• १२ साउन २०८१, शनिबार

लैङ्गिक हिंसाविरुद्धको अभियान सम्पन्न

blog

लैङ्गिक हिंसाविरुद्धको अभियान समापन कार्यक्रमको दीप प्रज्ज्वलन गरी उद्घाटन गरिँदै। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर २४ गते। ताप्लेजुङमा लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान आइतबार सम्पन्न गरिएको छ। सदरमुकाम फुङ्लिङमा लैङ्गिक हिंसाबिरुद्ध सचेतनामुलक वक्तृत्वकला, नाटकलगायत विविध कार्यक्रम आयोजना गरी अभियान सम्पन्न गरिएको हो। 

अभियानको अन्तिम दिन आइतबार अन्तरक्रिया, वक्तृत्वकला, नाटकजस्ता कार्यक्रमको प्रस्तुतिसहित कार्यक्रम समापन गरिएको अभियान मनाउन गठित समिति संयोजक एवम् फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझाले जानकारी दिनुभयो। नगर उपप्रमुख ओझाका अनुसार पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईको प्रमुख आतिथ्यतामा अभियान समापन गरिएको हो ।

समापन कार्यक्रममा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत भएका गतिविधिहरु उपलब्धीमुलक रहेको समीक्षा गरिएको छ। लैङ्गिक हिंसाका घटनाले समाज र समुदायमा नकारात्मक प्रभाव पारिरहेकाले त्यस्ता घटना न्युनीकरण गर्नका लागि अभियानले सहयोग पुग्ने विश्वास गरिएको पनि नगरउपप्रमुख ओझाले बताउनुभयो। उहाँले जिल्लामा लैङ्गिक हिंसाबाट महिला र पुरुष दुवै पीडित हुँदै आएको अवस्था रहेको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामालगायतको उपस्थिति रहेको थियो। लैङ्गिक हिंसाविरुद्धको अभियान मङ्सिर ९ गते सदरमुकाम नजिक रहेको सूर्योदयको दृश्य दृश्यावलोकन गर्ने गन्तव्य झुल्के डाँडामा एक कार्यक्रम गरी प्रारम्भ गरिएको थियो।