• १२ मंसिर २०८१, बुधबार

डेरा इस्माइल खानको प्रहरी चौकीमा आक्रमण : तीन प्रहरीको मृत्यु, १६ घाइते

blog

इस्लामाबाद, मङ्सिर २६ गते । आतङ्कवादीहरूले डेरा इस्माइल खानस्थित प्रहरी चौकीमा आक्रमण गर्दा तीन जना प्रहरीको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

विस्फोटक पदार्थले भरिएको कार प्रयोग गरी आक्रमण गरिएको एआरवाई न्यूजले मङ्गलबार उल्लेख गरेको छ । प्रहरीका अनुसार आतङ्ककारीहरूले डिआइ खानको दरबन प्रहरी चौकीको मुख्य गेटमा विस्फोटक पदार्थले भरिएको कारबाट आक्रमण गरेका थिए । आक्रमणमा तीन जना प्रहरी हवलदार, रियासत र सिपाही जुल्फिकार मारिएको जनाइएको छ । 

यसैबिच, परिसरमा प्रवेश गर्न खोज्दा प्रहरीले चलाएको गोली लागी दुईजना घाइते भएका छन् । आक्रमणबाट प्रहरी चौकीको छाना खसेको छ ।

घाइतेहरूलाई डीआई खान अस्पतालमा लगिएको प्रहरीले जनाएको छ भने दरबान तहसीललाई पूर्णरूपमा घेराबन्दी गरिएको छ । आक्रमण लगत्तै घटनास्थलमा प्रहरीको ठुलो टोली पुगेको छ । आतङ्कवादी हमलापछि तहसील द्राबनका विद्यालय र कलेजहरूमा निर्धारित परीक्षा स्थगित गरिएका छन् ।

एआरवाई न्युजका अनुसार डेरा इस्माइल खानको प्रहरी चौकीमा हमला भएको यो पहिलो पटक भने होइन । अक्टोबरको सुरुमा, केपीको डेरा इस्माइल खान जिल्लाको एउटा प्रहरी चौकीमा आक्रमण भएको थियो जसमा आतङ्कवादीहरूले हाते ग्रेनेड र रकेटहरू पनि प्रयोग गरेका थिए ।

डेरा इस्माइल खानको हथला प्रहरी चौकीमा भएको आक्रमणमा पनि दुई जना प्रहरी घाइते भएका थिए । रासस/एएनआई