• २७ वैशाख २०८२, शनिबार

उडानमा लापरबाहीले नियमनमै प्रश्न

blog

काठमाडौँ, मङ्सिर २५ गते । पछिल्लो समय आन्तरिक उडानका वायु सेवा कम्पनीमा लापरबाही बढ्न थालेको छ । उडानका क्रममा कहिले जहाजको इन्डिकेटरमा समस्या, कहिले आकाशमै जहाजको ढोका खुल्ने, कहिले ढोकै नखुल्ने समस्या, कहिले जहाजको ब्याट्री डाउन भएर जहाज स्टार्ट नै नहुने त कहिले जहाजको ल्यान्डिङ गेयरमा आउने समस्यालगायतका लापरबाहीबिच आइतबार पुनः यस्तै घटना दोहोरिएको छ । 

काठमाडौँबाट लुक्ला उडेको तारा एयरको कार्गो जहाजको आपत्कालीन ढोकाको सिसा बाटोमै खसेपछि आन्तरिक उडानमा नियामक निकायले गर्ने जाँच, निरीक्षणलगायतको नियमनमा प्रश्न उठेको छ । पटक पटक जहाजको आवश्यक जाँचमा कमजोरी भेटिँदै आए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले संलग्न जहाज, चालक दल वा प्राविधिकलाई केही समय मात्रै कारबाही गर्दा हवाई सुरक्षा चुनौती बढ्दै गएको छ । वायु सेवाको उडानमा हुने सामान्य कमजोरी ठुलो दुर्घटनाको कारक बन्न सक्ने भए पनि उडानमा चालक दलदेखि वायु सेवा कम्पनीसम्मले गर्ने लापरबाहीको घटनामा भने कमी आउन सकेको छैन ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आइतबार बिहान काठमाडौँबाट लुक्ला जाँदै गर्दा तारा एयरको जहाजको आपत्कालीन ढोकाको सिसा बाटोमै खसेको विषय हवाई कम्पनीको लापरबाही भएको बताउनुभयो । 

यस्ता घटना दोहोरिन नदिन उक्त उडानमा संलग्न सबैलाई ग्राउन्डेड गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “तारा एयरको ९ एनएएलओ कलसाइन जहाज बिहान ९ः३० मा काठमाडौँबाट एक हजार १२६ केजी सामान लिएर लुक्ला उडेको थियो । चालक दलसहित दुई जना यात्रु रहेको उक्त उडानका क्रममा जहाजको आपत्कालीन ढोकाको सिसा खसेको थाहा भएपछि जहाजलाई लुक्लामै ग्राउन्डेड गरिएको छ । उडानमा संलग्नलाई ग्राउन्डेड गरी कारबाही अगाडि बढाइएको छ ।”

जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा इमर्जेन्सी ढोकामा सिसा नरहेको पाइएको र काठमाडौँबाट उड्ने क्रममा आपत्कालीन ढोकाको सिसा ठिकठाक रहे नरहेको बारे अनुसन्धानबाट खुल्ने उहाँले बताउनुभयो । हवाई सुरक्षामा गरेको कमजोरीकै कारण अन्तर्राष्ट्रिय हवाई नियामक निकायले नेपालको हवाई सुरक्षामा प्रश्न उठाइरहेका बेला पटक पटक हुने यस्ता कमजोरीले वायु सेवाको छविदेखि यात्रु सेवा र उडान सुनिश्चिततासम्ममा असर पर्दै आएको छ ।