ढाका, मङ्सिर २७ गते । बङ्गलादेशको राजधानी ढाकाको बाहिरी भागस्थित गाजापुरीमा बुधबार रेल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
स्थानीय समय अनुसार बुधबार बिहान ४ बजे भएको दुर्घटनामा करिब आठ जना घाइते भएको स्थानीय जोयदेबपुर रेलवे स्टेसनका प्रमुख हनिफ अलीले बताउनुभयो ।
उहाँका अनुसार ‘इन्जिनसहित रेलका सातवटा ‘बोगी’ लिकबाट बाहिरिएपछि एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
रेल दुर्घटनाका कारण राजधानी ढाकाबाट देशका अन्य भागहरूमा घण्टौँसम्म रेल सेवा अवरुद्ध भएको थियो ।
विपक्षीहरूको आन्दोलनका कारण गाजीपुरमा रेलवेको तोडफोड तथा कटान गरिदिएपछि रेल पटरीबाट खसेको अधिकारीहरूले बताएका छन् ।
विपक्षी आन्दोलनले ढाका लगायत दक्षिण एसियाली देशमा अक्टोबरको अन्त्यदेखि लगभग हरेक दिन प्रहरी–मजदुर झडप तथा सवारीसाधनमा तोडफोड र आगजनीका घटना भइरहेका छन् ।
बङ्गलादेशको प्रमुख प्रतिपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) तथा सहयोगीले निर्वाचन आयोगले देशको १२ औँ संसदीय निर्वाचनको कार्यतालिका घोषणा गरेपछि मङ्गलबार बिहानदेखि ३६ घण्टाका लागि देशव्यापी सडक, रेलमार्ग र जलमार्ग अवरुद्ध गरेको छ ।
विपक्षी दलहरूले असोज अन्तिमदेखि आह्वान गरेको यो ११ औँ चरणको विरोधको कार्यक्रम (अवरोध) हो । रासस/सिन्ह्वा