चाँदनी आचार्य
घोडाघोडी (कैलाली) मङ्सिर २७ गते । घोडाघोडी नगरपालिका वडा नम्बर १ हिम्मतपुर मुक्त कमैया शिविरका ३३ वर्षीय अपाङ्ग छविलाल चौधरीकी श्रीमतीलाई एकाएक सिकलसेल एनिमिया बिरामले च्यापेपछि परिवारको बिचल्ली भएको छ ।
हातमा सीप र श्रीमतीको साथ पाएपछि ह्विलचियरको सहायताले घरमै सानोतिनो व्यवसाय गर्दै आएको विपन्न चौधरीको परिवारमा एकाएक सिकलसेलका कारण गरी खाने अभिभावक नै थला परेपछि छविलाललाई औषधि उपचारसँगै परिवार कसरी पाल्ने भन्ने चिन्ताले गिजोलेको छ ।ं
छविलालको ३२ वर्षीया ताराकुमारी चौधरीलाई खुट्टा दुख्न थालेको एकवर्ष भएको थियो । नसाको समस्या होला भन्ने सोचेर विशेषज्ञसँग जाँच नगरी औषधि सेवन गर्दै आएको ताराले बताउनुभयो ।
एकाएक खुट्टा टेक्नै नमिलेपछि तारालाई सुखडमा रहेको घोडाघोडी अस्पतालमा भर्ना गरियो । परीक्षण पछि तारालाई सिकलसेल पोजेटिभ देखिएको छ । लौरोको सहायताले भित्रबाहिर गर्ने ताराले रुँदै भन्नुभयो “एकवर्ष जति भयो खुट्टा दुख्न थालेको, कहिले मेडिकल,कहिले थेरापीमा जान्थे, धेरै दुख्न थालेपछि सिएस् अस्पतालमा एक्स-रे गरे,एक्स-रे रिपोट स्वास्थ्य चौकीका डाक्टरलाई देखाउँदा उहाँले जटिल समस्या छ घोडाघोडी अस्पताल जान सुझाव दिनुभयो ।”
मङ्सिर २४ गते घोडाघोडी अस्पतालमा सिकलसेल परीक्षण गर्दा पोजेटिभ देखिएपछि ताराको चार दिनसम्म अस्पताल भर्ना गरेर उपचार भयो । पहिलै शारीरिक अशक्त ताराको सिकलसेलकै कारण जोर्नी दुःखाइको समस्या भएको चिकित्सकले बताएको छविलालले बताउनुभयो । ताराको हिपज्वन्टको हड्डीको अप्रेसन गर्नुपर्ने र त्यसको लागि काठमाडौँ जानुपर्ने भएपछि अहिले छविलाललाई आर्थिक जोहोको चिन्ताले सताएको छ ।
मुक्त कमैया शिविरको जीवन, दिनभर ज्याला मजदुरी नगरे साँझ बिहान छाक नटर्ने बाध्यता, ममफली बेचेर, बेत बाँसका सामाग्री बनाएर, च्याउ खेती गरेर जसोतसो परिवारको गर्जो टार्ने गरेका छविलाल र ताराले नसोचेको बिरामले च्यापेपछि सहयोग माग्ने बाहेक अरू विकल्प नरहेको बताउनुभयो ।
२०७० सालमा विवाह गरेको उहाँको परिवारमा एउटा छोरा छ । सिलाइ कटाइ तालिम लिँदा एक अर्काले मन पराए पछि विवाह गरेको यो जोडीले मिलीजुली गरेको कार्य समाजका लागि उदाहरणीय प्रेरणादायी रहेको स्थानीय बताउँछन् ।
ताराको सिकलसेल परीक्षणमा संलग्न घोडाघोडी अस्पतालका चिकित्सक मोहम्मद अन्स सेखले शङ्का लागेर सिकलसेल परीक्षण गराउँदा पोजेटिभ रिपोट आएको जानकारी दिनुभयो । जनजाति समुदायमा देखिने वंशाणु्गत सिकलसेलका कारण जोर्नीहरू दुख्ने, रगत अल्पता, मेरुदण्ड तथा करङ धेरै दुख्ने, कलेजो सुन्निने श्वासप्रश्वासमा समस्या लगायतका लक्षण देखिने बताउँदै डाक्टर सेखले तारालाई सिकलसेलको सामान्य लक्षण देखिएको र पहिलै शारीरिक अशक्तका कारण हिपज्वान्टको हड्डी घिसिएकोले अप्रेसन गर्नुपर्ने बताउनुभयो । सिकलसेल दुई प्रकारको रहने जनाउँदै डाक्टर सेखले तारालाई सामान्य लक्षणवाला सिकलसेल भएकोले उहाँले सरकारबाट पाउने निःशुल्क उपचार सुविधा समेत नपाउने बताउनुभयो ।
ताराको हिपज्वाइन्टको अप्रेसन यता सम्भव नहुने भएपछि काठमाडौँ या नेपालगन्ज लैजान सुझाव दिएको डाक्टर सेखले बताउनुभयो ।
सिकलसेल परीक्षणको सुविधा भएको घोडाघोडी अस्पतालमा दुई सयदेखि तीन सय जना सिकलसेलका बिरामीले नियमित औषधि सेवन तथा परीक्षण गराउने गरेको डाक्टर सेखले जानकारी दिनुभयो ।