• ११ मंसिर २०८१, मङ्गलबार

‘महाजात्रा’ छायाङ्कनमा घिमिरे

blog

काठमाडौँ, मङ्सिर २५ गते  । घाँस काट्ने क्रममा भिरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे डेढ महिनापछि चलचित्रको छायाङ्कनमा फर्किनुभएको छ । बुढानीलकण्ठमा चलचित्र ‘महाजात्रा’ छायाङ्कनसँगै उहाँ काममा फर्किनुभएको हो । 

‘जात्रा’ शृङ्खलादेखि नै चलचित्रमा उहाँ अभिनेत्री वर्षा राउतको पिताको भूमिकामा देखिनुभएको थियो । छायाङ्कनमा फर्किन पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । “केही समयको विश्रामपछि चिकित्सकको सल्लाह अनुसार नै आराम र काम गरिरहेको छु,” अभिनेता घिमिरेले भन्नुभयो । फिल्मका निर्माता म्याक्स दिपेश खत्रीले अभिनेता घिमिरेलाई छायाङ्कनस्थलमा देख्दा सबैको मुहारमा खुसी देखिएको बताउनुभयो । “उहाँ स्वास्थ्य लाभ गरेर फर्किनुहुन्छ भन्नेमा हामी विश्वस्त थियौँ । त्यसैले उहाँको दृश्य बाँकी राखेर अन्य छायाङ्कन ग¥यौँ । उहाँलाई नित्य काममा देख्न पाउँदा खुसी लागेको छ,” निर्माता खत्रीले भन्नुभयो । उहाँले अभिनेता घिमिरेको सम्पूर्ण दृश्यको छायाङ्कन सकेर पठाउने बताउनुभयो । अभिनेता घिमिरेसँगै अभिनेता हरिवंश आचार्यले पनि छायाङ्कन गरिरहनुभएको छ । षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँसँगै तराईका भूभागमा समेत गरिने छ । 

लेखक तथा निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भइरहेको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुन जङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेवलगायतको अभिनय रहेको छ । जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरिएको चलचित्र छायाङ्कन नहुँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने छ ।