• १२ साउन २०८१, शनिबार

ग्यासको मूल्यमा मनपरी, मूल्य वृद्धिले विद्यार्थी मारमा

blog

कालीकोट समाचारदाता

कालीकोट, मङ्सिर २५ गते । कालीकोट सदरमुकाम मान्ममा खाना पकाउने ग्यासको मूल्य वृद्धि हुँदा खरिदबिक्रीमा मनपरी देखिएको छ । त्यसले गर्दा विद्यार्थी मारमा परेका छन् । कक्षा ११ पढ्ने र एसइईको तयारी कक्षा पढ्न आएका विद्यार्थी सबैभन्दा बढी मारेमा परेका छन् ।

सदरमुकाम मान्ममा प्रतिसिलिन्डरको मूल्य दुई हजार दुई सय छ भने सदरमुकाम मान्म आसपास दुई हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्म पर्ने गरेको छ । 

सदरमुकाम मान्मदेखि १९ किलोमिटर टाढा खाँडाचक्र नगरपालिका–७, पिली बजारमा प्रतिसिलिन्डर मूल्य दुई हजार पाँच सय पर्ने गरेको छ । रास्कोट नगरपालिका–२ का होटल व्यवसायी देवनाथ योगीले दसैँअगाडि दुई हजार छ सय तिर्दै आए पनि अहिले दुई हजार पाँच सय तिर्ने गरेको बताउनुभयो । 

एक सय कम भएपछि ग्यास धेरै खपत हुन थाले पनि अहिले डिलरबाहेकका खुद्रा ग्यास व्यापारीले पुरानै मूल्यमा किनबेच गरिरहेको पाइएको छ । 

सदरमुकाम मान्ममा सस्तोमा पाउने ग्यास महँगो हुँदा गाउँमा झन् मूल्यवृद्धि भएको छ । पलाँता गाउँपालिका निर्वमान अध्यक्ष लक्ष्मणबहादुर बमले गाउँपालिका केन्द्र रहेको थिर्पुमा ग्यासको मूल्य दुई हजार आठ सय रहेको बताउनुभयो । कर्णाली कोरिडोरसँग जोडिएको क्षेत्रमा त यति धेरै मूल्य पर्छ भने माथि वडा नं. १, २ तिर अझै महँगो हुुने अनुमान अध्यक्ष बमले गर्नुभयो । उही ग्यासको मूल्य सुर्खेत, नेपालगन्जमा एक हजार ७९० पर्छ भने कालीकोट सदरमुकाम मान्म आइपुग्दा ५१० ले वृद्धि हुन्छ । 

गाउँमा पुग्दा त एक हजार सात सय वृद्धि भएर तीन हजार पाँच सय पर्दा सुर्खेत र कालीकोटका गाउँमा मूल्य दोब्बरले वृद्धि भएको देखिन्छ ।