• २१ वैशाख २०८१, शुक्रबार

स्रोत शिक्षक पठाउँदै महानगरपालिका

blog

काठमाडौँ, मङ्सिर २६ गते ।  सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि तथा गुणस्तर उकास्न काठमाडौँ महानगरपालिकाले स्रोत शिक्षक परिचालन गर्ने भएको छ । महानगरभित्रका सामुदायिक विद्यालयमा स्थायी रूपमा कार्यरत शिक्षकलाई खुला प्रतिस्पर्धाबाट छानेर स्रोत शिक्षकका रूपमा विद्यालयमा पठाउन लागेको हो । जसका लागि महानगरले ११ जना स्रोत शिक्षक छनोट गरिसकेको छ । 

स्रोत शिक्षकका लागि गणित विषयका लागि तीन जना तथा नेपाली, अङ्ग्रेजी, विज्ञान र सामाजिक विषयका लागि दुई दुई जना छनोट भएको महानगरपालिकाको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले बताउनुभयो । हाल महानगरपालिकाभित्र ११ स्रोत केन्द्र छन् । हरेक केन्द्रमा एक जनाको दरले स्रोत शिक्षक पठाइने छ । 

ती शिक्षक विषयगत रूपमा छनोट गरिए पनि आफ्नो क्षेत्र अन्तर्गतका विद्यालयको समग्र शैक्षिक अवस्था मूल्याङ्कन गरी सुधारका लागि भूमिका निर्वाह गर्नुपर्ने छ । महानगरभित्र ८९ वटा सामुदायिक विद्यालय छन् ।

स्रोत शिक्षकलाई विद्यालयमा शिक्षण सिकाइका लागि शिक्षकलाई प्राविधिक सहयोग र क्षमता अभिवृद्धि गर्न सहजकर्ताको भूमिका निर्वाह गर्ने, नगर शिक्षा योजना, विद्यालय सुधार योजना र सामाजिक परीक्षण कार्यमा सव्रिmय रहने जिम्मेवारी स्रोत शिक्षक व्यवस्थापन कार्यविधि–२०८० मा तोकिएको छ । त्यस्तै यस्ता शिक्षक आफ्नो क्षेत्र अन्तर्गतको हरेक विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घको बैठकमा वर्षमा कम्तीमा दुई पटक उपस्थित भएर पर्यवेक्षकका रूपमा सल्लाह तथा सुझाव दिने, विद्यालयको स्तरीकरण, विद्यार्थीका नतिजा तथा सिकाइ उपलब्धिको विश्लेषण गर्नेलगायतका जिम्मेवारी पनि तोकिएको छ । 

स्रोत शिक्षकले हरेक महिना कम्तीमा १० वटा विद्यालयको सुपरिवेक्षण गरी शिक्षा अधिकारीसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने छ । स्रोत शिक्षकले साबिक कार्यरत शिक्षक पदमा खाइपाइ आएको तलब र भत्ता पाउने छन् । अतिरिक्त सुविधा दिने विषयमा हाल कुनै निर्णय नभएको महानगरपालिकाले जनाएको छ । यस विषयमा कार्यविधिले पनि केही उल्लेख गरेको छैन । 

स्रोत शिक्षकका लागि छनोट भएका शिक्षकसँग एक वर्षको सम्झौता हुने छ । हरेक वर्ष सम्झौता नवीकरण हुने छ भने अधिकतम पाँच वर्ष उनीहरू स्रोत शिक्षकका रूपमा रहन पाउने छन् । पाँच वर्षपछि भने स्रोत शिक्षक पुरानै दरबन्दीमा फर्कने छन् । 

छानिएका शिक्षक स्रोत केन्द्रमा गएपछि उनले पढाइरहेको विद्यालयमा काठमाडौँ महानगरपालिकाले शिक्षक सेवा आयोग परीक्षामा अनुत्तीर्ण भएका तर मेरिट लिस्टमा रहेका शिक्षकलाई अस्थायी रूपमा पठाउने छ । तर त्यस्ता शिक्षक नआउँदासम्म भने स्रोत शिक्षकका रूपमा छानिएकालाई नै पढाउने व्यवस्था गरिने कामपाका शिक्षा अधिकारी कोइरालाले बताउनुभयो । 

  

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।