• १५ असार २०८१, शनिबार

अन्द्राणीमा झलमल्ल बिजुली

blog

मार्तडी समाचारदाता

मार्तडी, मङ्सिर २५ गते । बाजुराको गौमूल गाउँपालिकाको दुर्गम गाउँ अन्द्राणीमा पहिलो पटक बिजुली बलेको छ । दुर्गम गाउँमा उज्यालो अभियान अन्तर्गत कादुरी एग्रिकल्चरल एन्ड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालले दुई वटा वडामा बिजुली पुर्‍याएको हो । 

गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाका अनुसार कादुरी नामक संस्थाको आर्थिक सहयोग तथा गाउँपालिकाको सहजीकरणमा लामो समयपछि बिजुली बाल्न सफलता मिलेको हो । अन्द्राणी लघु जलविद्युत् आयोजनाबाट एक सय किलोवाट क्षमताको विद्युत् उत्पादन गरेर वडा नम्बर १ र २ का गाउँबस्तीमा बाँडिएको छ । सल्लाको झरो र टुक्कीको प्रयोग गर्दै आएका यी दुर्गम गाउँका बस्तीमा विद्युत् सेवा उपलब्ध भएपछि स्थानीय निकै उत्साही भएका छन् । अँध्यारोमा रात बिताउँदै आएका नागरिकलाई उज्यालोको पहुँचमा पुर्‍याउने उद्देश्यसहित करिब नौ करोड रुपियाँको लागतमा विद्युत् निर्माण भएको अध्यक्ष रोकायाले जानकारी दिएको छ । अन्द्राणी लघु जलविद्युत्बाट वडा नम्बर १ को माडी, भित्रीखोला, अम्लिस, अन्द्राणी र वडा नम्बर २ को पौदाली, मल्लोगुगुन, अजेटोट्की गाउँका ४८८ घरपरिवार लाभान्वित भएका छन् ।