• १२ मंसिर २०८१, बुधबार

‘भूकम्प पीडितलाई चिसोबाट जोगाउन आवश्यक छ’

blog

कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्री कृष्णबहादुर जिसी र राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहीर ठाकुर । तस्विरः नवीन शाही

नवीन शाही

सुर्खेत, मङ्सिर २६ गते । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहीर ठाकुरले जाजरकोट भूकम्प पीडितहरुलाई चिसोबाट जोगाउन आवश्यक रहेको बताउनुभएको छ । भूकम्प प्रभावित क्षेत्रको अवलोकन सकिएपछि सोमबार सुर्खेतस्थित आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले भेट्दै उहाँले चिसोका कारण जनजीवन कष्टकर बनेको बताउनुभयो । 

भूकम्पबाट प्रभावित जाजरेकाट र रुकुमका बासिन्दाहरु अहिले पालमुनि बसिरहेका छन् । अस्पतालहरुमा चिसोका कारण बिरामी हुनेको सङ्ख्या बढ्न थालेको उहाँले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीहरुको समेत जनशक्ति बढाउन प्रदेश सरकारसँग अनुरोध गर्नुभयो । 

"चिसोबाट जोगाउन निकै आवश्यक छ । उहाँहरुलाई कम्तीमा बसोबास गरिरहेको स्थानमा आगो ताप्ने व्यवस्था गरिदिन मात्रै सके जोखिम धेरै कम हुनसक्छ," ठाकुरले मन्त्री जिसीसँग भन्नुभयो, "स्वास्थ्य संस्थाहरुमा पनि जनशक्ति बढाउन आवश्यक देखिएको छ ।" 

आयुक्त ठाकुरले केही पालिकामा अझै राहत वितरणका कामहरु हुन नसकेको औंल्याउनुभयो । उहाँले पारदर्शी बनाउनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अनुसन्धान पनि गर्नुपर्ने सुझाव दिनुभएको छ । उहाँले प्रदेश सरकारलाई पुनर्निर्माणका लागि संयन्त्र गठन गर्न सुझाव दिनुभएको छ । "अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम गरेको रहेछ । तर, प्रदेश सरकारसँग समन्वय कम भएको पाइयो । अबका दिनमा प्रदेशको आफ्नै सयन्त्र गठन हुनसक्यो भने पछिल्ला दिनहरुमा पनि सहज हुने देखिन्छ," उहाँले भन्नुभयो । 

उद्धार कार्यमा खटिएका सुरक्षा निकायका कर्मचारी, जनप्रतिनिधि, स्वयंसेवकलगायतलाई प्रदेश सरकारका तर्फबाट सम्मान गरिनुपर्ने सुझाव दिनुभयो । साथै, मन्त्री जिसीले प्रदेश सरकारका तर्फबाट राहत तथा पुनर्निर्माणका कामहरु निरन्तर भइरहेको जानकारी गराउनुभयो । उहाँले अस्थायी आवास निर्माण गर्ने, मृतक परिवारलाई बीमा रकम वापतको रुपिँया उपलब्ध गराउने । सडक, खानेपानी, स्वास्थ्यचौकी, विद्यालय लगायतका संरचनाको पूर्वाधार निर्माण जस्ता काम भइरहेको बताउनुभयो । 

उहाँका अनुसार बिमा रकम अन्तर्गतप्रति मृतक दुई लाख रुपियाँका दरले एक सय छ जनाका परिवारलाई रकम वितरण गरिएको छ । अन्य व्यक्तिका परिवारलाई रकम वितरण गर्ने कार्य जारी छ ।