• १२ साउन २०८१, शनिबार

छोराले गरे आमालाई घरनिकाला, श्रीमानको काजकिरियासमेत घरबाहिर नै गर्न बाध्य

blog

छोरा लोकबहादुर खत्रीले घरनिकाला गरेपछि आमा पवि खत्री बाहिर नै श्रीमानको काजकिरिया गर्नुहुँदै । तस्बिर: रमेश

रमेश विश्वकर्मा

गुल्मी, मङ्सिर २४ गते । गुल्मीको मदाने गाउँपालिका– ६, पुर्कोटदह साउने पानीमा छोराहरूले आमालाई घरनिकाला गरेका छन् । यसैबिच बुवाको मृत्यु भएपछि आमाले श्रीमानको काज किरियासमेत गर्न नपाएपछि घर वाहिर नै काजकिरिया गर्नुभएको छ । 

८४ वर्षीया पवि खत्री क्षेत्रीलाई छोराहरूले मगर समुदायको भन्दै घरनिकाला गरेपछि उहाँले सोही गाउँको एक बहुउद्देश्यीय कृषि सहकारी संस्थाको भवनमा बसेर श्रीमानको काजकिरिया गर्नुभएको थियो । 

विसं.२०२८ सालमा तुलबहादुर खत्रीसँग विवाह गरी घरजम गर्नुभएकी उहाँले मङ्सिर १० गते श्रीमानको मृत्यु भएपछि काजकिरिया गर्न नदिई मगर समुदायको भन्दै छोराहरूले घरनिकाला गरेको वडाध्यक्ष मनीराम थापाले बताउनुभयो । तुलबहादुरले पवि खत्री क्षेत्रीसहित तीन वटी श्रीमती विवाह गर्नुभएको थियो । तर पवि मगर समुदायको भन्दै छोराहरूले घर निकाला गरेको थियो । 

श्रीमानको मृत्युपछि उहाँलाई घरभित्रै आफ्नो श्रीमानको काज किरिया गर्न नदिएपछि आमाले घरमै काजकिरिया गर्न पाउनुपर्छ भन्ने मागसहित छोरी नन्दाकुमारीसहितले गाउँपालिकाको न्यायिक समितिमा निवेदन दिनुभएको थियो । न्यायिक समितिले पविको पक्षमा निर्णय गर्दै हिन्दु परम्परा अनुसार काजकिरिया गर्न पाउनुपर्ने निर्णय गरेको थियो । तर छोराहरूले भने सो निर्णयलाई स्वीकार नगरी अमानवीय व्यवहार गरेको भन्दै तत्काल कारबाही गर्न माग स्थानीयले गरेका छन् । 

पविको तुलबहादुरसँग विवाहपछि एक छोरी नन्दाकुमारी छन् । तर छोरा लोकबहादुर खत्रीले आमा पवि खत्री क्षेत्रीलाई घरनिकाला गरेको र काजकिरिया गर्नसमेत दिएनन् । स्थानीय महिला समूहको सहयोगमा उहाँले सहकारीको भवनमा बसेर श्रीमानको  काजकिरिया गर्नुभएको छ । 

वडाध्यक्ष मनीराम थापासहित महिला नेत्री विष्णु कुँवरले छोरा लोकबहादुरले आमा र बहिनीमाथि अमानवीय व्यवहार गरी अन्याय गरेको बताउनुभयो । मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले भने नागरिकतासमेत श्रीमानबाटै बनाएका कारण कानुनी रूपमा आधार भएको र छोराले गरेको व्यवहार गलत भएकाे बताउनुभयो । आमा छोरीलाई अन्याय भएको बताउनुहुँदै उहाँले कानुनी कारबाहीका लागि सहयोग गर्ने बताउनुभयो ।