• ११ मंसिर २०८१, मङ्गलबार

भारतमा प्रादेशिक निर्वाचनपछिको बहस

blog

भारतको मध्य प्रदेश, राजस्थान, छत्तिसगढ र तेलङ्गानामा हालै सम्‍पन्न प्रादेशिक सभाहरूको निर्वाचनमा प्रधानमन्त्री नरेन्‍द्र मोदीको पार्टी भारतीय जनता पार्टीले सफलता हासिल गरेको छ । यस पार्टीले मध्य प्रदेश जस्ता ठुला राज्यलाई पुनः आफ्नो नियन्त्रणमा राख्‍न सफल भएको छ भने राजस्थान र छत्तिसगढ राज्यमा समेत आफ्नो नेतृत्वको सरकार बनाउने भएको छ । उपरोक्त दुई राज्यमा यसअघि भारतीय राष्ट्रिय कङ्ग्रेसको सरकार थियो । दक्षिणी भारतको राज्य तेलङ्गानामा कङ्ग्रेसले सरकार बनाउन सफलता हासिल गरेको छ तर हिन्दी हर्ट ल्यान्‍ड मानिएको मध्य प्रदेश, राजस्थान र छत्तिसगढमा उसले आफ्नो नियन्त्रण कायम राख्‍न नसक्नुले आउँदो लोक सभा निर्वाचनमा दूरगामी प्रभाव पार्ने छ । 

भारतीय राष्ट्रिय कङ्ग्रेसका नेता राहुल गान्धीले आफूलाई प्रधानमन्त्री पदको उम्‍मेदवारका रूपमा प्रस्‍तुत गर्न चाहेका थिए तर यस निर्वाचन परिणामले उनको महत्वाकाङ्क्षालाई कमजोर बनाउन सक्ने छ । विपक्षी दलहरूको गठबन्धन इन्डिया एलायन्सभित्रबाट अब थप नयाँ अनुहारहरूले पनि प्रधानमन्त्रीका रूपमा आफ्‍नो दाबी गर्ने बाटो खुला भएको छ । यस निर्वाचन परिणामले प्रधानमन्त्री मोदीको उत्साहलाई बढाएको हुनु पर्दछ । सम्पन्‍न प्रादेशिक सभाहरूको निर्वाचनमा भारतीय जनता पार्टीले प्रधानमन्त्री मोदीको अनुहारलाई अघि सारी मत मागिएको थियो । लगातार एक दशकसम्‍म सरकारको नेतृत्व गरेर पनि प्रधानमन्त्री मोदीले आफ्नो लोकप्रियता र जनविश्‍वासलाई कायमै राखेका छन् । 

यद्यपि प्रादेशिक सभाको निर्वाचित परिणामको असर लोक सभाको निर्वाचमा नपर्न पनि पर्न सक्दछ तर जब प्रादेशिक सभाको निर्वाचनमा पनि मोदीकै नाम र अनुहारलाई अघि सारेर भाजपाले सफलता हासिल गरेको छ भने विगतका मिथकहरूलाई तोड्‍दै यस पटकको लोक सभाको निर्वाचनको निम्ति पनि यो निर्वाचन परिणाम उपयोगी साबित हुनसक्‍ने सम्भावनालाई अस्‍वीकार गर्न सकिँदैन । एक किसिमले यस निर्वाचन परिणामलाई लोक सभा निर्वाचनको प्रारम्भिक सङ्केत मान्‍न सकिन्छ । 

मध्य प्रदेशको कुल २३० सिटमध्ये भारतीय जनता पार्टीले १६५ प्राप्त गरेको छ; जब कि कङ्ग्रेसले ६४ सिट मात्रै जित्‍न सक्यो । यस प्रदेशमा लोक सभाको नि‍म्ति २९ सिट छ । गत चुनावमा भाजपाले नै अधिकांश सिट जितेको थियो । भाजपाको निम्ति यस प्रदेशको चुनाव सजिलो थिएन, त्यसैले पार्टीले आधा दर्जनभन्दा सङ्घीय सांसद र केही सङ्घीय मन्त्रीलाई समेत उम्‍मेदवार बनाएको थियो । एकबाहेक सबैले चुनाव जिते । मध्य प्रदेशको चुनावलाई कङ्ग्रेसले आफ्नो प्रतिष्ठाको विषय बनाएको थियो । चुनावअघि गरिएका अनुमान र मतदानपछिको अनुमान पनि कङ्ग्रेसका लागि राम्रो देखाएको थियो तर विगत १५ वर्षदेखि त्यहाँ मुख्यमन्त्रीका रूपमा काम गरेका शिवराजसिंह चौहानका महिलामैत्री जनकल्याणकारी योजना र मोदी सरकारका कार्यव्रmमहरूसमेतबाट प्रत्यक्ष रूपमा लाभान्वित जनताले भाजपालाई जिताए ।

राजस्थानमा प्रत्येक छ वर्षमा सरकार फेरिन्छ । यस पटक पनि त्यहाँका जनताले कङ्ग्रेसका मुख्यमन्त्री अशोक गहलोतको सरकारलाई पराजित गरी भारतीय जनता पार्टीलाई विजयी गराए । यस प्रदेशमा लोक सभाका २५ सिट छन् । सन् २०१९ मा प्रदेशमा कङ्ग्रेसको सरकार हुँदा पनि भाजपाले सबै २५ सिट जितेको थियो । आउँदो चुनावमा पनि पार्टीले कमोवेश यस्तै प्रदर्शनको पुनरावृत्ति गर्ने सम्भावना देखिन्छ । राजस्थानको १९९ सिटमध्ये ११५ मा भाजपा र कङ्ग्रेसले ६९ सिट मात्रै जित्‍न सक्यो । 

छत्तिसगढमा त्यहाँका मुख्यमन्त्री भूपेश बघेलले राम्रो काम गरेका थिए । यस प्रदेशमा कङ्ग्रेसले चुनाव हार्ने र भाजपाले सरकार बनाउने अनुमान कसैले पनि गरेको थिएन तर मतदान हुनुभन्दा केही अघि जसरी प्रादेशिक सरकारका भ्रष्टचारमा केही घटना सार्वजनिक भए, त्यसले मतदातालाई कङ्ग्रेसबाट विमुख गराउने काम गर्‍यो । भाजपाको केन्‍द्रीय नेतृत्वले पनि यस प्रदेशमा चुनाव जित्‍ने अनुमान गरेका थिएनन् । यस प्रदेशको कुल ९० सिटमध्ये भाजपाले ५४ र कङ्ग्रेसले ३५ सिट जिते । छत्तिसगढमा आदिवासीहरूको बाहुल्य रहेको छ । नक्सलवादीहरूको पनि प्रभाव रहेको यस प्रदेशमा सरकारका जनकल्याणकारी योजनाहरू खासगरीकन आदिवासी लक्षित योजनाहरूले नक्सलवादलाई कमजोर बनाएको छ ।

दक्षिण भारतको तेलङ्गानामा भाजपाले सरकार बनाउने सपना यसपालि पनि पूरा भएन तर भाजपाले आफ्नो सङ्ख्यालाई एकबाट आठसम्‍म पुर्‍याउनु ठुलो सफलता हो । पार्टीका प्रायः सबैजसो प्रमुख नेताहरूले चुनावमा सफलता हासिल गरेका छन् । त्यस्तै भाजपाका नेता बेङ्कटरमण रेड्डीले कङ्ग्रेसको तेलङ्गाना प्रदेश अध्यक्ष एवं मुख्यमन्त्रीका उम्‍मेदवार रेवन्त रेड्‍डी र मुख्यमन्त्री एवं बिआरएसका अध्यक्ष केसीआरलाई कोमारेडी विधान सभामा पराजित गरे । 

३७ जना प्रत्यासीलाई पराजित गर्दै विजयी भएका बेङ्कटरमण रेड्‍डीको यस सफलताले राष्ट्रव्यापी चर्चा पाएको छ । यहाँ कङ्ग्रेसले ६४ प्राप्त गरेको छ; जब कि बिआरएसले ३९ सिट जितेको छ । लगातार तेस्रो पटक मुख्यमन्त्री बन्‍ने केसीआरको सपनामाथि तुषारापात भएको छ । हुन त उनले आफूलाई सन् २०२४ मा हुने लोक सभा निर्वाचनमा प्रधानमन्त्रीको उम्‍मेदवार ठानेका थिए । तेलङ्गानामा भाजपाको भोट प्रतिशत बढेर १४ प्रतिशत भएको छ । यो निरन्तर प्रगति हो ।

भारतीय जनता पार्टीको चुनावी सफलताका प्रमुख चार कारणमध्ये पहिलो त यसको पार्टी सङ्गठन बलियो हुनु हो । राष्ट्रिय स्‍वयंसङ्घ जस्तो कठोर, अनुशासित, संयमित, समर्पित र त्यागी लाखौँ कार्यकर्ता र समर्थकको निःस्वार्थ सहयोग, समर्थनले यसलाई चुनावको बेलामा धेरै सहयोग पुर्‍याउने गर्दछ । सङ्घका प्रत्येक कार्यकर्ता आफूलाई उम्‍मेदवारसरह ठानेर नै परिश्रम गरिरहेका हुन्छन् । पार्टी सङ्गठनको जरो निकै गहिरो छ र एउटा चुनाव सकिएलगत्तै अर्को चुनावको तयारी गर्न थाल्दछ । सङ्घको निर्देशन सबैका निम्ति स्‍िवकार्य हुन्छ । अतः पार्टीमा विद्रोह, असन्तुष्टि र विवादको निम्ति ठाउँ नै हुँदैन । उसको दोस्रो शक्ति भनेको सनातन धर्म संस्कृतिप्रतिको गहिरो आस्था हो । 

सन् १९८४ को आमनिर्वाचनमा जतिबेला यस पार्टीको सांसद सङ्ख्या दुई मात्र थियो । त्यतिबेला पनि यसले हरेस खाएन र सन् १९९२ मा जतिबेला यसका तीन वटा प्रादेशिक सरकारहरू (उत्तर प्रदेशमा मुख्यमन्त्री कल्याणसिंह, मध्य प्रदेशमा सुन्दरलाल पटवा र राजस्थानमा भैरोसिंह शेखावतको खारेज गरियो । त्यतिबेला पनि यसले हिन्दुत्वको एजेन्डालाई यसले परित्याग गरेन । भारतका आमजनतालाई यस कुराको विश्‍वास दिलाउन भाजपा सफल भएको छ कि यो पार्टी नै भारतको एक मात्र सच्चा हिन्दुत्व पक्षधर पार्टी हो ।

त्यसै गरी राष्ट्रियता अथवा राष्ट्र स्‍वाभिमानको मुद्दा पनि उसको एउटा प्रमुख राजनीतिक अस्त्र साबित भएको छ । आन्तरिक सुरक्षादेखि लिएर बाह्य सुरक्षाको विषयमा पनि मोदी सरकारको नीति प्रभावकारी साबित भएको छ । मोदी नेतृत्वको करिब एक दशकमा भारतले क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो प्रभावकारी उपस्थिति जनाएको छ । सनातन धर्मभित्र रहेका योगको महìवबारे विश्‍व जगत्लाई अवगत गराउनु २१ जुनलाई विश्‍व योग दिवसका रूपमा संयुक्त राष्ट्रसङ्घद्वारा मान्यता दिलाउन, जी–२० को सम्‍मेलनमा पनि वेदका वाक्यलाई नारा बनाइनु सनातन धर्म संस्‍कृतिको प्रचारप्रसार व्यापक रूपमा गर्नुका साथै सूचना प्रविधि, ज्ञान विज्ञान, कला, अन्तरिक्ष अनुसन्धान, औषधि उत्पादनलगायतका क्षेत्रमा समेत भारतको प्रगति र सहयोगी भूमिकाले यसलाई ठुलो ख्याति प्रदान गरेको छ । यसबाट पनि देशभित्र मोदीलाई लोकप्रिय बनाएको छ ।

भारतीय जनता पार्टीको चौथो तर सर्वाधिक महत्वपूर्ण शक्ति भनेको लोककल्याणकारी योजनाहरूलाई बिनाकुनै माध्यम सोझै जनतासामु पुर्‍याउनु हो । महिला, युवा, किसान र गरिबका लागि सरकारद्वारा चलाइएका योजनाहरू नै मोदीका असली शक्ति हुन् । विगत १० वर्षमा मोदी सरकारले महिलाको सम्‍मानका लागि शौचालय, आवास योजना, किसान निधि सम्मान, बिजुली, खाना पकाउने ग्यास, ह्यान्‍ड पाइप र बैङ्क खाता (जनधन योजना) खोल्नुका साथै आयुष्मान भारत योजनाले प्रत्येक जनतालाई मोदीसित सोझो सम्पर्क कायम गरिदिएको छ । 


   

Author

श्रीमन नारायण