा सार्ने कुरा पार्टीबाट नभएको बताउनुभयो।