• ३१ वैशाख २०८३, बिहिबार

पहिचान पक्षधरको रिहाइ गर्न माग

blog

काठमाडौं, २७ मङ्सिर।  खोटाङ, भोजपुर र झापाबाट पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँतीसहित पहिचान पक्षधर नेता कार्यकर्ताको रिहाइ गर्न राज्य पक्षसँग माग गरिएको छ। नेपाल आदिवासी जनजाति महासङ्घ लगायतका पहिचान पक्षधर सङ्घ संस्थाले बुधबार संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै अभियन्तालाई बिना सर्त रिहा गर्न माग गरेका हुन्।  

कोशी प्रदेश नामाङ्कन खारेजीको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा रहेका पहिचान पक्षधर अभियन्तालाई कोशी प्रदेशका खोटाङ, भोजपुर र झापाबाट पक्राउ परेका हुन्।  

शान्तिपूर्ण ढङ्गले आफ्ना माग राख्न पाउने लोकतान्त्रिक राज्य व्यवस्थामा जनताको नैसर्गिक अधिकार भएको भन्दै विज्ञप्तिमा पहिचान पक्षधरको आन्दोलन कुनै दल, धर्म र जाति, समुदाय लक्षित नभएको र भविष्यसम्म पनि नहुने स्पष्ट पारिएको छ।  

गैरकानुनी ढङ्गबाट गिरफ्तार गरिएका सबै पहिचान पक्षधर अभियन्तालाई विना सर्त अविलम्ब रिहाइ गर्न र समाजमा जातीय द्वन्द्व भड्किन सक्ने खतराप्रति समेत सचेत रहन विज्ञप्तिमा भनिएको छ।