• १६ असार २०८१, आइतबार

एउटा मान्छेलाई ढुङ्गाले हानेर पहिचान स्थापित हुन्न : मुख्यमन्त्री कार्की

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ।

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर २६ गते।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा मान्छेलाई खेदेर वा ढुङ्गाले हानेर कोही पनि पहिचानवादी बन्न नसक्ने र पहिचान स्थापित नहुने बताउनुभएको छ।  उहाँले जातजाति, भाषाभाषी, संस्कृति, रीतिरिवाजको संरक्षण र संवर्द्धन गर्दै पहिचानलाई स्थापित गर्न सकिने भएकाले यसतर्फ लाग्न आग्रहसहित यस्तो बताउनुभएको हो। 

दमक नगरपालिकाले मङ्गलबारदेखि सुरु गरेको लागूऔषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो।  पहिचानवादी बताउने समूहले उहाँ कार्यक्रममा आउने क्रममा दमकको मुख्य चोकमा अवरोध सिर्जना गर्न खोजेका थिए।  उहाँ सवार गाडीमा ढुङ्गा प्रहार हुँदा गाडीको सिसा चर्केको छ। 

त्यसप्रति लक्षित गर्दै मुख्यमन्त्री कार्कीले पहिचानको नाममा यस किसिमका कार्यहरू नगर्न अनुरोध गर्नुभयो।  राईलाई राई भाषा नआउने, लिम्बुलाई लिम्बु भाषा नआउने अवस्था रहेको बताउँदै यस्ता विषयमा छलफल गरौँ र मिलेर अघि बढौँ, उहाँले आग्रह गर्नुभयो।  

‘‘लागूऔषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान दमकबाट सुरु भएको र यो प्रदेशभर आवश्यक भएको मुख्यमन्त्रीको भनाइ थियो।  संस्कारयुक्त समाज निर्माण गर्ने कुरामा हामी सधैँ तत्पर रहनुपर्छ र कोशी प्रदेश सरकार यसमा तत्पर छ’’, उहाँले भन्नुभयो।  लागूऔषध प्रयोगकर्तालाई समाजमा पुनर्स्थापित गर्न र यसका लतमा लाग्न नदिनका लागि सबैको सहयोग आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो।