• १५ मंसिर २०८१, शनिबार

चितुवा नियन्त्रण गर्न निकुञ्जको टोली प्युठानमा

blog

चितुवा नियन्त्रण गर्न खोरसहित प्राविधिक टोली । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ
प्युठान, मङ्सिर २६ गते ।
झिमरुक गाउँपालिकामा चितुवाले पशुचौपाया खान थालेपछि स्थानीय त्रसित बनेका छन् । पालिकाका विभिन्न बस्तीमा दिउँसोको समयमा घरमा रहेका पशुचौपायालाई चितुवाले आक्रमण गरेर मार्न थालेपछि स्थानीय त्रसित बनेका हुन् ।

झिमरुक गाउँपालिका–४ स्थित बाङ्गे, टिमिलडाँडा, बौंडा, हरिय, शाझनठुटा, दोर्लाेटेलगायतका गाउँका स्थानीयको हालसम्म १७ वटा बाख्रा र खसीबोका चितुवाले मारेको स्थानीय प्रकाश जिसीले जानकारी दिनुभयो । चितुवाको आक्रमण बढेपछि घरबाट बाहिर निस्कन, मेलापात गर्न बालबालिकालाई स्कुल पढ्न आउजाउ गर्न डर भएको उहाँले बताउनुभयाे । “अहिलेसम्म मानवीय क्षति भएको छैन,” उहाँले भन्नुभयो, “चितुवा नियन्त्रणमा नआएसम्म गाउँमा त्रास छ ।”

चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयले गाउँपालिकालाई जानकारी गराए लगत्तै चितुवा नियन्त्रणको लागि झिमरुक गाउँपालिकाले डिभिजन वन कार्यालय प्युठानलाई पत्राचार गरर नियन्त्रणका लागि टोली खटिएको गाउँपालिकाले जानएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले चितुवा नियन्त्रण गर्न काम सुरु गरेको गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष कार्यालय (बर्दिया संरक्षण कार्यक्रम) बर्दियाबाट डिभिजन वन कार्यालयको समन्वयमा थप क्षति नहोस् भनेर चितुवा नियन्त्रणका लागि टोली प्युठान आएको डिभिजन वन कार्यालय प्युठानका अधिकृत हरि पौडेलले जानकारी दिनुभयो । प्राविधिकसहितको टोलीले आइतबारदेखि नै जङ्गली चितुवालाई ट्रयापिङ गर्ने काम थालेको अधिकृत पौडेलले जानकारी दिनुभयो ।

चितुवा नियन्त्रणका लागि फिरुलाला चौधरी, रामराज चौधरी, करारु चौधरी र भेटेनरी डाक्टर आयुस महर्जनसहित चार जनाको टोली चितुवालाई ट्रयापिङ गर्ने काम थालेको छ । “चितुवा नियन्त्रण गर्न विभिन्न प्राविधिक पक्ष हेर्नुपर्ने हुन्छ,” अधिकृत पौडेलले भन्नुभयो, “अध्ययन गर्न प्राविधिक टोली खटेको छ ।’’ चितुवा तुरुन्तै नियन्त्रणमा आउन सक्छ र समय पनि लाग्न सक्ने उहाँले बताउनुभयो ।