• १६ असार २०८१, आइतबार

झुलाघाट चिवाभञ्ज्याङ यात्रा अवरोध नगर्न एमालेको आग्रह

blog

झुलाघाट चिवाभञ्ज्याङ यात्राका सन्दर्भमा जानकारी दिन एमाले पाँचथरद्वारा आयोजित पत्रकार सम्मेलनमा एमाले नेताहरु । तस्बिर : राधा लुइँटेल

राधा लुइटेल

फिदिम, मङ्सिर २७ गते । नेपाल कम्युनिष्ट पार्टी एमालेले सुरु गरेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रामा अवरोध नगर्न पहिचान पक्षधर नेता कार्यकर्तासँग आग्रह गरेको छ।

बुधबार फिदिममा पत्रकार सम्मेलन आयोजना गर्दै एमालेले यो यात्रा कुनै समूह, पार्टि र सङ्गठन विरुद्ध नभएर देशमा विद्यमान समस्याको पहिचानसँगै समाधानको कोशिस गर्ने अभियान भएकाले अवरोध नगर्न आग्रह गरेको हो । मङ्सिर १४ गते बैतडीको झुलाघाटदेखि सुरु भएको यात्रा मङ्गलबार ६ वटा प्रदेश यात्रा सम्पन्न गर्दै कोशी प्रदेशमा प्रवेश गरेको छ ।

प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले नेकपा एमालेको नेतृत्वमा रहेको तत्कालीन प्रदेश सरकारले जबरजस्ती प्रदेश सभामार्फत ‘कोशी’ नामकरण गरेको भन्दै चरणबद्व आन्दोलन गर्दै आएको छ । यसैबिच पहिचान पक्षधरहरुले एमालेको झुलाघाट-चिवाभञ्ज्याङ यात्रा यस प्रदेशमा प्रवेश गरेपछि मध्यपहाडी लोकमार्ग बन्दको आह्वान गरिरहेका बखत एमालेले पत्रकार सम्मेलनमार्फत यात्रामा सहयोग गर्न पहिचान पक्षधरसँगै सबै दलसँग आग्रह गरेको हो ।

"यात्राका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित सिङ्गो केन्द्रीय नेतृत्व र भ्रातृ भगिनी सङ्गठनको उपस्थिति छ, यो क्रममा हामी पार्टी अध्यक्ष ओली स्वयंले तपाई पहिचान पक्षधर आन्दोलनकारीसँग खुल्ला छलफल गर्ने तत्परता देखाउनु भएकाले बन्द हड्ताल नगरी छलफलमा आउन आग्रह गर्छौं," एमाले केन्द्रीय सदस्य तथा सङ्घीय सांसद वसन्तकुमार नेम्वाङले भन्नुभयो ।

एमालेले मङ्सिर १४ मा सुरु गरेको अभियान पुस १ गते मध्यान्ह मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दुका रुपमा स्थापित चिवाभञ्ज्याङमा पुगेर समापन गर्ने तालिका छ । यात्राका क्रममा रहेका एमाले अध्यक्ष ओली ३० गते तेह्रथुम हुँदै पाँचथर प्रवेश गर्दै हुनुहुन्छ । ओलीले ३० गते सदरमुकाम फिदिम तथा पुस १ गते याङवरक गाउँपालिका थर्पु, याङवरककै व्यापारिक नाका च्याङथापु र सिक्किमसँगको सिमानामा अवस्थित मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु चिवाभञ्ज्याङमा सम्बोधन गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुहुने पनि केन्द्रीय सदस्य नेम्वाङले बताउनुभयो ।