• १२ साउन २०८१, शनिबार

मालाको भारी बोकाउने आन्दोलनका सत्र वर्ष

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मागका बुँदा अनुसारको फूलमाला पहिर्‍याइँदै ।

भवानी ऐर

गोदावरी (कैलाली), मङ्सिर २५ गते । सरकार प्रमुख, नेतृत्वकर्ता तथा नेतालाई आफ्ना माग अनुसार फूलमालाको भारी बोकाउने सुदूरपश्चिमेली जनताको आन्दोलनले १७ वर्ष पार गरेको छ । कैलाली उद्योग वाणिज्य सङ्घले जनताका माग सुनुवाइका लागि २०६३ सालबाट यस्तो आन्दोलन सुरु गरेको हो । माग राख्ने नाममा सडक आन्दोलन, तोडफोड र नाराबाजीको विकल्पका रूपमा  बृहत् महोत्सवको आयोजना गरी सोही कार्यक्रमका प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएका उच्चपदस्थ व्यक्ति तथा सरकार प्रमुखलाई ठुलो माला लगाइदिने गरिएको छ । 

जनताका माग सुनुवाइका लागि गर्धन र शरीरभन्दा गह्रौँ माला लगाइदिने चलन निरन्तर चल्दै आएको छ । यो आन्दोलन सभ्य र शालीन मात्रै नभई प्रभावकारी भएको उद्योग वाणिज्य सङ्घले जनाएको छ । सुदूरपश्चिम महोत्सवको माध्यमबाट सुदूरपश्चिमको समग्र विकासका लागि २०६३ सालमा २१ बुँदे माग राख्दै साङ्केतिक माला बोकाउने आन्दोलन सुरु भएको थियो । यो वर्ष पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आमन्त्रण गरी मालामार्फत जनताका माग सुनाइएको छ । 

प्रधानमन्त्री प्रचण्डले यसअघि पनि सुदूरपश्चिमेली जनताले लगाइदिएको गह्रौँ माला भिरिसक्नुभएको छ । दोस्रो पटक पनि उहाँलाई उक्त माला लगाइएको हो । त्यसअघि पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र बाबुराम भट्टराई, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, नेकपा (एमाले) नेता भीम रावल, सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टलगायतलाई गह्रौँ माला पहि¥याइसकिएको छ । सुन्दर तथा सम्पन्न सुदूरपश्चिम निर्माणका लागि महोत्सवको पहिलो संस्करणमा २१ बुँदे माग राख्दै तत्कालीन प्रधानमन्त्री देउवालाई २१ किलोग्रामको माला बोकाइएको थियो । उक्त मागमध्ये सेती प्रादेशिक अस्पतालमा आइसियु स्थापना, क्षेत्रीय खेलकुद रङ्गशाला निर्माण, विश्वविद्यालय स्थापना, अप्टिकल फाइबर विस्तार र दुग्ध प्रशोधन केन्द्रको स्थापना गरेर पाँच वटा मागको सुनुवाइ भइसकेको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, प्रदेश सभा सम्मेलन गृह, दोधारा–चाँदनी सुक्खा बन्दरगाह, प्रदेशस्तरीय पर्यटन केन्द्र निर्माण, गेटा विमानस्थल धावनमार्ग कालोपत्रे तथा अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गरिनुपर्ने र सेती प्रादेशिक अस्पताललाई सुविधासम्पन्न बनाउने बुँदा आंशिक रूपमा सुनुवाइ भएको वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले बताउनुभयो । 

उहाँले यस पटक प्रधानमन्त्री प्रचण्डलाई १० किलोको माला लगाउँदै १० बुँदे माग पेस गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार गौरीफन्टा नाकाको स्तरोन्नति, दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान, खप्तड, शुक्लाफाँटा, घोडाघोडी जस्ता पर्यटकीय क्षेत्रको प्रवर्धन, औद्योगिक क्षेत्र र विशेष औद्योगिक प्याकेज कार्यक्रम राखिएका छन् । त्यस्तै जडीबुटी प्रसोधन केन्द्र, शीत गृह, चिनी मिल, सेती हाइड्रोपावर, गेटा विमानस्थललाई वैकल्पिक अन्तर्राष्ट्रिय मार्ग, सबै जिल्लामा पक्की सडक, सूचना प्रविधि, ब्रह्मदेव सडक, चिसापानीदेखि गड्डाचौकीसम्मका स्थानीय राजमार्गका बजारको जग्गा दर्ता, प्रदर्शनी स्थल, नेपाल टेलिभिजनको प्रसारण केन्द्र र सुदूरपश्चिम सांस्कृतिक सङ्ग्रहालयलगायत दसबुँदे माग प्रधानमन्त्री प्रचण्डसँग राखिएका छन् ।