• २७ वैशाख २०८२, शनिबार

संसद् महासचिवमा पाण्डेय सिफारिस

blog

काठमाडौँ, मङ्सिर २६ गते । सङ्घीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय सिफारिस हुनुभएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परामर्शमा पाण्डेयलाई महासचिव नियुक्तिका लागि सिफारिस गरिएको हो । संवैधानिक व्यवस्था अनुसार महासचिवको नियुक्ति राष्ट्रपतिबाट हुने व्यवस्था छ । 

संसद् महासचिव भरतराज गौतमले व्यक्तिगत कारण देखाउँदै मङ्सिर २४ गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार राजीनामा दिनुभएपछि पाण्डेयको नाम सिफारिस गरिएको हो । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले महासचिव नियुक्तिका लागि सिफारिस राष्ट्रपतिलाई भेटेर बुझाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सिफारिस राष्ट्रपतिलाई औपचारिक रूपमा जानकारी दिएका छौँ । उहाँले एक दुई दिनमै संसद् दिवसअघि नै नियुक्त गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ ।”

महासचिव गौतमले आठ महिना कार्यकाल बाँकी रहँदै राजीनामा दिनुभएको हो । २०७७ वैशाख २२ मा महासचिव नियुक्त हुनुभएका गौतम ५८ वर्षे उमेर हदका कारण भदौमा अवकाश पाउँदै हुनुहुन्थ्यो । महासचिवमा सिफारिस पाण्डेय २०८० वैशाख २१ गते प्रतिनिधि सभाको सचिवमा नियुक्त हुनुभएको थियो । सरकारी वकिल समूहको विशिष्ट श्रेणीमा कार्यरत रहेकै बेला पाण्डेय सचिव नियुक्त हुनुभएको थियो ।